रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले सरकारबाट बाहिरिने निर्णय गरेको छ।

यो दलले आफ्ना मन्त्रीहरूलाई सरकारबाट फिर्ता बोलाए पनि सरकारलाई दिएको समर्थन कायमै राख्ने निर्णय गरेको छ।

पार्टीको बैठकपछि आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष लामिछानेले सरकारमा रहेका मन्त्रीहरूले आइतवार नै राजीनामा दिने बताए।

राष्ट्रिय स्वतन्त्र पार्टीले सरकारमा तीन मन्त्री र एक राज्यमन्त्री पाएको थियो। अहिले सरकारमा यो पार्टीका दुई मन्त्री र एक राज्यमन्त्री छन्।

गत असारमा घोषणा भएको यो पार्टीबाट श्रम तथा रोजगार मन्त्रीमा डोल प्रसाद अर्याल र शिक्षा मन्त्रीमा शिशिर खनाल छन्।

यो दलबाट तोसिमा कार्की स्वास्थ्य राज्यमन्त्री छिन्।

यसअघि उपप्रधानमन्त्री तथा गृहमन्त्री बनेका पार्टी सभापति रवि लामिछानेले सर्वोच्च अदालतले नागरिकताकको विषयमा प्रश्न उठाउँदै सांसद पद खारेज गरिदिएपछि पदबाट राजीनामा दिएका थिए।

यो दलले यसअघिनै सरकारबाट बाहिरिने तयारी गरे पनि प्रधानमन्त्री पुष्पकमल दाहाल र गठबन्धनको सबैभन्दा ठूलो दल नेकपा एमालेका अध्यक्ष केपी ओलीको आग्रहपछि थप दुई दिन पर्खने बताएको थियो।

पुनः शनिवार पार्टी कार्यालय बसुन्धरामा बसेको पार्टीको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकमा यसअघि गठबन्धनभित्र भागबन्डामा स्वतन्त्र पार्टीको भागमा परेको गृह मन्त्रालय पार्टीलाई नदिइएपछि उत्पन्न परिस्थितिबारे छलफल भएको बताइएको छ।

आइतवार पार्टी बैठकअघि रवि लामिछानेले प्रधानमन्त्री निवास बालुवाटार पुगेर प्रचण्डसँग भेट गरेका थिए। गृह मन्त्रीबाट हटेपछि लामिछानेले प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीसँग छलफलहरू गरेका विवरण आएका थिए।

पत्रकार र मिडिया सञ्चालकप्रति खनिए लामिछाने

रवि लामिछाने

तस्बिर स्रोत,RSP MEDIA

पत्रकार सम्मेलनमा लामिछानेले अमेरिकाबाट आफ्नो स्वदेश फिर्तीको कहानी सुनाए।

आफू सधैँ घेराबन्दीमा पर्दै आएको गुनासो गर्दै लामिछानेले अमेरिका जानुअघि नेपाल टेलिभिजनमा कार्यक्रम चलाउँदा पनि आफूलाई असहयोग गरिएको बताए।

सबैभन्दा लामो अन्तर्वार्ता गरेर विश्व कीर्तिमान राख्दै आफू नेपाल फर्किएको उनले बताए। विश्वका सञ्चार माध्यमले आफ्नो कीर्तिमानलाई स्थान दिए पनि नेपाली सञ्चार माध्यमले स्थान नदिएको उनको गुनासो थियो।

उनले आफ्नो नागरिकता र राहदानीको मुद्दामा पनि नेपाली सञ्चार माध्यमले आफूलाई “प्रहार” गरेको टिप्पणी गरे।

“मैले म आफैँ गृहमन्त्री हुन्छु भनेर भनेको कतै सुन्नुभएको छ? हाम्रो एक मात्रै कुरा हाम्रो भागमा परेको गृह मन्त्रालय पाउनुपर्छ भन्ने हो,” उनले भने।

उनले नेपाली सञ्चार माध्यमका सञ्चालक र सम्पादकहरूलाई समेत अदालतमाथि प्रभाव पारेको आरोप लगाएका छन्।

“देश चलाउने भए आउनुस् चितवन क्षेत्र नम्बर २ मा म सँग चुनाव लड्न,” पत्रकार र सञ्चालकलाई चुनौती दिँदै उनले भने।

आफू कुनै सञ्चार माध्यमसँग नडराउने उनको भनाई थियो।

“आम अभ्यासमा चलिआएको” भएर आफूले पनि नेपाली नागरिकता फिर्ता नगरेको उनको दाबी छ।

आफूले अमेरिकी नागरिकता फिर्ता गरेपछि मात्रै नेपाली राहदानी प्रयोग गरेको भन्दै लामिछानेले उक्त विषयको मुद्दा आफूले सामना गर्ने बताएका छन्।

प्रधानमन्त्रीको अडान

स्वतन्त्र पार्टीको बैठक

तस्बिर स्रोत,RSP MEDIA

अमेरिकी नागरिकता त्याग गरेको बताएका लामिछानेले नेपाली नागरिकता बिउँताउने प्रक्रिया पूरा नगरेको ठहर गर्दै सर्वोच्च अदालतले आफ्नो सांसद पद खारेज गरिदिएसँगै उनले मन्त्रीबाट पनि राजीनामा दिए।

लामिछानेले राजीनामा दिएपछि प्रचण्डले गृह मन्त्रालय अहिले आफैँसँग राखेका छन्।

नेपाली नागरिकता सक्रिय बनाएपछि पुनः गृहमन्त्री बन्न प्रयास गरे पनि प्रधानमन्त्रीले उनलाई गृहमन्त्री बनाउन अस्वीकार गरेका थिए। बिबिसिनेपाली सेवाबाट

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय