मनाेज पुनको डायरीमा ४ सय उद्योगीको नाम, सहयाेगिकाे सम्पत्ति छानविन गरिने

बुटवल, ८ वैशाख– प्रहरीले इन्काउन्टरमा मारिएका गुण्डा नाइके मनोज पुनको अपराधमा संलग्नहरूको सम्पत्ति छानबिन गर्ने तयारी थालेको छ । जिल्ला प्रहरी कार्यालय रूपन्देही प्रमुख श्याम ज्ञवालीले मनोज पुनसँग संगठित अपराधमा जोडिएर पक्राउ परेका सबैको सम्पत्ति र बैंक खाताको छानबिन गरिने बताएका छन् ।

शुक्रवार बिहान मनोज पुनको विशेष सहयोगी रहेको आरोपमा पक्राउ परेको युवा संघका केन्द्रीय सदस्य सुजु मल्ललाई सार्वजनिक गर्दै ज्ञवालीले मल्ल सहित हालसम्म पक्राउ परेको सबैंका धानमाल र बैंक खाताको छानबिन थालिने जानकारी दिए ।

‘उद्योगीलाई धम्काउने, फिरौती माग्ने र मनोजलाई पठाउने मध्ये सुजु मल्ल सुरूदेखि नैं लागेको रहेछ,’ ज्ञवालीले भने, ‘यसको कुन–कुन बैंकमा खाता छ । सम्पत्ति कति छ । कति कुन–कुन व्यक्तिको नाममा पठाएको रहेछ । सबै खोज्दै छौं ।’  उनले थपे, ‘पक्राउ परेकाहरू फिरौती अशुल गर्ने, कमिशन खाने र बाँकी पैसा मनोजलाई पठाउने गरेको खुलेको छ । अब सबैको सम्पत्ति छानबिन हुन्छ ।’

को–को परे पक्राउ ?

प्रहरीले बुटवल–७ शिवनगरका उत्तम आचार्य, देवदह–५ का तुलसी न्यौपाने, देवदह–४ का लेखनाथ न्यौपाने, देवदह–६ का रोशन खड्का र स्याङ्जा पुतलीबजार–४ घर भई हाल बुटवल–४ बस्ने हरिप्रसाद श्रेष्ठलाई पनि पक्राउ गरिसकेको छ । लेखनाथ न्यौपाने माओवादीका केन्द्रीय नेता हुन् भने आचार्य युवा संघका पूर्व जिल्ला नेता हुन् ।

युवा संघका अध्यक्ष दुर्गा तिवारीको हत्यामा संलग्न श्यामबहादुर गोङबे, शालिकराम चापागाई, पारस भट्टराई लगायत १८ जना जेल चलान भइसकेका छन् ।

मनोज र उनका विशेष सहयोगी सोम आलेको प्रहरी इन्काउन्टरमा फागुन ९ गते मृत्यु भएको थियो । मनोज मारिएसँगै उनका सहयोगीहरूलाई प्रहरीले धामधम पक्राउ गरी उनीहरुको सम्पत्ति छानबिन गर्ने थालेको छ ।

पुनको डायरीमा ४ सय उद्योगीको नाम

इन्टकाउन्टरमा मारिएका पुनको डायरीमा ४०० जना उद्योगी व्यावसायीको नाम भेटिएको प्रहरीले जनाएको छ । इन्काउन्टरमा मृत्यु भएपछि प्रहरीले उनको डायरी, ल्यापटप र मोबाइल बरामद गरेको थियो ।

प्रहरी प्रमुख ज्ञवालीले पुनको साथबाट भेटिएको डायरीमा चार सय उद्योगहरूको ठेगाना, नाम, उद्योग र नम्बर उल्लेख गरिएको बताए ।

‘पूर्वदेखि पश्चिम सम्मका उद्योगी व्यसायीको नाम डायरीमा उल्लेख छ,’ ज्ञवालीले भने । उनीहरुमध्ये कतिसँग मागेको थियो भन्ने खुलेको छैन । मनोजको अपराधले धेरै व्यक्ति पीडित थिए भन्ने पुष्टि पनि भएको छ ।

पुनका विशेष सहयोगी युवा संघका नेता मल्ल सार्वजनिक

मनोज पुनलाई अपराधमा सघाएको अभियोगमा काठमाडौंमा पक्राउ परेका सुजु मल्ललाई प्रहरीले शुक्रबार बुटवलमा सार्वजनिक गरेको छ । मल्ल युवा संघका अध्यक्ष दुर्गा तिवारी र व्यवसायी बलु पौडेलको घटनाको सम्पूर्ण विवरण मनोजलाई पुर्याउने गरेको अनुसन्धानबाट खुलेको ज्ञवालीले जानकारी दिए ।

दिउँसो आन्दोलनमा उत्रिएर चर्काे भाषण गर्ने उनी आन्दोलन टुंग्याउनका लागि दल र प्रहरी प्रशासनसँग हुने बैठकहरुमा पनि सहभागी हुने र त्यहाँका सूचना मनोजलाई जानकारी गराउने गरेको प्रमाण फेला परेको प्रहरी प्रमुख ज्ञवालीले बताए ।

पुनको अपराधिक यात्रामा एक भारतीय नागरिक जोगेन्द्र सिंह, बिट्टु भनिने केही व्यक्तिहरु अझै फरार रहेको र उनीहरुको खोजतलास भैरहेको प्रहरीले जनाएको छ ।

७ जना अझै अनुसन्धानको घेरामा

प्रहरीले अझै सात जना अनुसन्धानको घेरामा रहेको बताएको छ । एसपी ज्ञवालीले अझै सात जना छिट्टै पक्राउ पर्ने बताए ।

SHARE