बाँदरको आक्रमणबाट पाल्पामा तीन महिला घाईते, विद्यार्थी विद्यालय जान छाडे

0

मुक्तिप्रसाद न्यौपाने
पाल्पा, साउन २५
तानसेन नगरपालिका–१२, छेर्लुङ्गमा बाँदरको आक्रमणबाट तीन महिला घाईते भएका छन् । बिहिबार दिउँसो खेतमा काम गर्न जान बाटोमा हिँडिरहेको समयमा बाँदरले चिथोरेर तथा टोकेर घाईते बनाएको हो ।
बाँदरको आक्रमणबाट तानपा–१२, छेर्लुङ्गकी ४० वर्षीय शान्ति बस्याल र कल्पना माझि घाईते भएका हुन् । उनीहरुको अहिले युनाईटेड मिशन अस्पतालमा उपचार भैरहेको छ । यहिँ केही दिन अघिमात्र ४२ वर्षीय लक्ष्मी पाण्डे बाँदरको आक्रमणबाट घाईते भएको स्थानीय किशोर भट्टराईले बताए । छेर्लुङ्गका मिनबहादुर पाण्डेले बाँदरले खेतीबाली नष्ट गर्नेक्रम बढाएपछि अधिकाँश खेतबारी बाँझै राखिएको बताए । ‘बाटोमा हिड्नै नसकिने भो, महिलाहरुलाई बढी आक्रमण गर्छ । पुरुषले हातमा गुलेली लिएर हिड्न बाध्य छन्,’ पाण्डेले भने, ‘बाँदर घरभित्रै पस्न थालेको छ । बालबालिका विद्यालय जान छाडे ।’ उनले पहिले नखाने तरकारी तथा फलफूल समेत बाँदरले बाँकी नराखेको बताए । पाण्े भन्छन्, ‘लसुन, प्याज समेत खान्छ । कटहरदेखी केही फलफूल पनि राख्दैन । विस्थापित गराउला भन्ने डर भो ।’
राधाकृष्ण आधारभूत विद्यालयका प्राधानाध्यापक भेषराज पाण्डेले विना अभिभावक विद्यालयमा विद्यार्थी आउने वातावरण नभएको बताए । उनी भन्छन्, ‘बाँदरले दिनानुदिन आक्रमण गर्न थालेको छ । विद्यार्थी दैनिक ५ देखी १० जनासम्म अनुपस्थित हुन थाले । हामीले गर्न सक्ने केही भएन ।’ तानपा–१२ छेर्लुङ्गका वडा अध्यक्ष टुकप्रसाद भट्टराईले बाँदरले किसानलाई सास्ती पु¥याएको बताउँदै नियन्त्रणका लागि छलफल भैरहेको बताए ।