बाग्लुङ कालिका भगवती मन्दिरपरिसरमा वन्यजन्तु संरक्षण उद्यान बन्ने भएको छ । वन मन्त्रालयको सहयोगमा मन्दिर गुठी व्यवस्थापन समिति र बाग्लुङ नगरपालिकाको संयुक्त प्रयासमा उद्यान निर्माण सुरु भएको हो ।

मन्दिरपरिसरमा रहेको जंगलमा तारबार गर्ने, अग्निरेखा बनाउने र केही वन्यजन्तु संरक्षण गर्न थालिएको मन्दिर व्यवस्थापन समितिले जनाएको छ । वन्यजन्तु संरक्षणसँगै पर्यटकीय गन्तव्य बनाउन उद्यानको योजना ल्याइएको समितिका अध्यक्ष राजु खड्काले बताए ।

‘बाग्लुङ कालिका देशकै प्रसिद्ध शक्तिपीठ हो,’ अध्यक्ष खड्काले भने, ‘यस क्षेत्रका वन्यजन्तुलाई संरक्षण गर्न र धार्मिक पर्यटकलाई आकर्षित गर्नका लागि यो अवधारणा ल्याएका छौँ ।’ खड्काका अनुसार मन्दिरको चारैतिर फैलिएको १ सय ९० रोपनी जंगल क्षेत्रलाई वन्यजन्तु संरक्षण उद्यानका रूपमा विकास गरिनेछ ।

डँढेलोबाट जोगिन अग्निरेखा र तारजालीको काम वन मन्त्रालयको सहयोगमा अघि बढेको थियो । बाग्लुङ नगरपालिकाबाट वन्यजन्तु संरक्षणका लागि आर्थिक वर्ष ०७४÷०७५ मा १५ लाख विनियोजित भएको थियो । सोही रकमबाट तारजाली लगाउने काम भइरहेको छ । सबैतिर तारबार गर्न करिब चार करोड लाग्ने नगरपालिकाको अनुमान छ । यस वर्ष पनि वन्यजन्तु संरक्षण उद्यानका लागि बजेट छुट्याइने बाग्लुङ नगरपालिकाले जनाएको छ ।मन्दिरनजिकै तारबारले घेरेको अस्थायी संरचनामा दुईवटा मृग राखिसकिएको छ ।

पूर्वाधार तयारीसँगै अन्य वन्यजन्तुलाई पनि उद्यानमा राखिने नगरपालिकाले जनाएको छ । ‘मृगको गतिविधि, स्वभाव र खानपान बुझ्दै छौँ,’ अध्यक्ष खड्काले भने, ‘प्रारम्भिक अध्ययनअनुसार मन्दिरपरिसरको जंगलमा मृग, बाह्रसिंगे, बँदेल, चितुवालगायत वन्यजन्तु रहन सक्ने देखिएको छ ।’ जंगलपरिसरमा रहेका चरालाई पनि संरक्षित रूपमा राखिने नगरपालिकाको योजना छ । कालिज, मयूर कोइरलजस्ता दर्जनौँ प्रकारका चराजुरुंगी पनि उद्यानमा राखिने योजना छ । अगामी दसैंभित्र केही जनावर र चराजुरुंगी थप गरिने अध्यक्ष खड्काले जानकारी दिए ।

वन्यजन्तु बाहिरबाट ल्याउने तयारी
यस क्षेत्रमा नभएका वन्यजन्तु र चराजुरुंगी बाहिरबाट ल्याउने योजना रहेको अध्यक्ष खड्काले बताए । उनले भने,  ‘अहिले हामी जंगल क्षेत्रका रुख–बिरुवाबारे अध्ययन गरिरहेका छौँ । मन्दिर क्षेत्रको सबै जंगल वन्यजन्तु संरक्षणका लागि रहन्छ ।’ वन्यजन्तु संरक्षणका लागि वन क्षेत्रलाई चारैतिरबाट सुरक्षित घेराबार गरिने भएको छ ।

कालिका मन्दिरको वन क्षेत्र समुद्री सतहदेखि करिब एक हजार मिटरको उचाइमा छ । उद्यानको विस्तृत सर्वेक्षण गर्न नगरपालिकाले विज्ञ टोली पनि खटाएको छ । सोही टोलीले दिने प्रतिवेदनका आधारमा वन्यजन्तु संरक्षणको कामलाई थप अघि बढाइने अध्यक्ष खड्काले बताए । टोलीले वनजन्तु संरक्षका लागि चाहिने सबै पूर्वाधार र जनशक्ति व्यवस्थापनमा उचित सुभाब दिनेछ । प्रारम्भिक अध्ययनअनुसार मन्दिरपरिसरमा वन्यजन्तु उद्यान बनाउन उपयुक्त देखाएको छ ।