पाल्पा, असार १७
तानसेनको टुँडिखेलमै रसियामा जारी विश्वकप फुटबल हेर्ने अवसर पाल्पालीहरुलाई नेपाली सेनाले दिलाएको छ । जिल्लाको गोरखदल गणले तानसेन नगरपालिका वडा नं. ६ वडा कार्यालयको समन्वयमा विश्वकप ठूलो पर्दामा देखाएको हो ।
गोरखदल गणले प्रोजेक्टर मार्फत् खेल हेर्ने व्यवस्था गरेको हो । गोरखदल गणका गणपति प्रमुख सेनानी सुरज थापाले अनुशासित तथा मर्यादित रुपमा सबैले खेल हेर्न सकुन् भनेर पोजेक्टरको व्यवस्था गरिएको बताउनुभयो । गणका मेजर मनोज डंङगोलले विश्वकपले देश तथा विदेशको ध्यान आकर्षित भैरहेको समयमा युवा पुस्ताको मागलाई सम्बोधन गर्ने प्रयास गरिएको बताउनुभयो ।
तानसेन नगरपालिका वडा नं.६ का वडा अध्यक्ष सागरमान महर्जनले नेपाली सेनासँगको सहकार्यमा खुला ठाउँमा खेल देखाईएको बताए । पहिले चोकचोकमा ठूलो पर्दामा खेल देखाईन्थ्यो, जसले सवारी आवतजावतमा समस्या हुन्थ्यो । अहिले त्यस्तो छैन महर्जनले भन्नुभयो ।

विश्वकप फुटबल अन्तर्गत नक आउट चरणका खेलहरु हिजो (शनिबार) बाट सुरु भएकोछ । अन्तिम १६ मा आज पनि दुई खेल हुँदैछन् ।

पहिलो खेलमा साँझ पौने आठ बजे स्पेन र रसिया र दोस्रो खेलमा राति पौने १२ बजे क्रोएसिया र डेनमार्क भिड्दै छन् ।समूह ‘बी’ बाट स्पेन ३ खेलमा १ जित र दुई बराबर सहित ५ अंक जोड्दै समूह विजेता बनेको हो । पहिलो खेलमा स्पेनले पोर्चुगलसंग ३-३ को बराबरी, दोस्रो खेलमा इरानलाई १-० पराजित गरेको थियो भने तेस्रो खेलमा मोरक्कोसंग २-२ गोलको बराबरी खेलेको थियो । त्यस्तै आयोजक राष्ट्र रसिया उपविजेता बन्दै अन्तिम १६ मा पुगेको हो ।

उद्घाटन खेलमा ५-० को जित निकाल्दै प्रभावशाली प्रदर्शन गरेको रसियाले दोस्रो खेलमा इजिप्टलाई ३-१ले पराजित गरेको थियो भने समूह चरणको अन्तिम खेलमा उरुग्वेसंग ३-० ले स्तब्ध भएको थियो ।

त्यस्तै डेनमार्क ३ खेलमा १ जित र २ बराबर सहित ५ अंक जोड्दै समूहको उपविजेता बन्दै नक आउट चरणमा प्रवेश गरेको हो । डेनमार्कले पहिलो खेलमा पेरुलाई १-० ले पराजित गरेको थियो भने दोस्रो खेलमा अस्ट्रेलिया संग १-१ को बराबरी र तेस्रो खेलमा फ्रान्ससंग गोल रहित बराबरी खेलेको थियो । यसैगरी क्रोएसिया समूह ‘डी’ को विजेता रहंदै नक-आउट चरणमा प्रवेश गरेको हो ।

क्रोएसिया विरुद्ध डेनमार्क

क्रोएसियाले आफ्नो तीन खेलमा जित हात परेको थियो । नाइजेरियालाई २-० ले पराजित गरेको खेलमा क्रोएसियाले अर्जेन्टिनालाई ३-० र आइसल्याण्डलाई २-१ ले पराजित गरेको थियो ।

शनिबार भएको खेलमा भनेफ्रान्सले अर्जेन्टिनालाई ४-३ले पराजित गरेको थियो भने उरुग्वेले पोर्चुगललाई २-१ ले हरायो । यससंगै उरुग्वे र फ्रान्सले क्वाटरफाइनलमा एकआपसमा भेट पनि पक्का गरे ।