मुक्तिप्रसाद न्यौपाने
पाल्पा, असाेज २
रम्भा गाउँपालिकाका कर्मचारीले गाउँपालिकाबाट नै आफुहरुले सूचना नपाएको बताएका छन् । गाउँपालिकामा कार्यरत शाखाका कर्मचारीहरुले लिखित नै सूचना माग गर्दा गाउँपालिकाबाट सूचना नपाएको गुनासो गरे ।
रम्भा गाउँपालिका शिक्षा शाखा प्रमुख गुनाराम खनाल र स्रोतव्यक्ति विश्व ज्ञवालीले १९ दिन भैसक्दा पनि आफुहरुले सूचना नपाएको बताएका हुन् । एउटै कार्यालयमा काम गर्ने र एउटै हाजिरी रजिष्टरमा उपस्थिति जनाउने कर्मचारी बिचमा गाउँपालिकाले विभेद गरेको भन्दै उनीहरुले लिखित नै सूचना माग गरेको बताएका छन् । उनीहरुले सूचनाको हक प्रयोग गर्दै तीन बुँदामा सूचना माग गरेका हुन् । शिक्षा शाखा प्रमुख गुनाराम खनाल भन्छन् ‘हामी एउटै कार्यालय र टेबलमा बसेर काम गर्ने कर्मचारीलाई विभेद गरेपछि सूचना माग गरेका हौं । आमनागरिक, कर्मचारी सबैले यस हकको प्रयोग गर्न सक्ने भएकाले संवैधानिक हक अनुसार सूचना माग गरेका हौं । तर अहिलेसम्म पाएका छैनौं ।’ रम्भा गाउँपालिकामा गाउँपालिकाले निर्णय गरेको २५ प्रतिशत अतिरिक्त भत्ता को को ले खाए?, अतिरिक्त काम कसले के गर्यो ? र भ्रमण खर्च कसले कति पायो भनेर सूचना माग गरिएको बताईएको छ ।
रम्भा गाउँपालिकामा कर्मचारीलाई थप भत्ता खुवाउने विषयमा कर्मचारीहरु बिच नै विवाद देखिइको हो । अघिल्लो वर्षको गाउँसभाले थप २५ प्रतिशत भत्ता कर्मचारीलाई उपलब्ध गराउने निर्णय गरे बमोजिम विवाद सिर्जना भएको हो । अतिरिक्त समय काम गरेबापत् निश्चित तोकिएको रकम उपलब्ध गराउने भन्ने निर्णयको पनि उनीहरूले प्रतिलिपि माग गरेका छन् । मौखिक रूपमा पटकपटक किन भेदभाव गरियो भनेर सोध्दा जवाफ नआएपछि लिखित नै दिनुपरेको उनीहरूले बताए ।
रम्भा गाउँपालिकाका सूचना अधिकारी रुकलाल भट्टराईले गरुको जुधाई बाच्छाको मिचाईंमा आफु परेको बताए । भट्टराईले भने, ‘सूचना माग भएको थियो, लेखा शाखामा मलेप चलिरहेको र लेखापाल व्यस्त भएकाले केही ढिला भएको हो । मैले आफैं दिन सक्ने सूचना थिएन । कार्यालय प्रमुख र लेखाले सूचना दिनुहुन्छ । त्यसपछि बल्ल दिन सक्छु ।’ गाउँपालिकाका अध्यक्ष बिष्णुप्रसाद भण्डारीले आफुले गुनासोको सम्बोधनका लागि सूचना अधिकारीलाई यथासिघ्र सूचना प्रवाह गर्न अनुरोध गरेको बताए ।
नेपाल पत्रकार महासंघ पाल्पाका सभापति राजेशकुमार अर्यालले पाल्पा जिल्लाका स्थानीय तहमा सूचना तथा सञ्चारका विषयमा कमजोर बुझाई रहेको बताए । ‘सूचना भनेको माग्ने र मात्र पाउने भन्ने होईन । स्थानीय तहले जनतालाई सूसुचित गर्न पनि सूचना दिनुपर्छ । चौमासिक रुपमा आँफै सूचना प्रवाह गर्ने परम्परा विकास भएको छैन, अध्यक्ष अर्यालले भने, ‘सूचना मागिएन गुनासो छैन भन्ने बुझाई पनि भयो । जनतालाई सूचना माग्ने स्थितिको जागरण पनि गराईएन ।’ सूचना अधिकारीमा सूचना प्रवाह गर्दा म कमजोर हुन्छु की ? पत्रकार प्रश्न गर्छन की? भन्ने मानसिकता विकास भएको छ, उनले भने ।
करुवा पत्रिकाका सम्पादक कृष्ण कार्कीले २०७४ को जेठ २४ गते तानसेन १२ को खानेपानीको योजना सम्पन्न भएको योजनाको सम्पन्न प्रतिवेदन माग गरेर तानसेन नगरपालिकामा सूचना माग गरे । कार्की भन्छन्, एक वर्ष बित्न लाग्यो आजसम्म सूचना पाउन सकिँन । यस विषयमा मेयरलाई पनि जानकारी छ, उहाँले पाउनुहुन्छमात्र भन्नुहुन्छ । पत्रकारले त सूचना पाउन मुस्किल छ जनताले कसरी सूचना पाउने उनले प्रश्न गरे ।
माथागढी गाउँपालिकाका तुलसीराम भुषालले फेसबुकमा सूचना नपाएको सम्बन्धमा यस्तो लेखेका छन्, सूचना नपाउँदै दस्तुर ! माथागढी गाउँपालिकाको वडा नं २ रूप्सेका केही योजनासंग सम्बन्धित सूचना भदौ १३ गते माग गरेको थिए । पन्ध्र दिनसम्म पाइएन । कार्यालय प्रमुखसंग २८ गते उजुरी गर्न गएँ । १ बजेपछि आएकाले दर्ता गर्न मिल्दैन भनियो । २९ गते फेरि गएर उजुरी दर्ता गरें । सूचना दिए बापत लाग्ने २ हजार २ सय ७० को रसिद काटियो, तर सूचना हप्ता दिनपछि दिने भनियो । म सूचना वापतको रसिद लिएर, सूचना नपाई फर्केको छु । नागरिकले सार्वजनिक निकायको सूचना पाउन यति मुश्किल छ । माथागढी गाउँपालिकाका कार्यकारी अधिकृत दीपककुमार नेपालीले आफुले सूचनाका लागि फोटोकपि गर्न केही समय पर्खन आग्रह गरेको भएता पनि रसिद काटेर बाहिर निस्केर सूचना नपाएको अनावश्यक हल्ला फिँजाएको बताए ।