सबै वडामा बस पुर्याउँछाै, महिला र युवालार्इ राेजगारी हाम्राे प्राथमिकता, अध्यक्ष भण्डारी

बिष्णुप्रसाद भण्डारी, रम्भा गाउँपालिका, पाल्पा

निर्वाचन पछिको एक वर्षलाई कसरी लिनु भएको छ ?
नेपाल अहिले तीन तहमा विभाजन भएपछि स्थानीय सरकार आएको छ । पहिले स्थानीय निकायका रुपमा अहिलेका वडाबाट काम हुने गथ्र्याे । जनतामा स्थानीय तहको निर्वाचन पछि ठूलो अपेक्षा पुरा गरेका छन् । स्वास्थ्य, शिक्षा, यातायात, कृषि, पशुपालन, गाउँमा सडक होस् भन्ने चाहाना राखेकाले सोही अनुसारका कामहरु अगाडी बढेका छन् ।
पहिलो वर्ष स्थानीय, प्रदेश र राष्ट्रियसभाको चुनावमा बितेको छ । पाँच साविक गाविसहरु मिलेर बनाएको गाउँपालिकामा सडक सञ्जालबाट जोड्न पूर्व पश्चिम र उत्तर दक्षिण जोड्ने ट्याक खुलाईएको छ, खुलेको ठाउँमा स्तरोन्नतिको काम भएको छ । गाउँमा वास्तविक वस्तुस्थिति अध्ययनको काम भैरहेको छ । जनताले निशुल्क स्वास्थ्य सुविधा प्राप्त गर्ने कार्यलाई सुनिश्चि गर्ने अवस्था सिर्जना भएको छ ।

तपाई गाउँपालिका अध्यक्षमा निर्वाचित पश्चात् के के काम भए ?
गाउँपालिकाका जनतालाई आफ्नै सरकार आएको महशुस हुनेगरि हामीले पहिलो वर्ष सडक निर्माणका कामहरुलाई प्राथमिकता दिएर काम ग¥र्यौ । विद्युतमा रहेको समस्या हटाउन काठको पोल विस्थापनको कार्यभैरहेको छ । स्वास्थ्यचौकीहरुमा ल्याव स्थापना गरि सञ्चालन भएको छ । हुँगिमा सञ्चालित ल्यावमामात्र दुई महिनामा २ सय ५० बढीले विभिन्न परीक्षणहरु गरेका छन् । युवाहरुलाई स्वरोजगार बनाउन पल्बिङ्ग तथा हाउस वायरिङ्ग तालिम प्रदान गरेका छौं । महिलाहरुलाई ढाका बुनाई तालिम दिन थालेका छौं जसले महिलालाई आत्मनिर्भर बनाउन सहयोग गर्नेछ । प्राविधिक शिक्षाको काम अगाडी बढेको छ । एसइईमा उत्कृष्ठ अंक ल्याउने छात्रछात्रालाई सम्मान गरेका छौं । गाउँका जेष्ठ नागरिकहरुलाई सम्मान गरेका छौं । न्यायिक समिति मार्फत् गाउँमा परेका उजुरी तथा मुद्दाहरुको सुनुवाई भएको छ । सिंचाई कुलोको मर्मत गरेका छौं । विद्यालयको गुणस्तर सुधार होस् भनेर शिक्षक, अभिभावक र विद्यार्थीहरु बसेर योजना बनाउने काम भएको छ । सहकारी व्यवस्थापनको काम गरेका छौं । धार्मीक तथा पर्यटकीय गन्तव्यहरुको पहिचान भएको छ ।
घरमै बच्चा जन्माउनुपर्ने अवस्थाको अन्त्य गर्न बर्थिङ्ग सेन्टर सञ्चालन गर्ने प्रयासमा छौं । रम्भालाई दुध र मासुमा आत्मनिर्भर बनाउने प्रयासमा छौं । टुकी रहित गाउँपालिका बनाउने अभियानमा लागेका छौं । बालविवाह मुक्त गाउँपालिका बनाउन सचेतनामूलक कार्यक्रमहरु सञ्चालनमा छौं । पूर्णसरसफाईयुक्त गाउँपालिका बनाउने काम गरेका छौं । स्थानीय तहमा कार्यरत कर्मचारीहरुलाई उत्प्रेरित गर्न प्रोत्साहनको व्यवस्था गरेका छौं ।

यो एक वर्षमा केही काम गर्न नसकिए जस्तो लाग्छ ?
एक वर्षमा जनताका धेरै आवश्यकता भएकोले सबै अपेक्षा पूरा नहुनु स्वभाविक हो । गाउँपालिकाको केन्द्रको टुङ्गो लगाउन सकिएको छैन । भौगोलिक रुपमा गाउँपालिकाको केन्द्रलाई यहि राख्ने भन्ने निर्णय गर्न सकिएको छैन । गाउँपालिकामा कर्मचारी अभाव छ । भौगोलिक रुपमा अत्यन्त साँधुरो रुपमा सहकारीको भवनमा कार्यालय सञ्चालनमा छ । यसलाई हामीले ठाउँको व्यवस्थापन गर्न सकेका छैनौं ।

स्थानीय सरकारको अवसर र चुनौती के कस्ता छन् ?
स्थानीय सरकारका रुपमा रम्भालाई धेरै अवसर छन् । प्राकृतिक छठाले भरिपूर्ण र साधनस्रोतको धनी गाउँपालिकामा धार्मीक तथा पर्यटकीय क्षेत्र रम्भा, रिमिघा, कालीगण्डकी लगायत छन् । कृषियोग्य भूमि छ । आँफै स्रोत पहिचान गर्ने बजेट व्यवस्थापन गर्ने र परिचालन गर्नु हो गाउँपालिकाका लागि अवसर हो । धरै अवसरका बिचमा काम गर्दा नीति निर्माणका सम्बन्धमा प्रदेश र संघको अन्यौलता रहेको पाईएको छ । तीन तहको सरकारको क्षेत्राधिकार स्पष्ट छैन । कर्मचारीमा पुरानो काम गर्ने मानसिकतामा परिवर्तन गरेर अझै नयाँपन दिन सकिएको छैन ।
गाउँपालिकाले विभिन्न ऐन, नियम, निति तथा निर्देशिकाहरु बनाउनु छ । हामीमा धेरै कानूनी ज्ञानका लागि कानूनी विज्ञको आवश्यकता पर्छ । जनताका आवश्यकता पुरा गर्न सीमित स्रोत र साधन छन् । केन्द्र सरकारको भर पर्ने अवस्था अझै छ । आन्तरिक आम्दानीलाई वृद्धि गर्न सकेका छैनौं । सरकारको मुख्य चुनौती भनेको जनताको अपेक्षा पुरा गरि स्वरोजगारी सिर्जना गर्नु छ ।

अबको चार वर्षको योजना के छ ?
सबै वडाका सडकमा बाह्रै महिना बस सञ्चालन हुनेगरी सडकको स्तरोन्नति गरिने छ । प्राविधिक शिक्षा गाउँपालिकाको मुख्य कार्यक्रम हो । ल्यावको व्यवस्थापन गरि सबै वडामा स्वास्थ्य सुविधा सरल र सर्वसुलभ बनाउनु छ । हिला तथा युवाको सीपमूलक कार्यक्रमका गरि गाउँमै स्वरोजगारमुखी कार्यक्रम चलाउने योजनामा छौं । महिला स्वयसेविका र विपन्न परिवारको स्वास्थ्य विमा, सुत्केरी प्रोत्साहन भत्ता, मृगौला, मुटुरोगी रोगी उपचार सहायता, बालबालिकालाई विद्यालयमा आकर्षित गर्न विद्यालयमा दिवा खाजा कार्यक्रम सञ्चालन हुनेछ । गाउँपालिका भित्र रहेको सबै विद्यालयमा अंग्रेजी माध्यममा पढाइको व्यवस्था मिलाइनेछ भने कम्युटर कक्षालाई अनिवार्य बनाउने लक्ष्य रहेको छ ।
स्वच्छ पिउने पानीको सहजताको लागि एक घर एक धारा अवधारणा अनुसार लिफ्ट खोनपानी र ग्राभिटी खानेपानीका आयोजना सञ्चालन गरिने छन् । कृषि उत्पादकत्वमा वृद्धि गरि कृषकहरुलाई आत्मनिर्भर बनाउन स्थलगत सिंचाई, लिफ्ट सिंचाई, थोपा सिंचाई तथा भूमिगत सिंचाई आयोजनाहरु चलाउने छौं । आधुनिक कृषि औजार वितरण, प्लाष्टिक पोखरी निर्माण, टनेल निर्माण, उन्नत बीउबीजन वितरणको व्यवस्था मिलाउने छौं । गाउँपालिकालाई आलुमा आत्मनिर्भर बनाउन कार्यक्रम सञ्चालन गरिनेछ । दूध र मासुमा आत्मनिर्भर बनाउन अनुदान तथा उन्नत घाँस बीउ वितरण, पशु बीमा एवं आवश्यक प्राविधिक सहयोग कृषकहरुलाई पुरस्कार व्यवस्था गरिनेछ ।

SHARE