पाल्पा, वैशाख १०
कक्षा ११ र १२ मा अध्ययनरत वेद युवा समूहले बगनाशकाली गाउँपालिका–८, बराङ्दीको न्यौपाने डाँडामा सामुहिक अदुवा खेती सुरु गरेका छन् । गाउँपालिकाको सहयोग र इन्सेकको पहलमा तीन रोपनी बारी भाडामा लिएर युवाहरु अदुवा खेतीमा जुटेका हुन् ।
गाउँपालिकाका अध्यक्ष कृष्णप्रसाद बस्यालले युवाहरुले सामुहिक उद्यमशीलताको भावनाले खेती गर्न अग्रसर भएका कारण अदूवा रोपणमा सहयोग गरेको बताए । उनी भन्छन्, ‘दिनानुदिन गाउँघर रित्तिएर युवा वैदेशीक रोजगारमा पलायन भैरहेको समयमा युवाहरु एकजुट भएर सामुहिक कार्यमा लागेका छन् । यसले स्वरोजगारी सिर्जनासँगै रोजगार प्रवद्र्धनमा टेवा पुग्नेछ ।’
गाउँपालिका कृषि शाखा प्रमुख सन्तोष जिसीले कृषिबाट समुदाय स्तरको आय आर्जनमा बृद्धि हुने बताए । उनले उक्त अदुवा रोपण स्थललाई एउटा नमुना पकेट क्षेत्रको रुपमा अगाडि बढाउने गरि योजना बनाईएको बताए । युवाहरुले अदुवा रोपणसँगै अदुवाका लागि आवश्यक छापो वयवस्थापन समेत गरेका छन् । बेद युवा समूहका अध्यक्ष बरुण बस्यालले युवाहरुले पनि समुदाय स्तरमा रचनात्मक कार्य गरेर देखाउन सक्छन् भन्ने नमुना प्रदर्शनीका लागि युवा समूहले यस प्रकारको अभियान सुरु गरेको बताए । कक्षा ११, १२ मा पढ्ने युवाहरुले स्थानीय सरकारसँगको समन्वयमा यसरी सामुहिक खेती गरिएको र यसबाट प्राप्त आम्दानीले युवा समूहले बिभिन्न रचनात्मक अभियानहरु सञ्चालन गर्ने बताए । गाउँपालिकाले अदूवा खेती तथा अन्य कार्यक्रमका लागि युवाहरुलाई ७५ उपलब्ध गराएको थियो ।
इन्सेकका जिल्ला प्रतिनिधी यज्ञमूर्ती तिमिल्सेनाले युवाहरुलाई समूहमा आवद्द गराएर रचनात्मक कामहरु गरिएको बताए । उनी भन्छन्, विद्यालयमा अध्ययन गर्ने युवाहरुले स्वरोजगारी सिर्जना गर्ने काम गरेर समुदायले आफूहरुलाई हेर्ने दृष्टिकोणमा परिवर्तन गराएका छन् । युवा समूहका १५ जना छात्रछात्रा आवद्ध छन् ।