काठमाडौं : नक्कली नोट छापेको आरोपमा पक्राउ परेका ‘लुट’ फिल्मका निर्माता माधव वाग्लेसहित तीनजनालाई जिल्ला अदालत काठमाडौंले जेल चलान गरेको छ। शिवप्रसाद खनालको इजलासले बुधबार वाग्लेसँगै सुदीप घिसिङ र महेन्द्र बोगटीलाई पुर्पक्षका लागि जेल चलानको आदेश दिएको हो।

काठमाडौं जिल्ला अदालत मुद्दा फाटका शाखा अधिकृत टीकासिंह खत्रीका अनुसार सोही मुद्दामा पक्राउ परेका प्रकाश सुवेदी र विवेक नापित एक–एक लाख धरौटीमा छुटेका छन् भने साजन भुलुन साधारण तारिखमा छुटेका छन्।

प्रहरीले गत जेठ २ गते दुई करोड ५० लाख नक्ककली नोटसहित पक्राउ गरेको थियो।  वाग्लेले नयाँ चलचित्र ‘चङ्गाचेट’ निर्माणको खर्च जुटाउनका लागि नक्कली नोट छापेको बयान दिएका थिए। नक्कली नोट कारोबार गरेको खुलेपछि काठमाडौं प्रहरी परिसरले अनुसन्धान अगाडि बढाएको थियो।