घर बनाउने पैसा छैन ? चिन्ता नलिनुहोस्, बोराबाटै बन्छ बलियो घर

नेपालमा २०७२ साल बैशाख १२ गते आएको शक्तिशाली भूकम्पले हजारौंको मृत्यु र हजारौं घाइते भए । त्यतिमात्रै होइन आम सर्वसाधारणको लाखौं घरमा आंशिक र पूर्ण क्षति हुन पुग्यो ।

सोही भूकम्पबाट क्षतिग्रस्त बनेका धेरै सर्वसाधारणका घर हालसम्म पनि बन्न नसक्दा हिउँदको चिसो र बर्षाको झरी टहरामुनी बिताउन बाध्य हुनुपरेको छ । सरकारले दिने ३ लाख रुपैयाँमा घर निर्माण हुन सकेन भने कतिपयले अझैसम्म पनि दोस्रो किस्ताको रकम पाउन सकेका छैनन् ।

कतिपय पीडितले आफैं घर निर्माण गरे पनि १८ हजार भन्दा बढि भूकम्प पीडितले यो रकम थपेर घर बनाउन सकेका छैनन् । यही समस्याकाबीचबाट किङ्गडम इन्जिनियरिङ एन्ड कन्स्ट्रक्सनले सस्तो र भूकम्प प्रतिरोधी घर निर्माणको उद्यम सञ्चालन गरिरहेको छ ।

कन्स्ट्रक्सनले अहिले सरकारको अनुदान रकम र भूकम्प पीडितको घर निर्माणको यहि बिचमा बोरावाट घर निर्माण व्यवसाय विस्तार गर्दैछ । नेपालमा यो प्रविधि नयाँ हो । विशेषतः कम्बोडिया, थाईल्यान्डजस्ता देशहरुमा चामलको बोरावाट घर निर्माण पद्धति निकै लोकप्रिय भइसकेको छ ।

नेपालमा भने शहरी विकास तथा भवन निर्माण विभागले यो घर निर्माणलाई स्विकृति दिएपछि भूकम्प पीडितको रोजाईमा यस्ता घर पर्न थालेको हो । यो प्रविधि नेपालमा भित्र्याउन प्रयासरत रहेकालाई भूकम्प पीडितको घर निर्माणको बाटोले थप सिढी चढाएको छ । किङ्गडम इन्जिनियरिङ एण्ड कन्स्ट्रक्सनले धादिङ, काभ्रे, भोजपुर लगायत जिल्लामा चामलको बोरा प्रयोग गरेर हालसम्म १ सय १४ वटा घर निर्माण गरिसकेको छ ।

किङ्गडम इन्जिनियरिङ एण्ड कन्स्ट्रक्सनका सञ्चालक शान्त भण्डारी भन्छन्, ‘काभ्रेमा बनायौं । त्यहाँ पनि जनताहरु निकै उत्साहित भएको पाएका छौं । कति जना यो प्रविधिवाट घर निर्माण गर्न तयार हुनुहुन्छ । कतिले गर्दै हुनुहुन्छ । भोजपुरमा लैजादा त्यहाँ पनि एकदमै राम्रो प्रतिक्रिया पायौं । स्थानीय निकायहरुले पनि यो प्रविधि यहाँको लागि ठीक छ भन्ने छ । स्थानीयलाई तालिम पनि दियौं । टिम तयार छ । अन्य घर बनाउने प्रक्रिया अघि बढिरहेको छ ।’

सरकारले उपलब्ध गराउने ३ लाख रुपैयाँकै परिधिमा रहेर यो घर निर्माण गर्दै किङ्गडम इन्जिनियरिङ एण्ड कन्स्ट्रक्सनले आफ्नो व्यवसाय विस्तार गर्दै छ । यो घर निर्माणका लागि बलौटे माटो बढी उपयुक्त हुन्छ । स्थानीयस्तरमै उपलब्ध माटो बोरामा राख्ने र बोरामाथि बोरा राख्दै बोरालाई काँडेतारले जोडेर यस्तो घर निर्माण गरिन्छ ।

यो घर निर्माण गर्न छिटो पनि हुन्छ । एउटा घर ७ देखि १० दिनमा निर्माण गर्न सकिन्छ । भूकम्प प्रभावित क्षेत्रमा भने उनीहरुले सरकारले तोकेको २ सय वर्ग फिटमा २ कोठाको घर ३ लाख रुपैयाँमै रहेर तयार गर्छन् । अन्य अवस्थामा भने एक परिवारका लागि आवश्यक ४ कोठाको घर बढीमा ५ लाखमा तयार हुन्छ ।

भण्डारी भन्छन्, ‘गाउँमा प्राय ढुङ्गा र माटोले घर बनाउन गरिन्छ । यो जडान भनेको सबैभन्दा कमजोर जडान हो । भुईचालोले सजिलै भत्काउने गर्छ । अहिले धेरै भत्किएका घरहरुपनि ढुङ्गा र माटोबाटै बनेका घरहरु छन् । भवन निर्माण विभागले यो प्रविधिलाई पास गरिसकेपछि हामीलाई यो विस्तार गर्नुपर्छ भन्ने लाग्यो । जो परिवारले घर निर्माण गर्न नसक्ने अवस्थामा छन् ३ लाख रुपैया लिएर । हामी उनीहरुका लागि मापदण्ड पुर्याएर काम गर्न सक्छौ ।’

यो काम गर्नका लागि कम्पनीले पनि सुरुमा विदेशबाट मजदुर ल्याएर काम गरेको हो । अहिले भने यसले आफ्नै जनशक्ति उत्पादन गरिसकेको छ । आफ्ना केही प्राविधिक पठाएर स्थानीय स्रोत साधन र जनशक्ति प्रयोग गरेरै उसले काम गर्छ । उसले यस्तो एउटा घर तयार गरेबापत ३० देखि ५० हजार रुपैयाँसम्म कमाई पनि रहेको छ । बोराबाट तयार गरिने यस्ता घर निर्माणको डिमाण्ड अहिले भूकम्प प्रभावित क्षेत्रवाट मात्र नभई कम लगानीबाट घर निर्माण गर्नेहरुबाट पनि आउन थालेको छ ।

उनी भन्छन्, ‘अहिले हामीले के सोचेका थियौं भने भूकम्प पीडितबाट मात्र माग आउँछ । जसले कम रकममा घर बनाउन चाहिरहनुभएको छ उहाँहरुको पनि माग आइरहेको छ । त्यसकारण पनि हामीलाई नेपालीहरुले यो प्रविधि मन पराउनुहुन्छ भन्ने लागेको छ ।’

घर निर्माणमा उसले आफ्ना केहि दक्ष जनशक्ति बाहेक स्थानीय स्तरकै व्यक्तिहरुका लागि रोजगारी सिर्जना गरेको छ । निर्माणमा पनि स्थानीयस्तरकै स्रोत साधन प्रयोग भएको छ । यो घर भूकम्प प्रतिरोधी मात्र छैन, जाडोमा तातो र गर्मीमा चिसो हुने वातावरण मैत्री पनि छ । यो प्रविधिमा कसैले उद्यम नै गर्न चाहे भने त्यति ठूलो लगानीको आवश्यकता पनि पर्दैन । बुझेर कसैले उद्यम गर्न चाहे सानो लगानीवाट घर निर्माणको काम गर्न सक्छ ।

SHARE