मुक्तिप्रसाद न्यौपाने
पाल्पा, साउन १६
गत जेठ १८ गते भएको बस दुर्घटनामा परि मृत्यु भएका मृतकका आफन्तलाई नेको इन्सुरेन्सले बिमाको रकम हस्तान्तरण गरेको छ । नेकोले १३ जनालाई २÷२ लाखका दरले बीमा रकम प्रदान गरेको छ । यस्तै पाल्पा उद्योग वाणिज्य संघले छ जना व्यवसायीका आफन्तलाई १÷१ लाख रुपैयाँका दरले वीमा रकम प्रदान गरेको हो ।
नेकोका शाखा प्रबन्धक सन्दीप केसीले लक्ष्मि बचत तथा ऋण सहकारी संस्थाका शेयर सदस्य र कर्मचारीको २०७४ असोज २७ गते सामूहिक दुर्घटना बिमा गरिएको बताए । उनी भन्छन्, ‘झण्डै १ हजार ५ सय सदस्यको बीमा गरिएको थियो । ७८ हजार ८ सय ६२ रुपैयाँ प्रिमियम थियो । असामयीक निधन भएका १३ जनामध्ये शेयर सदस्य १० जनालाई दुई दुई लाख र कर्मचारी ३ जनालाई १÷१ लाख बिमा वापतको रकम दिएका छौं ।’ लक्ष्मि बचत सहकारीका अध्यक्ष हरिबहादुर रायमाझिले कर्मचारी ३ जनालाई पनि सहकारीबाट १÷१ लाख थप गरेर १३ जनालाई २६ लाख भुक्तानी गरेका हौं । मृतक डिभिजन सहकारीका प्रमुख कृष्णबहादुर बोहोराको परिवारलाई ५० हजार राहत दिएका छौं ।
नेको इन्सुरेन्सले लक्ष्मी बचतका अध्यक्ष बिष्णुमान बज्राचार्य सहित देवेन्द्रलाल प्रधान, कृष्णमान बज्राचार्य, छेत्रमान शाक्य, संचिन बज्राचार्य, गीता बुढाथोकी, वसन्ती खाँड, दुर्गादेवी श्रेष्ठ, मुना सारु, सुशीलप्रसाद श्रेष्ठ, दुर्गाबहादुर सारु, लोकनाथ ढकाल र कमला कार्की को परिवारलाई बिमाङ्क रकम हस्तान्तरण गरेको हो ।
पाल्पा उद्योग वाणिज्य संघका अध्यक्ष मोहनप्रसाद श्रेष्ठले व्यवसायीहरुबाटै संकलन गरेको दुर्घटना बीमा राहतकोषबाट रकम प्रदान गरेको बताए । उनी भन्छन्, ‘जीवनमा यस्तो देख्न, भोग्न र सुन्न नपरोस् । हामी व्यवसायीहरुलाई परेको दुःखमा साथ दिन राहत कोषबाट सहयोग गरेका हौं ।’ अध्यक्ष श्रेष्ठले अहिलेसम्म राहतकोषबाट २० हजारका दरमा संस्कार खर्च वापत १० जनालाई सहयोग पनि गरिसकेको बताए । पाल्पा उद्योग वाणिज्य संघले रम्भा गाउँपालिका–४, हुमिनमा भएको बस दुर्घटनामा परि मृत्यु भएका छेत्रमान शाक्य, बिष्णुमान बज्राचार्य, सचिनमान बज्राचार्य, कृष्णमान बज्राचार्य, देबेन्द्र प्रधान र सुशील श्रेष्ठका परिवारलाई रकम प्रदान गरेको हो ।
संघका सचिव यादवसिंह कार्कीले राहत कोषमा १२ लाख ४१ हजार रकम जम्मा रहेको बताउँदै आगामी दिनहरुमा व्यवसायीको दीर्घकालिन सुरक्षाका कार्यक्रमहरु सञ्चालन गर्ने बताए । संघमा जिल्लाका झण्डै एघार सय उद्योगी व्यवसायी सदस्य छन् ।