स्थानीय सरकारलाई विदेशिएका युवाले दिए एम्बुलेन्स उपहार

0

मुक्तिप्रसाद न्यौपाने
पाल्पा, असोज ८
धन कमाउने उद्देश्यले विदेशिएका युवाहरुले रम्भा गाउँपालिका–१, मा रहेको हुँगी स्वास्थ्यचौकीलाई एम्बुलेन्स उपहार दिएका छन् । फेसबुक ग्रुपमार्फत् रकम जुटाएर एम्बुलेन्स खरीद गरि वडा अध्यक्षलाई स्वास्थ्यचौकीमा राख्न एम्बुलेन्स प्रदान गरिएको हो ।
विगत १५ वर्षदेखि वैदेशिक रोजगारीको सिलसिलामा कतारमा रहेका रम्भा गाउँपालिका–१, हुँगीका युवा इश्वर काफ्लेले गाउँमा एम्वुलेन्स दिनका लागि फेसबुक अभियान चलाएका थिए । उनले चलाएको फेसबुक अभियानमा हुँगी तथा आसपासमा घर भई वैदेशिक रोजगारीका रहेका युवाहरुले समेत आर्थिक सहयोग गरेका थिए । देशमा जानुको अर्थ धन कमाउन हो । धन कमाउनुको अर्थ परिवारको खुशी हो । तर यहाँ परदेशीले परिवारको खुशी मात्रै हेरेनन् । समुदायको दुःख बुझे र गाउँलाई एम्वुलेन्स उपहार दिए ।


सहयोगदाताहरुबाट संकलित ६ लाख रुपैयाँ र अन्य बाँकी रकम आफ्नै व्यक्तिगत लगानीमा काफ्लेले एम्वुलेन्स खरिद गरि रम्भा गाउँपालिका वडा नं. १ हुँगीको स्वास्थ्य चौकीलाई हस्तान्तरण गरेका हुन् । उनले आफु अध्यक्ष रहेको न्यु थ्रि स्टार युवा क्लव मार्फत उक्त एम्वुलेन्स स्वास्थ्य चौकीलाई हस्तान्तरण गरेका थिए । न्यू थ्रि स्टार युवा क्लवका अध्यक्ष काफ्लेले आफु परदेशी भएपनि आफ्नो मन सधैं जन्मे हुर्केको माटोमै रहने बताए । उनले भने, एम्वुलेन्स अभावका कोही पनि बिरामी समयमा अस्पताल पुग्नबाट वञ्चित भएर मृत्युवरण गर्न नपरोस् भन्ने उद्देश्यले मैले यो अभियान चलाएको हुँ । उक्त एम्वुलेन्सबाट हुँगी, हेक्लांग, गेझा लगायतका क्षेत्रका साथै स्यांगजाका कालीगण्डकी बेशीका जनताहरु समेत लाभान्वित हुनेछन् ।
पूर्व स्वास्थ्यमन्त्री गगनकुमार थापाले सरकारले हरेक नेपालीको स्वास्थ्य बिमा गरिदिनुपर्नेमा जोड दिए । उनले हरेक नेपालीले अनिवार्य स्वास्थ्य बिमा गर्नुपर्ने, आर्थिक क्षमता अनुसार बिमा शुल्क उठाउने र हुँदै नहुनेलाई सरकारले नै बिमा गरि दिने गरि कानुन नै बनाएर अगाडि बढ्नुपर्नेमा जोड दिए । सो अवसरमा थापाले मुलुक रेमिट्यान्सकै भरमा चलिरहेको भन्दै नेपालमा युवाहरुलाई एकीकृत गरि आयआर्जनको वातावरण बनाउन सरकारले भूमिका खेल्नुपर्नेमा जोड दिए ।
प्रतिनिधिसभा सदस्य रहेका गगनकुमार थापाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई बोल्दै नबोल्न आग्रह गरेका छन् । उनले भने, ‘प्रधानमन्त्री ज्यू, तपाई बोल्दै नबोल्नुस् । तपाईले गर्नुभएका काम नै तपाईको बोली हो । रेल ल्याउनुस् । जहाज चलाउनुहोस् । शुभकामना छ हामी तपाईंलाई सहयोग गर्छौं । तर भाषण गरेर चिच्याएरमात्र नहिँड्नस् ।’ ‘नेकपा नेता माधव नेपालले कम बोल्न र धेरै सुन्न सुझाव दिनुभएछ । म त बोल्दै नबोल्न र जनताको प्रश्न सुनिरहन सुझाव दिन्छु । २०८० सालसम्म नेपाललाई यहाँ पु¥याउँछु भन्ने अठोट हुनुपर्यो । सरकारले काम गर्ने वातावरण बनाउने हो । उत्प्रेरित गर्ने हो । युवालाई रोजगारी ग्यारेन्टी गर्ने हो, थापाले भने, ‘मुलुकको समृद्धिको लागि उद्योग सञ्चालन गर्नुपर्छ । तर रक्सि, चुरोट र जुत्ता सरकारले बनाउने तर स्कुल तथा अस्पताल अरुलाई चलाउ भन्नु हुन्छ । यसरी के देश विकास हुन्छ ? उनले प्रश्न गरे ।’