विद्यालय निरीक्षक पदमा सम्भावना

विद्यालय निरीक्षक पनि निजामती सेवाकै पद हो भन्नेमा धेरैजना अनभिज्ञ हुन सक्छन्। यो निजामती सेवाअन्तर्गत नेपाल शिक्षा सेवाको राजपत्रांकित तृतीय श्रेणीको पद हो। शिक्षा शास्त्र संकायमा स्नातक तह उत्तीर्ण व्यक्तिका लागि यो पद आफ्नो करिअरको निर्माणका लागि एउटा उत्तम विकल्प हुन सक्छ। शिक्षा शास्त्र संकाय मात्र नभएर अन्य संकायबाट स्नातक उत्तीर्ण व्यक्तिले एकवर्षे बीएड गरेपछि पनि विद्यालय निरीक्षक पदका लागि आवेदन दिन सक्छ।

उच्च शिक्षा हासिल गरेका शिक्षित बेरोजगारहरूको संख्या बढिरहेको सन्दर्भमा निजामती सेवाको स्थायित्व, वृत्ति विकासको अवसर एवम् कार्य क्षेत्रको फराकिलो दायराका कारण दिनप्रतिदिन यतातर्फको आकर्षण बढिरहेको छ। विद्यालय निरीक्षक पदका लागि पनि संख्यात्मक हिसाबले धेरैले आवेदन दिने गरेका छन्। विगत दुई तीन वर्षको तथ्यांकलाई दृष्टिगत गर्दा आव २०७३/०७४ सालमा लोकसेवा आयोगबाट खुला र समावेशीसमेत गरी १८ जना विद्यालय निरीक्षक माग गरिएकोमा दुुई हजार दुुई सय ४१ जना लिखित परीक्षामा सामेल भएका थिए।

त्यस्तै, आव २०७४/०७५ सालमा लोकसेवा आयोगबाट खुुला र समावेशीसमेत गरी २६ जना विद्यालय निरीक्षकको माग गरिएकोमा दुुई हजार ६ सय सात जना लिखित परीक्षामा सामेल भएका थिए। संख्यात्मक हिसाबले उच्च प्रतिस्पर्धा देखिएता पनि धेरै व्यक्ति आवेदन दिएर पनि परीक्षामा सफल हुन कसरी तयारी गर्ने, कस्ता सामग्री अध्ययन गर्ने, कसरी उत्तर लेख्ने भन्ने जानकारीको अभावमा कुहिराको कागजस्तै आफ्नो गन्तव्यमा पुग्न नसकेको तीतो यथार्थ छ।

विद्यालय निरीक्षकको पाठ्यक्रमलाई हेर्दा शिक्षा शास्त्र संकायमा स्नातकोत्तर पढ्दै गरेका व्यक्तिहरू एवम् शिक्षा शास्त्र संकायबाट स्नातक उत्तीर्ण गरी शिक्षकको तयारी गर्दै गरेका व्यक्तिले समेत विद्यालय निरीक्षकको सँगसँगै तयारी अगाडि बढाउन सक्छन्। विद्यालय निरीक्षकको लिखित परीक्षाको प्रथम पत्रमा १०० पूर्णांकको वस्तुगत प्रश्न र द्वितीय पत्रमा १०० पूर्णांकको विषयत प्रश्न सोधिन्छ।

लिखित परीक्षामा सफल भएमा अन्तर्वार्ता र सामूहिक परीक्षण परीक्षा सञ्चालन गरी नियुक्तिको लागि सिफारिस गर्ने व्यवस्था छ। शिक्षाशास्त्र संकायअन्तर्गत स्नातकोत्तर तह र शिक्षकको प्रतियोगितात्मक परीक्षाको पाठ्यक्रम र विद्यालय निरीक्षकको पाठ्यक्रममा समावेश गरिएका विषयवस्तुहरू केही हदसम्म मिल्दाजुल्दा भएकोले स्नातकोत्तर तहको पढाइ, शिक्षकको तयारी सँगसँगै विद्यालय निरीक्षकको तयारीलाई समेत सँगै अगाडि बढाउन सकिन्छ।

लोकसेवा आयोगको कार्यतालिकाअनुसार विद्यालय निरीक्षकको विज्ञापन कात्तिकको अन्तिम बुधबार हुन्छ भने, सो परीक्षा माघ÷फागुनमा हुने गर्छ। विज्ञापन प्रकाशन हुँदा नै परीक्षाको मितिसमेत तोकिएको हुन्छ। अनलाइनमार्फत आवेदन दिन सकिने भएकोले इन्टरनेटको पहुँच भएको जुनसुकै ठाउँबाट आवेदन दिन सकिन्छ।

विद्यालय निरीक्षक त्यस्तो पद हो, जसमा प्रशासनिक तथा प्राज्ञिक दुवै खालको काम गर्ने अवसर मिल्छ। शिक्षा मन्त्रालय र मातहतका निकायमा काम गर्नुपर्ने भएता पनि लोकसेवा आयोग, अख्तियार दुरुपयोग अनुसन्धान आयोग, भाषा आयोगलगायतका निकायमा समेत विद्यालय निरीक्षकको दरबन्दी रहेकोले ती निकायमा समेत काम गर्ने अवसर प्राप्त गर्न सकिन्छ। देश संघीयतामा गएपछि महानगरपालिका, उपमहानगरपालिका, नगरपालिका र गाउँपालिकाको संगठन संरचनामा समेत शिक्षा, युवा तथा खेलकुद महाशाखा÷शाखा कायम गरी विद्यालय निरीक्षकको दरबन्दी कायम गरिएको छ। विद्यालय निरीक्षकले केन्द्र र प्रादेशिक निकायमा बस्दा धेरै प्रशासनिक कामसँग जोडिनुपर्ने भएता पनि जिल्ला र स्थानीय तहमा खटिएको अवस्थामा प्रशासनिकसँगै प्राविधिक काम समेत गर्नुपर्ने हुन्छ।

विद्यालय निरीक्षण गरी विद्यालय तथा शिक्षकलाई प्राविधिक सहायता प्रदान गर्नुपर्ने हुन्छ। विद्यालय निरीक्षकहरूले प्रअ, शिक्षक एवं विद्यालय व्यवस्थापन समितिका पदाधिकारीलाई तालिम तथा क्षमता विकास कार्यक्रम समेत सञ्चालन गर्नुपर्ने भएकोले प्राज्ञिक रूपमा समेत आफूलाई सवल र सक्षम राख्नुपर्ने हुन्छ।

नेपालको सन्दर्भमा कुरा गर्दा विद्यालय निरीक्षकहरूले आफ्नो पदअनुसारको काम गर्ने अवसर पाएका छैनन्। उनीहरूलाई जिम्मेवारीअनुसार सेवासुविधा पनि दिन सकिएको छैन। जसको परिणामस्वरूप विद्यालय निरीक्षणले गति लिन सकेको छैन। विद्यालय निरीक्षण भएता पनि प्रशासनिक पक्षमा बढी केन्द्रीत भई विद्यालय निरीक्षण भई प्राविधिक निरीक्षण ओझेल परेको वर्तमान अवस्थामा शिक्षण सिकाइमा सुधारको अपेक्षा गर्न सकिदैन।

विद्यालय निरीक्षणलाई व्यवस्थित रूपमा सञ्चालन गर्न विद्यालय निरीक्षकको दरबन्दी पनि अपर्याप्त रहेकोले संघीय संरचनाअनुसार शिक्षालाई व्यवस्थित गरेर शिक्षामा गुणस्तर कायम गर्न विद्यालय निरीक्षकको दरबन्दी थप गर्नु आवश्यक छ। हाल संघीय संरचनाअनुसार शिक्षा सेवाका कर्मचारीको उचित व्यवस्थापन हुन नसक्दा विद्यालय शिक्षाका गतिविधि व्यवस्थित रूपले अगाडि बढ्न सकेका छैनन्। यसतर्फ सम्बन्धित निकाय बेलैमा अग्रसर भई शिक्षा क्षेत्रलाई सही मार्गमा अगाडि बढाउनुपर्ने आजको आवश्यकता हो।

(बुुढाथोकी शिक्षा विकास तथा समन्वय इकाइ जाजरकोटको इकाइ प्रमुख पदमा कार्यरत छन्।­)

SHARE