Sunday , September 20 2020

जात्रैजात्राको शहर तानसेन

पाल्पा, भदौ १५
पाल्पा जिल्ला सदरमुकाम तानसेन जात्रैजात्रको शहरका रुपमा पहिचान स्थापित गरेको छ । श्रावण शुक्ल चतुदर्शीका दिनदेखी भाद्र कृष्ण नवमीसम्म तानसेनमा निरन्तर जात्रा देखाईने गर्दछ । जनै पूर्णिमादेखी भगवतीजात्रामा निरन्तर जात्रा निकाल्ने गरिन्छ ।
नेवारी समुदायमा प्रचलित गठेरगाँठे मंगल तानसेनको पहिलो जात्रा हो । यससँगै तानसेनमा चाडपर्वको मौसम सुरू हुन्छ । श्रावण चतुदर्शीका दिन मनाइने यस पर्वलाई घण्टाकर्ण चर्तुदशी पनि भन्ने गरिन्छ । जात्रैजात्राको सहरका रूपमा परिचित तानसेनमा घण्टाकर्ण पर्व (गठाँमो) मनाएसंँगै चाडपर्वको मौसम सुरु हुन्छ । जनै पूर्णिमाको दिनमा निकालिने चुँइकी फिराईबाट सुरू हुने जात्रा निरन्तर सञ्चालन हुँदा तानसेनमा वस्तुको बिक्रि वितरण समेत धेरै हुने गरेको छ । तानसेन त्यसै पनि ऐतिहासिक, परम्परा, सँस्कृति बोकेको शहर हो ।
पाल्पाको तानसेनलाई सांँस्कृतिक शहरका रूपमा चिनिन्छ । काठमाडौंपछिको सबैभन्दा बढी जात्रा देखाइने उपत्यकापछिको सदरमुकाम भनेकै तानसेन हो । तानसेनमा गाँठे मंगलका दिनदेखि जात्राको मौसम सुरू हुन्छ । तर, जनै पूर्णिमादेखि भगवती, अमरनारायण जात्रा नसकिँदासम्म जात्रालुहरु विभिन्न स्वरुप र आकार प्रकारमा देखा पर्दछन् । बाघ, लाखे, गाई, रोपारे, बाउसे आकृतिमा विभिन्न भेषभूषा लगाएर मानिसहरु नगर परिक्रमा गरिरहेका हुन्छन् । सबैलाई आकर्षित गर्ने बाजागाजा र झाँकीसहितको र्यालीले सडकै जाम गरिन्छ । रमितेहरूपनि कम्ती हुदैनन् । गाईजात्रा, रोपाईजात्रा, गणेशजात्रा, अमरनारायणजात्रा, श्रीनगरजात्रा, बाघ जात्रा, टक्सार गणेश र भगवती जात्रा तानसेनका लोकप्रिय जात्राहरु हुन् । कला संस्कृति जगेर्नामा लागेको देउराली साँस्कृतिक अध्ययन प्रतिष्ठानले पछिल्लो समय विभिन्न किसिमले सहयोग गर्दै आईरहेको छ । प्रतिष्ठानका मदन देउरालीले भने, पछिल्लो समय जात्रा निकाल्नेक्रममा कमी हुँदै गएको भान हुन थालेको छ । त्यसैले हामीले जात्रालाई हराउन नदिन सहयोग गर्दै आएका छौं । ‘तानसेनमा निरन्तर ११ दिन जात्रा निकालिन्छ । परम्परा जोगाउन तानसेनमा जात्रा निकाल्ने परम्परा छोडिएको छैन । यसले निरन्तरता पाउनुपर्छ,’ उनले भने । जातिय पहिरन, जोगी, झांक्रीको वेशमा हातमा विभिन्न बस्तु लिएर युवा तथा अधवैसे सडकमा निस्कछन् । देउराली अध्ययन प्रतिष्ठानले जात्रालाई जोगाई राख्नुपर्छ भन्ने मान्यतामा छन् ।
तानसेन बसपार्क, शित्तलपाटी, नारायणस्थान, भगवतीटोल, बसन्तपुर लगायतका स्थानमा हाँस्यव्यग्य प्रर्दशन गरिन्छ । राजनीतिक, सामाजिक, सांस्कृतिक व्यग्य गर्दै थोत्राटिन, मादल र झुमा बजाएर रमाईलो गर्ने गर्छन् । प्रहशन मार्फत् स्थानीय सरकारलाई व्यङ्ग्य गरिन्छ । कलाकार कमल भट्टराई भन्छन्, ‘सरकारका कामहरुबाट जनता सन्तुष्ट छैनन् । कर वृद्धि गरिएको छ । जनतालाई विकासभन्दा पनि आश्वासनमात्र बाँडे । हामी त्यसैलाई व्यङ्ग्य गरेका छौं ।’ उनीहरुले समग्र मुलुकका राजनीतिक घटनाक्रमलाई उनीहरूले गाईजात्राको रूपमा व्यग्य गर्छन् । फरक फरक अनुहार । कोही विदेशी त कोही नेपाली । प्रहरी लगायत थुप्रैको भेषमा सडकमा निस्केका कलाकारहरूले सबैलाई तिखो व्यग्य गरेका थिए ।
नेवारी परम्परा अनुसार जनैपुर्णिमाको भोलिपल्ट निकालिने गाइजात्रा जिल्लाका विभिन्न स्थानमा मनाउने गरिन्छ । कम्वललाई गाईको स्वरूप बनाएर बजार डुलाईयो भने सांच्चिकै गाईलाई पनि डुलाउने चलन छ । तर काम्ले गाईको प्रचलन विस्तारै हराँउदै गयो । खर्च बढी लाग्ने भएकाले समस्या नै हुने गरेको हो । विभिन्न रंगी, विरंगी कपडा साथै थोत्रा छाता लिएर बजारमा डुल्नेको पनि कमी हुँदैन । इतिहासमन जानकार निर्मल श्रेष्ठका अनुसार दिवंगत आत्माको चीरशान्तिको कामना गर्दै गाईजात्रा निकाल्ने पाल्पामा पुरानो परम्परा हो । तानसेनका विभिन्न चोकमा गाईजात्रा पर्व हेर्न आउनेको भीड हुन्छ । तानसेनमा एकवर्ष अवधिमा दिवंगत भएकाका आफन्तले वासा, रामायण, गाई निकाल्ने चलन छ । बिहानैदेखि तानसेनमा रामायण, भजन गाउँदै शहर परिक्रमा गर्ने चलन छ ।
गाईजात्राको भोलिपल्ट मनाइने रोपाईजात्रा पाल्पामा हर्षोल्लाहका साथ मनाइन्छ । सिमसिम पानी र हिलाम्मे सडकमा असारे गीत गाउदै पन्चेबाजाको तालमा ताल मिलाउदै रोपाहार, बाउसे, हलीले काम गरेर जात्रा मनाउने चलन छ । इतिहासका जानकार राजेन्द्रगोपाल सिंहका अनुसार पन्चेबाजाको तालमा गीत गाँउदै रोइलाहरू र असारे भाकामा नाँचगान गर्दै हिडेको देख्दा खेतमा यस्तो प्रचलन हराएपनि जात्रामा देख्न पाउँदा आनन्द लाग्छ । पञ्चेबाजाको तालमा जात्राले तानसेन बजार र गाउँ गाउँमा गुन्जायमान गराउँछ । जात्रैजात्राको संगम बनेको पाल्पामा गाइजात्राको भोलिपल्ट मनाइने रोपाइजात्राको दृष्यले तानसेनवासीलाई रमाईलो बनाउँछ । तानसेनका छिमेकी गाउँबाट प्रायः रोपाइ जात्रा ल्याउने गरिन्छ । पाल्पाको तानसेन बाहेक, हार्थोक, आर्यभन्ज्याङ्, जव्गादी, रामपुर, सिलुवा लगायतका स्थानमा समेत रोपाई जात्रा नाच्ने चलन छ ।
पाल्पाको सबैभन्दा ठूलो र महत्वले हेरिने साथै नेपाल–अंग्रेजयुद्धसंग जोडिने भगवती जात्रा हो । सबैभन्दा बढी जात्रालुको सहभागीतामा रहने भगवतीको रथयात्रा यस वर्ष दुई सय औं निकालिँदैछ । हरेकवर्ष भाद्र कृष्णनवमीका दिन ऐतिहासिक रणउजीरेश्वरी भगवतीको रथयात्रा गरिन्छ । जात्रा मनाउन विद्यालयमा विदा दिइन्छ । हरेक दिनजसो हुने प्रहशन, नाटक र गाईजात्राका कारण जात्रालुहरुले मनोरञ्जन लिने गरेका छन् ।
काठमाडौं पछिको सबैभन्दा बढी जात्रा देखाइने शहरको रुपमा तानसेनलाई लिने गरिन्छ । भक्तपुर पछिको संस्कृतिमा धनि पाल्पाले पहिचान पाएपनि पछिल्लो समयमा परम्परागत कला संस्कृति चाडपर्व लोप हुँदै जान थालेपछि तानसेनका बुढापाका बुद्धिजिवीहरुलाई समेटेर संस्कृति अध्ययन प्रतिष्ठान गठन गरी संस्कृति जोगाउने अभियानमा यहाँका नेवार समुदाय लागेका छन् । नेवार जातीहरुको बाहुल्यता रहेको तानसेनमा पछिल्लो समयमा बसाई सराईको कारण नेवारी कला संस्कृतिहरु ओझेलमा परेको भन्दै प्रतिष्ठानले संस्कृति बचाउ अभियान शुरु गरेको हो ।

Check Also

माथागढीमा ५ वेडको आइसोलेसन अस्पताल निर्माण हुँदै …

गजेन्द्र पन्थी माथागढी, असाेज १ माथागढी गाउँपालिकामा आइसोलेसन अस्पताल निर्माण हुने भएको छ । संघीय …

error: Content is protected !!