व्यवसायिक एवोकाडोको खेती सुरु गर्दै वगनाशकाली

पाल्पा, मंसिर ४
तरकारी र फलफूलहरुको व्यवसायिक रुपमा खेती गर्दै आएका बगनासकालि गाउँपालिकाका कृषकहरुले एवोकाडो (ध्यू) फलको व्यावसायिक खेती गर्न थालेका छन् । एबोकाडोबाट राम्रो आम्दानी हुने भएपछि गाउँपालिकाका कृषकहरुले जिल्लामै पहिलो पटक यसको व्यवसायिक रुपमा खेती गर्न थालेका हुन् ।
गाउँपालिकाको ५२ हजार अनुदानमा वडा–३, का व्यवसायिक कृषक बसन्तबहादुर कुंवरले धनकुटाबाट बीउ ल्याएका छन् । उक्त वीउ गाउँपालिकाका अध्यक्ष कृष्णप्रसाद बस्याल र वडा नम्वर ३ का वडा अध्यक्ष टीका थापाले संयुक्त रुपमा कृषक कंवरलाई हस्तान्तरण गरेका हुन् । कृषक कंवरले एक लाख रुपैयाँमा ल्याएको १५ सय वीउ नर्सरीमा लगाएका छन् ।
प्रति केजी चार सय पर्ने फलको बाहिर निकासी गर्न सके राम्रो आम्दानी गर्न सकिने गाउँपालिका अध्यक्ष बस्यालले बताए । उनले बगानासकालि आफैमा तरकारी र फलफूलका लागि उर्वरा भएकाले यस क्षेत्रका कृषकहरुको चाहाना र माग अनुसार गाउँपालिकाले अनुदानमा वीउविजनहरु उपलब्ध गराउँदै आएको जानकारी दिए । एवोकाडो फल बढी चिसो हुने स्थानमा हुने भएकाले बगनासकालि गाउँपालिका यसका लागि अति उत्तम रहेको गाउँपालिकाका कृषि संयोजक सन्तोष जिसीले जानकारी दिए । मेक्सिको र अमेरिका लगायतका मुलकबाट भित्रिएको बताइने नास्पती वर्गको यो फलको व्यावसायिक खेती समुन्द्रि सतहको एक हजार मिटर भन्दा बढी उचाईको उष्ण र समशितोष्ण हावापानीमा गर्न सकिने संयोजक जिसिले बताए । जिसिले भने रोपेको २ देखि ४ वर्ष भित्रै उत्पादन दिने यसको प्रचुर व्यावसायिक संभावना रहेको छ । प्रसस्त भिटामिन, प्रोटिन र चिल्लो पदार्थ पाइने एवोकार्डको माग र उपभोग दिनानुदिन बढ्दै गएको छ । जिल्लामा छिट्टाफुट्टा रुपमा यसका विरुवा पाईए पनि व्यवसायिक रुपमा भने यो पहिलो हो ।

SHARE