काठमाण्डाैं, वैशाख २५

स्थानीय तहको चुनाव नजिकिएकाे छ । भोट हाल्ने सही, भोट बदर हुने अवस्था, कुन पदका लागि मतपत्रको कहाँनेर स्वस्तिक छाप लगाउने लगायतका कुरा सिकाउन निर्वाचन आयोगले मतदाता शिक्षा कार्यक्रम चलाइरहेको छ ।

गाउँपालिका वा नगरपालिका प्रमुख, उपप्रमुख, वडाध्यक्ष, महिला सदस्य, दलित महिला सदस्य दुईजना खुला वडासदस्यसहित ७ जनालाई भोट हाल्ने विषय मतदाताले जान्नैपर्छ । तर केही ठाउँमा मतदाता शिक्षा कार्यकर्ता पुगेकै छैनन् भने पुगेका केही ठाउँका मतदाता अझै पनि कसरी भोट हाल्ने भनेर अलमलमा छन् ।

भोट हाल्ने तरिका, भोट सदर र बदर हुने अवस्थाकाबारेमा अर्जुन पोख्रेलले निर्वाचन आयोगका सहसचिव तथा मतदाता शिक्षा कार्यक्रमका प्रमुख नवराज ढकालसँग कुराकानी गर्नुभएको छ ।

  • मतदाताहरु भोट हाल्न उत्साहित भएर बसेका छन्, तर अहिलेसम्म पनि भोट हाल्ने तरीकाबारे बारेमा भने अन्योल नै छ । भोट हाल्ने तरीका बताइदिनुहोस न ।

तपाईंहरुलाई भोट हाल्ने तरीका सिकाउन, निर्वाचन आयोगले मतदाता शिक्षा कार्यकर्ता हरेक गाउँगाउँमा पठाएको छ । उनीहरुले नै भोट हाल्ने तरिका, उम्मेदवारहरुको बारेमा जानकारी, सदर बदर लगायतका कुरा सिकाइरहेका छन् । तपाइँको घरमा उनीहरु आइसके होलान , नआएको भए पनि अब आउँछन् ।

अहिलेको चुनावमा ७ जना जनप्रतिनिधीको लागि ७ ठाउँमा भोट हाल्नुपर्छ । त्यसैअनुसार पहिलो खण्डमा पहिलो, दोस्रो, तेस्रो गरेर लहरै राजनीतिक दलहरुका चुनाव चिन्ह राखिएका छन् । यस्तै दोस्रो खण्डमा स्वतन्त्र उम्मेदवारहरुका चिन्ह राखिएका छन् ।

हरेक लहरमा आफुलाई मन परेको उम्मेदवारको लागि दिइएको चुनाव चिन्हमा मतदान गर्नुपर्ने हुन्छ । गाउँपालिका वा नगरपालिकाका अध्यक्ष वा प्रमुखकोे लागि एक ठाउँमा, उपप्रमुखको लागि १ ठाउँमा, वडाध्यक्षको लागि एकठाउँमा, महिला वडासदस्यको लागि एक ठाउँमा, दलित महिला सदस्यको लागि एक ठाउँमा र २ जना खुला वडा सदस्यका लागि २ ठाउँमा मत दिनुपर्छ ।

  • तर २ जना खुला वडा सदस्यको लागि छैठौं नम्बरको कोठाभित्र एउटा चुनाव चिन्ह छ भने सातौं नम्बरको कोठामा किन एउटै २ वटा चुनाव चिन्ह राखिएको हो त ?

कोही पनि झुक्किनु पर्दैन, छैठौंमा एउटा र सातौं नम्बरका कोठामा उस्तै २ वटा चुनाव चिन्ह भएपनि एउटै उम्मेद्धारको हो । खला वडा सदस्यको लागि छैंठौं कोठामा एउटा र सातौं कोठामा एउटा छाप लगाउने हो । सातौं नंबरको कोठामा एकै प्रकारका २ वटा चिन्ह भए भन्दैमा झुक्किनुपर्दैन । बरु मतदाता नझुक्किउन भनेरै यस्तो गरिएको हो ।

उदाहरणको लागि कुनै एउटा राजनीतिक दलले २ वटा खुला वडा सदस्यमा रामबहादुरलाई र हरि बहादुरलाई उठाएको छ । राम बहादुर र हरि बहादुरले चुनाव प्रचार गर्दा एउटै चुनावी चिन्ह लिएर प्रचार गर्छन् । यदि हामीले सातौं नंबरमा पनि छैंठौंको जस्तो एउटै मात्रै चिन्ह राखेको भएमा मतदाता झुक्किने थिए । तर एउटै पार्टीका भएपनि सातौं नंबरमा २ वटा उस्तै चिन्ह राख्दा मतदाता अलमलमा पर्दैनन् । चुनावी प्रचार प्रसार गर्दा एउटै पार्टीका वडा सदस्यका उम्मेदवारले पनि २ वटा रुख, २ वटा सूर्य वा २ वटा हँसिया हथौडा भएको चुनाव चिन्ह रामबहादुरको र एउटा मात्रै चिन्ह भएको हरिबहादुरको भनेर प्रचार गर्छन । सजिलोको लागि हामीले एउटै पार्टीका वडा सदस्यका उम्मेद्वारका एकै प्रकारका २ वटा चिन्ह राखिदिएका हौं ।

  • अब मत बदर हुने अवस्थाको कुरा गरौं । कस्तो अवस्थामा मत बदर हुन्छ त ?

मत कसरी दिनुपर्छ र के गर्दा मत बदर हुँदैन भन्ने चेतना फैलाउन निर्वाचन आयोगले मतदाता शिक्षा कार्यकर्ता परिचालन गरिएको छ । उहाँहरुको साथमा नमूना मतपत्र छ, अन्योल भएमा उहाँहरुलाई पनि सोध्न सकिन्छ । यस्तो अवस्थामा मत बदर हुन्छ :

  • सम्बन्धित मतदान अधिकृतको दस्तखत नभएको मतपत्रबाट मतदान गरेमा,
  • औंठा छाप लगाई वा तोकिएको छाप बाहेक अरु चिन्ह वा छाप लगाइ मत दिएमा,
  • मतसंकेत चिन्ह नबुझिने गरि लतपतिएको वा च्यातिएमा,
  • उम्मेद्धारको निर्वाचन चिन्ह रहेको कोठामा मत संकेत नगरी अन्यत्र मत संकेत गरेमा,
  • उम्मेदवार नरहेको निर्वाचन चिन्हमा मात्र मत संकेत गरेमा
  • निर्वाचन गर्नुपर्ने संख्याभन्दा बढी उम्मेदवारको निर्वाचन चिन्ह भएका कोठामा छुट्टाछुट्टै मत संकेत गरेमा,
  • एक भन्दा बढि उम्मेद्वारको निर्वाचन चिन्ह भएको कोठामा मत संकेतको चिन्ह पर्नेगरी मत संकेत गरेमा,
  • मत संकेत नगरी मतदान अधिकृतलाई फिर्ता दिएको अवस्थामा,
  • कुनै पनि उम्मेदवारको निर्वाचन चिन्हमा मत संकेत नगरेमा,
  • निर्वाचन आयोगद्वारा निर्धारित मतपत्र बाहेक अन्य मतपत्रद्धारा मतदान गरेमा,
  • मतपेटिका भन्दा बाहिर राखेमा,
  • र जाली मतपत्र वा आयोगले बदर हुने भनी तोकेको मतपत्र फेला परेमा ।
  • पहिले भन्दा अहिले मतपत्र ठुला छन्, भोट हालेपछि पनि मतदाताले केही सजगता अपनाउनुपर्छ कि ?

ठाउँ अनुसार फरक फरक किसिमका मत्रपत्रको व्यावस्था गरिएको छ । ७५ जिल्लाको लागि ७५ किसिमका मतपत्रको व्यावस्था गरिएको छ । मतदाताको हातमा आएको मतपत्र ठूलो भएको अवस्थामा सजगता अपनाउनुपर्छ । मतसंकेत वा स्वस्तिक चिन्ह लगाइसकेपछि तत्कालै मतपत्र पट्याउनु हुँदैन । त्यसरी मतपत्र पट्याउँदा एक ठाउँमा लागेको मसी अन्यत्र लाग्न सक्छ  । यसरी मसी लतपत भएमा मत बदर हुन सक्छ । त्यस्तै मतपत्र पट्याउँदा पनि ध्यान दिनुपर्छ । ढंग नपु¥याइ मतपत्र पट्याएमा च्यातिन सक्छ ।

  • अन्त्यमा मतदातालाई केही भन्नुहुन्छ कि ?

अहिलेको चुनाव कुनै पार्टीका उम्मेद्वारलाई जिताउने मात्रै नभइ गाउँगाउँमा पुगेको सिंहदरबारको अधिकारलाई कार्यान्वयन गराउने व्यक्ति चुन्ने अवसर पनि हो । त्यसैले सबै मतदाताले विचार गरेर मात्र मत दिनुपर्छ । शहरमा रहेका र विदेशमा रहेका मतदाता पनि सकिन्छ भने गाउँ फर्केर मतदानमा सहभागी हुनुपर्छ । उज्यालाे