नियन्त्रणका लागि सरकार गुहार्दै स्थानीय
मुक्तिप्रसाद न्यौपाने
पाल्पा, जेठ ७
बगनासकाली गाउँपालिका–८, बराङ्दीमा बाँदरको टोकाईबाट एक महिला घाईते भएकी छिन् । ४५ बर्षीय देवीसरा रानालाई घरमै बसीरहेको समयमा बाँदरले टोकेको हो ।
आफ्नै घरमा बसीरहेकी रानाको बच्चालाई बाँदरले आक्रमण गर्ने खोजेको थियो । बच्चा नजिक बाँदरलाई देख्नासाथ बाँदरलाई लखेट्न खोज्दा रानाको दाईने हातमा बाँदरले टोकेर घाईते बनाएको हो । बाँदरको आक्रमणबाट राना बेहोस् बनेकी थिईन् । उनको युनाईटेड मिसन अस्पतालमा उपचार भैरहेको छ ।
बगनासकाली गाउँपलिका बाँदर नियन्त्रण समितिका संयोजक गणेशप्रसाद बस्यालले पछिल्लो समय बाँदर आतंकले बगनासकालीका जनताको दैनिकी कष्टकर बन्दै गएको बताए । उनी भन्छन्, ‘यहाँका जनतालाई खेतीपाती जोगाउन अप्ठेरो भएको छ । जुनसुकै बालीनाली पनि भाँच्ने, खाने, बिगार्ने गरेको छ । हामी यसको समाधानको खोजी गर्दै छौं ।’ गाउँपालिका अध्यक्ष कृष्णप्रसाद बस्यालले बाँदर नियन्त्रणका लागि पाँच लाख रुपैयाँ विनियोजन गरिएता पनि यसको उचित समाधानको उपाय नभेटिएको बताए । ‘हेरालु राखेर पनि सम्भव हुने देखिएन । केही विशेषज्ञसँग पनि छलफल गरिरहेका छौं । अब हामी केन्द्र र स्थानीय सरकार गुहार्नुको विकल्प देखेका छैनौं,’–बस्यालले भने, ‘घाईते रानाको सम्पूर्ण उपचारको खर्च गाउँपालिकाले व्यहोर्दछ ।’