नेपाल र भारतले शुक्रबार भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको राजकीय नेपाल भ्रमणको औपचारिक घोषणा गरेका छन् । मोदी भारतको पटना हुँदै २८ वैशाखमा जनकपुर ओर्लिने छन् ।

प्रधानमन्त्री केपी ओलीको निमन्त्रणामा नेपाल भ्रमण गर्न लागेका मोदीसँग एक मन्त्री, राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभाल, विदेश सचिव विजय केशव गोखले, विदेश मन्त्रालयको नर्थ डिभिजन प्रमुख सुधाकर दलेलालगायतका अधिकारी साथमा हुनेछन् ।

यस्तो छ भ्रमण कार्यक्रम

-२८ वैशाख बिहान मुजफ्फरपुरबाट हेलिकोप्टरमा जनकपुर पुग्ने मोदीलाई प्रधानमन्त्री ओलीले जानकी मन्दिरमा स्वागत गर्नेछन् । मन्दिरमा विशेष पूजाअर्चनापछि मोदीको सम्मानमा जनकपुर उपमहानगरपालिकाले नागरिक सम्मान गर्नेछ, मोदीले मुख्य वक्ताका रूपमा नेपाल–भारत सम्बन्धबारे सम्बोधन गर्नेछन् । प्रधानमन्त्री ओलीले पनि सम्बोधन गर्नेछन् ।

-२८ वैशाखमै काठमाडौं पुगेपछि मोदीलाई टुँडिखेलस्थित सैनिक मञ्चमा नेपाली सेनाले गार्ड अफ अनर दिनेछ । त्यसपछि राष्ट्रपति भवन शीतलनिवासमा राष्ट्रपति विद्यादेवी भण्डारी र उपराष्ट्रपति नन्दबहादुर पुनसँग बेग्लाबेग्लै भेटवार्ता गर्नेछन् । सोही दिन परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले मोदीसँग शिष्टाचार भेटवार्ता गर्नेछन् ।

-२८ वैशाखमै दुवै प्रधानमन्त्रीबीच औपचारिक प्रतिनिधिमण्डलस्तरीय भेटवार्ता हुनेछ । काठमाडौंबाट स्विच दबाएर ओली र मोदीले अरुण तेस्रो जलविद्युत् आयोजनाको शिलान्यास गर्नेछन् ।

-२९ वैशाखमा मोदी मुक्तिनाथ दर्शनका लागि जानेछन् । त्यहाँबाट फर्केपछि काठमाडौं महानगरपालिकाले नागरिक अभिनन्दन गर्नेछ, जहाँ मोदीले सम्बोधन गर्नेछन् ।

-२९ वैशाखमा संयुक्त पत्रकार सम्मेलन गरी दुई प्रधानमन्त्रीले सम्बोधन गर्नेछन् ।

-मोदीले कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी अध्यक्ष प्रचण्ड, मधेसकेन्द्रित दलका शीर्ष नेतासँग बेग्लाबेग्लै भेटवार्ता गर्नेछन् ।