दाेस्राे चरण निर्वाचनको तयारीले तिव्रता पायो

0

पाल्पा, वैशाख १२
स्थानीय तहको निर्वाचन मिति नजिकिएसँगै निर्वाचनका गतिविधिले तिव्रता पाएको छ । जिल्ला निर्वाचन कार्यालयले सरोकारवालाहरुसँग अन्तरक्रिया आयोजना गरेको छ । जिल्ला सुरक्षा समितिले निर्वाचन योजना बनाईरहँदा मुख्य निर्वाचन अधिकृतले कर्मचारी खटाउने, मतपत्र रुजु गर्ने र आचारसंहिता पालनालाई कडाई गर्दै गएको छ ।
बिहिबार तानसेनमा जिल्ला निर्वाचन कार्यालयले सम्बन्धित सरोकारवालाहरु बीच अन्तरक्रिया कार्यक्रम तानसेनमा सम्पन्न गरेको छ । कार्यक्रममा मतदान गर्ने तरिका, राजनीतिक दलहरुको चुनाव चिन्ह, स्वतन्त्र उम्मेद्वारहरुको निर्वाचन चिन्ह, सही तरिकाबाट मतदान गर्ने तरिका, मतदाताले मतदान गर्दा बिग्रने अवस्था, मतदाताले प्रमुखदेखि वडा सदस्य सम्मलाई मतदान गर्ने सही तरिका, मतपत्र पट्याउने र राख्ने तरिका बारेमा छलफल गरिएको थियो ।
कार्यक्रममा बोल्दै प्रमुख निर्वाचन अधिकारी धर्मा अर्यालले जिल्लामा २ सय ६ जना निर्वाचन शिक्षा कार्यकर्ताले निर्वाचन शिक्षा प्रदान गर्न जेठ ५ गतेदेखी गाउँगाउँमा पुगेको बताईन् । उनी भन्छिन्, ‘जिल्लामा ११ दल दर्ता भएता पनि ८ दललेमात्र चुनाव चिन्ह प्राप्त गरेका छन् जिल्लामा दर्ता भएका जनसमाजवादी पार्टी, नेपाल पूर्वराष्ट्रसेवक लोकतान्त्रिक पार्टी, नेकपा माक्र्सवादीले चुनाव चिन्ह संसदमा प्रतिनिधित्व नभएका कारण चुनाव चिन्ह पाएका छैनन् ।’
सुरक्षा बैठक
जिल्ला सुरक्षा समितिले पाल्पा जिल्लामा निर्वाचन सम्बन्धी सुरक्षा योजनाका सम्बन्धमा बिहिबार नै जिल्लाका पत्रकारहरुसँग छलफल गरेको छ । कार्यक्रममा जिल्ला सुरक्षा समितिका संयोजक बाबुराम गौतमले निष्पक्ष र शान्तिपूर्ण रुपमा जिल्लाको निर्वाचन सम्पन्न हुने बताए । प्रमुख जिल्ला अधिकारी गौतमले जिल्लामा शान्तिसुरक्षा व्यवस्था गर्न कुनै कसुर बाँकी नराख्ने बताए । उनी भन्छिन्, ‘पाल्पामा निर्वाचन सुरु हुनु अगाडी, मतदानको समय र मतदान सकिएपछिको सुरक्षा योजना बनाईएको छ । मतदान प्रक्रियामा शान्ति सुरक्षालाई विशेष रुपमा व्यवस्थित गरेका छौं ।’
प्रहरी नायव उपरीक्षक हरिराज वाग्लेले सुरक्षा संवेदनशीलताका आधारमा जिल्लाको सुरक्षा योजना बनाईएको बताए । उनी भन्छन्, ‘जिल्लाका मतदातालाई ठुक्कसँग मतदान प्रक्रियामा भाग लिनको लागि आग्रह गर्दछौं । सम्पूर्ण मतदान केन्द्रहरुको निरिक्षण गरि कार्ययोजना बनाएका छौं ।’ जिल्लाको सुरक्षा बैठकले नेपाल प्रहरी, शसस्त्र प्रहरी, नेपाली सेना र राष्ट्रिय अनुसन्धानका जिम्मेवारी तय गरिएको छ । कार्यक्रममा जिल्लाका पत्रकारहरुले आचारसंहिताको पूर्ण पालनामा ध्यान दिन सुझाव व्यक्त गरेका थिए ।
मुख्य निर्वाचन अधिकृत सक्रिय
आगामी जेठ ३१ गते हुन गैरहेको स्थानीय तहको दोस्रो चरणको निर्वा मुख्य निर्वाचन अधिकृतको कार्यालय सक्रिय भएको छ । कार्यालयले अहिले जिल्लामा मतपत्र रुजु गर्ने काम गरिरहेको छ ।
मुख्य निर्वाचन अधिकृत भरतमणी खनालले मतदाताको स्वतन्त्र मतदानको अधिकारलाई प्रयोग गराउन आफुहरु क्रियाशिल रहेको बताए । ‘मतपत्रको रुजु गर्ने, कर्मचारी नियुक्ति तथा खटाउने, मतदान अधिकृतको तालिम तथा मतदाता शिक्षाका कामहरु अगाडी बढाइएको छ,’–खनालले भने ।
जिल्लामा मतदानको लागि १ हजार २ सय ६६ कर्मचारी खटाईएको खनालले बताए । उनी भन्छन्, जिल्लामा आचारसंहिताको पालना गर्न सम्पूर्ण सरोकारवालाहरुलाई आग्रह गर्दै मतदान अधिकृत र सहायकलाई प्रशिक्षण दिने तयारी गरिएको छ । जिल्लामा १५ गतेदेखी निर्वाचन अधिकृतको कार्यालय स्थानीय तहमा खोल्ने तयारीमा छौं ।