जापानको जागिर छोडेर १ करोड लगानीमा भैंसीपालन

जापानको जागिर छोडेर १ करोड लगानीमा भैंसीपालन

म्याग्दी  । जापान ! हजारौं नेपाली युवाहरुको सपनाको देश । लाखौं खर्च गरेर रोजगारीका लागि जापान जान मरिहत्ते गर्ने नेपाली युवाहरुको भिडमा यहाँका एकजना युवाले जापानको गतिलो नोकरी छोडेर म्याग्दीको बेनी नगरपालिका– १ रत्नेचौरमा रू. १ करोड बढीको लगानीमा पशुपालन गर्न शुरु गरेका छन्  ।

छिमेकी जिल्ला बागलुङका सुनिल श्रेष्ठले वैदेशिक रोजगारिलाई बिट मार्दै रत्नेचौरमा जग्गा भाडामा लिएर पशुपालन फार्म सञ्चालनमा ल्याएका हुन् । व्यवस्थित रुपमा निर्माण गरिएको गोठमा मुर्राजातका १६ ओटा दुहुना भैंसी र जर्सी जातका ७ ओटा गाई रहेका छन् । 

रोजगारीको शिलशिलामा दुई वर्ष जापानमा विताएका श्रेष्ठले भिसाको म्याद हुँदाहुँदै पनि स्वदेश फर्किएर पशुपालनमा लागेको बताए ।

धौलागिरि पशु तथा कृषि फार्म दर्ता गरेर पशुपालन शुरु गरेका उनले अहिले रू. १ करोड २५ लाख लगानी गरेर भौतिक पूर्वाधार निर्माण गरेका छन् । आगमी दिनमा लगानी बढाएर रू. ४ करोडसम्म पुर्‍याउने र धौलागिरिमै नमूना कृषि फार्म बनाउने योजना रहेको उनले बताए । 

‘विदेशमा गर्ने श्रम र दु : ख स्वदेशमै गर्नसके राम्रो आम्दानी गर्न सकिन्छ भन्ने अठोट बोकेर फर्किएको थिए, कृषिमा राम्रो संभावना मैले जापान पुगेर देखें, गाई फार्ममा काम गरेर धेरै सीप र अनुभव सिकेर स्वदेश फर्किएको हुँ’, उनले भने ।

कृषिमा लगानी गर्न सकेमा राम्रो पैसा कमाउन सकिन्छ भन्ने सोचले पशुपालन शुरु गरेको उनले बताए । जापानमा गाई फार्ममा काम गरेको अनुभव सँगालेका श्रेष्ठले त्यहाँ सिकेको सीप र अनुभवलाई नेपालमै उपयोग गर्ने बाटोमा अघि बढेको जानकारी दिए ।

वार्षिक रू. ३ लाख भाडा बुझाउने गरी १२ वर्षका लागि ३५ रोपनी जग्गा भाडामा लिएर फार्मको संरचना निर्माण गर्दै गरेको उनको भनाइ छ । गत पुस १७ गतेबाट फार्म सञ्चालनमा ल्याएका श्रेष्ठले यहाँ रू. ४ करोडसम्म लगानी गर्ने योजना बनाएको उनले बताए ।

२०० ओटा उन्नतजातका भैंसी पाल्ने र धौलागिरिका तिन जिल्लाका सदरमुकामसम्म दूध पुर्‍याउने उनको योजना छ ।अहिले गाई  र भैंसीले ११० लिटर दूध दिने गरेको र दूधलाई बागलुङ बजारमै खपत गर्ने गरिएको छ ।फार्ममा भैंसी र गाईको हेरचाह र दानापानी खुवाउन तिनजना कामदार कार्यरत छन् ।

बागलुङबजारमा व्यापार व्यवसाय गरेका एक युवा रत्नेचौरमा आएर नमूना कृषि फार्म सञ्चालन गर्नु उदाहरणीय कार्य भएको वडा अध्यक्ष टेकबहादुर रावलले बताए । उनकै देखासिकी गरेर अहिले रत्नेचौरका युवाहरु पनि कृषि र पशुपालनतर्फ आकर्षित भएका छन् ।

प्रतिक्रिया दिनुहोस