माथागढीको बजेट ३९ करोड
मुक्तिप्रसाद न्यौपाने
पाल्पा, असार २५
प्रदेश नं. ५ का सांसद वीरबहादुर रानाले राजनीतिलाई पेशा वा व्यवसायका रुपमा नलिन जनप्रतिनिधिहरुलाई आग्रह गरेका छन् । उनले राजनीति विशुद्ध अरुभन्दा फरक सामाजिक कार्य भएको बताएका हुन् ।
‘राजनीति पेशा वा व्यवसाय होईन, यो समर्पण हो, त्याग हो । समाजलाई परिवर्तन गर्न राज्य सञ्चालन गर्ने नीतिलाई शुद्ध बनाउनुपर्छ, नेपाली कांग्रेस जिल्ला सभापति समेत रहेका रानाले भने, ‘जनप्रतिनिधिहरुले विकास निर्माण तथा अन्य कार्यमा राजनीतिक रुपमा हेरे परिवर्तन सम्भव हुन सक्दैन ।’ माथागढी गाउँपालिकाको आगामी आर्थिक वर्ष २०७५÷०७६ को बजेट नीति तथा कार्यक्रम सार्वजनिकीकरण कार्यक्रममा गाउँपालिकाले स्थानीय राजपत्र समेत सार्वजनिक गरेको थियो । सोही अवसरमा रानाले पाँच वर्षमा स्थानीय तहहरुले जनताको जीवनस्तरमा सुधार ल्याउन नसके राजनीतिमाथि वितृष्णा अझ फैलिने बताए ।

माथागढी गाउँपालिका अध्यक्ष सन्तोषकुमार थापाले चालु आवको ३७ करोड ८३ लाख ५७ हजार बजेटमध्ये चालुतर्फ २० करोड ९५ लाख र पूँजीगततर्फ १६ करोड ८८ लाख रुपैयाँ खर्च भएको बताए ।

अध्यक्ष थापाले आगामी आव २०७५÷०७६ का लागि ३९ करोड ४१ लाख ७ हजारको अनुमानित बजेट तथा कार्यक्रम पेश गरे । ‘चालु आवमा गाउँपालिकामा १ किलोमिटर बाटो पिच भएको छ । ५० प्रतिशत अनुदानमा २९ वटा हाते मिनी ट्रिलर वितरण भयो । सुत्केरी २ सय ८० जना महिलालाई २ हजार ५ सयका दरले पोषणभत्ता र ८ सय अतिविपन्न घरपरिवारको स्वास्थ्य बिमा गरिएको छ,’ थापाले भने, ‘आगामी वर्ष कृषि तथा पशुपालनलाई ध्यानमा राखेर बजेट विनियोजन गरिएको छ ।’
स्थानीय राजपत्र प्रकाशित

माथागढी गाउँपालिकाले ‘स्थानीय राजपत्र’ प्रकाशित गरेको छ । राजपत्रमा माथागढी गाउँपालिकाको आर्थिक कार्यविधि नियमित तथा व्यवस्थित गर्न बनेको कानून, सहकारी ऐन, कृषि व्यावसाय प्रवद्र्धन ऐन, प्रशासकीय कार्यविधि, न्यायिक समिति ऐन, विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन गर्न बनेको विधेयक, गाउँ कार्यपालिका (कार्य विभाजन) नियमावली, गाउँ कार्यपालिका (कार्य सम्पादन) नियमावली रहेको छ । यस्तै गाउँ कार्यपालिकाको निर्णय वा आदेश र अधिकारपत्रको प्रमाणीकरण नियमावली, गाउँ कार्यपालिकाको बैठक सञ्चालन सम्बन्धि कार्यविधि र शिक्षा नियमावली राजपत्रमा रहेकाछन् ।

राजपत्रको माथिल्लो भागमा नेपाल सरकारको निशाना छाप, त्यसको तल माथागढी गाउँपालिका लेखिएको छ भने त्यसपछि स्थानीय राजपत्र लेखिएको छ । सो अवसरमा अध्यक्ष थापाले संस्थागत तथा नीतिगत प्रबन्ध नागरिकको जानकारीका लागि स्थानीय राजपत्र प्रकाशन गरिएको बताए । उनले कानूनी शासनलाई संस्थागत गर्न गाउँपालिकाकोे आधिकारिक प्रकाशनका रुपमा स्थानीय राजपत्र प्रकाशन गरिको बताए ।


राजपत्र सार्वजनिक गर्दै प्रदेश ५ का प्रदेशसभा सदस्य वीरबहादुर रानाले स्थानीय तथा अन्य सर्वसाधारणको जानकारीका लागि राजपत्र प्रकाशनमा आएको बताए । उनले भने, ‘राजपत्रमा व्यवस्था भए बमोजिम शिक्षा, सहकारी, स्वास्थ्य, लगायतका कार्यहरु सहज र व्यवस्थित रुपमा सञ्चालन हुनेछन् ।’