पाल्पा, साउन २४
तानसेन नगरपालिकाले गाउँनगर साझेदारी विकास कार्यक्रमको रकम असुली गरि युवा स्वरोजगारमा लगाउने भएको छ । नगरपालिकाले कोषमा रहेको रकम, सामूहिक जवानीमा रहेको ऋण रकम र दातृ निकायबाट रकम संकलन गरि युवा स्वरोजगार कार्यक्रम सञ्चालन गर्ने भएको हो ।

यूएनडीपी को आर्थिक सहयोगमा तानसेन नगरपालिकाले २०५६ सालमा तानसेन, आर्यभञ्याङ्ग र हार्थोकमा ऋण प्रवाह गरेको गाउँनगर साझेदारी कार्यक्रमको ऋण असुली हुन सकेको छैन । गरिब तथा विपन्न वर्गका व्यक्ति समुदायलाई कम व्याजदरमा ऋण उपलब्ध गराई उनीहरुलाई आर्थिक रुपमा सबल बनाउने उद्देश्यले २०५५ साल देखि लागु भएको कार्यक्रम अन्तर्गतको ऋणको साँवा र व्याज नउठेका कारण समस्या जटिल बन्दै गएको छ । यस कार्यक्रमबाट जिल्लाका विभिन्न समूहमा ५० लाख २८ हजार ६ सय १४ रुपैयाँ सावाँ कर्जा असुल हुन बाँकी छ । साविक तानसेन नगरपालिकाको विभिन्न ५९ समूह तथा व्यक्तिसँग ३० लाख ६४ हजार ३ सय ९८ रुपैयाँ असुली हुन बाँकी छ । वगनाशकाली गाउँपालिकामा रहेकोे साविक आर्यभञ्याङ्ग गाविसमा ८ समूहले २ लाख ३५ हजार ६ सय २२ ऋण तिरेका छैनन् । यस्तै रिब्दीकोट गाउँपालिकाको साविक खस्यौली गाविसको हार्थोकका २२ समूह तथा व्यक्तिले १७ लाख २८ हजार ५ सय ९४ रुपैयाँ साँवा रकम नै भुक्तानी गरेका छैनन् ।

सम्झौता गरेको एक वर्षमा वार्षिक संस्थालाई १० प्रतिशत र समूह तथा व्यक्तिले १२ प्रतिशत व्याज सहित साँवा फिर्ता गर्नुपर्ने शर्त सहित ऋण प्रदान गरिएपनि ऋण रकम असुल गर्न नसकिएको तानसेन नगरपालिकाका योजना तथा प्रशासकीय अधिकृत बिष्णु पौडेलले बताए । उनी भन्छन्, ‘गाउँनगर साझेदारी कार्यक्रम रहँदासम्म सोही परियोजनाबाट तालिम, गोष्ठी सञ्चालन गरिएको र कर्मचारी भएकोले ताकेता भएको थियो । त्यसपछि लामो समय ताकेता पनि हुन सकेको छैन ।’ उनले अब कानूनले दिएको अधिकार प्रयोग गरि ऋण असुली गरि कार्यक्रम गर्ने बताए । पौडेलले कर्जा प्रवाह भएको समूहमा नियमीत रुपमा अनुगमन हुन नसकेको बताउँछन् । नियमित कर्जा प्रवाह भएको ठाउँमा अनुगमन गर्न कमी भयो तर ऋण लगेका व्यक्तिहरुले आफ्नो उत्तरदायित्व पनि भूले जसका कारण समस्या थुपरिएको छ । उनले टोलविकास संस्थाहरुलाई भने कार्यक्रम मार्फत् स्थापित गरिएको बताए ।

सबैभन्दा बढी कर्जा लिनेमा राजनैतिक दलका नेता तथा कार्यकर्ता रहेका छन् । व्यवसाय सञ्चालन गरी उद्यमी तथा व्यवसायीक बन्न कर्जा लिएकाहरु केही व्यक्ति मध्ये पनि अधिकांशले व्यवसाय छोडी सकेका छन् । नगरपालिकामा कार्यरत कर्मचारीले पनि गाडी किन्न भन्दै ऋण लिएको देखिन्छ । ऋण लगेका केही जुत्ता व्यवसायी र मासु व्यवसायी भने अहिले पनि त्यही पेशामा छन् । तर उनीहरुले आफुलाई अनुदान हो की ऋण भन्ने नै अन्यौलमा परेको बताउँछन् । उनीहरुले एक लाखसम्म पैसा नगरसँग लिएर व्यवसाय गरेको बताउँछन् । अहिलेको तानसेन नगरपालिका प्रमुख अशोककुमार शाही नै प्रमुख भएको समयमा ऋण प्रदान भएको थियो ।

गाउँनगर साझेदारी विकास कार्यक्रमको कोषमामात्र अहिले पनि ५१ लाख ७६ हजार १ सय ९४ रुपैयाँ रकम त्यसै थन्किएको छ । तानसेन नगरपालिकाले कोषको रकममा ऋण सरकारी बाँकी सरह मानी ऋण प्रवाह भएको रकम उठाएर युवा स्वरोजगारमा लगाउने तानसेन नगरपालिकाका प्रमुख अशोककुमार शाहीले बताए । उनी भन्छन्, ‘हामीसँग केही दातृ निकाय पनि सम्पर्कमा छन् । अब केही रकम ल्याएर उद्यमशीलताको विकासका लागि युवाहरुलाई ऋण प्रदान गर्छौं ।’ माओवादी द्वन्द्वकालमा ऋण अलपत्र परेको बताईएको छ । नगरप्रमुख शाहीले ऋण रकम जसरी पनि असुल गरेरै छाड्ने बताए । ‘कर्मचारीले ऋण लिएको विषय मलाई जानकारी भएन । म हुँदा कर्मचारीलाई ऋण दिएको थिईन । पछि कार्यविधि परिवर्तन गरेर कर्मचारीले लिएका रैछन् भने त्यो पनि शुक्रबारको बैठकमा कुरा गरेर असुल हुन्छ,’ शाहीले भने, ‘कानूनले दिएको अधिकार प्रयोग गरेर रकम उठाउँछौं ।

कार्यक्रम लागु भएको ५ वर्ष सम्म यूएनडिपीले आफै अनुगमन गरि तानसेन नगरपालिकालाई सुम्पिएर छाडेको ऋण असुली हुन सकेको छैन । घुम्ति कोषका रुपमा नगरपालिकाले युवाहरुमा उद्यमशीलता मार्फत् स्वरोजगारी तथा रोजगारी सिर्जनागर्न ऋण रकम प्रदान गर्ने भएको हो । तानसेन नगरपालिकाले युवा स्वरोजगार कार्यक्रम सञ्चालन गर्न चार करोड रुपैयाँ आवश्यक पर्ने जनाएको छ ।