मुक्तिप्रसाद न्यौपाने
पाल्पा, वैशाख २
तानसेन नगर सरकारले जनतालाई एक सय रुपैयाँ अनुदान दिएको छ । नगरपालिकाले खानेपानी उपभोक्ता समितिलाई २५ लाख रुपैयाँ अनुदान दिएर एक सय रुपैयाँ मूल्य घटाउने समझदारीमा हस्ताक्षर गरेको हो ।
आईतबार भएको सम्झौतामा नगरपालिकाले एक मुष्ठ २५ लाख रुपैयाँ प्रदान गर्ने र ग्राहस्थ ग्राहक सदस्यलाई एक सय रुपैयाँ कम गर्ने उल्लेख छ । पत्रकार सम्मेलन गरेर सम्झौतामा हस्ताक्षर गर्दै तानसेन नगरपालिकाका प्रमुख अशोककुमार शाहीले जनताको आवश्यकता अनुसार महशुल सस्तो गराउने गरि सहमति गरिएको बताए । ‘तानसेनमा खानेपानी वितरणमा धेरै समस्या छन् । समिति घाटामा सञ्चालन भैरहेको अवस्थामा जनतालाई केही राहत दिन यस्तो निर्णय गरिएको छ । ग्राहकले अब सेवा शुल्क एक सय रुपैयाँ कम तिरे हुन्छ,’–शाहीले भने, ‘स्थानीय सरकारले जनताको पक्षमा जति भए पनि काम गर्नुपर्छ । एउटा सन्देशको सुरुवात हो ।’
तानसेन खानेपानी उपभोक्ता समितिका अध्यक्ष चकोरमान शाक्यले प्रत्येक महिना सात लाख घाटा व्यहोर्दै आएको समितिले यो अनुदानबाट केही राहत नहुने भएता पनि नगरपालिकाको आग्रहलाई स्वीकार गरिएको छ । उनी भन्छन्, दुई हजार ६ सय ग्राहस्थ सदस्य रहेकोमा २०६७÷०६८ मा माग भई आएका धारा वितरण भैरहेको छ । अब पैतिस सय सदस्य पुग्छन् । हामीलाई झण्डै साढे तीन लाख थप व्ययभार थपिनेछ ।’
पत्रकार महासंघका अध्यक्ष राजेशकुमार अर्यालले पानी वितरणको पम्प सुधार तथा मर्मतमा खर्च गरि पानीको आवश्यकता पुरा गर्न सुझाए । सचिव किरण कौशलले नगरपालिकाका बासिन्दालाई सय रुपैयाँ कम गर्नुभन्दा पानी वितरण प्रणाली व्यवस्थापन तथा स्रोतमा खर्च गर्दा उपयुक्त हुने बताए । तानसेनमा झण्डै दैनिक १५ लाख पानीको आवश्यकता हुँदै आएकोमा ७ लाख लिटर पानीमात्र आपूर्ती हुँदै आएको छ ।
तानसेनका उपभोक्ताले १ हजार लिटरको १ सय ३० रुपैयाँ तिर्दै आएकोमा अब ३० रुपैयाँमात्र तिरे पुग्ने समितिले जनाएको छ । १० हजार लिटर पानी उपभोग गर्ने उपभोक्ताले अब तीन सय रुपैयाँमात्र तिरे पुग्नेछ । तानसेनमा ८४ प्रतिशत १० हजार लिटर उपभोग गर्ने ग्राहक रहेका छन् ।
कालीगण्डकीको पानी एक वर्षमा
कालीगण्डकीबाट लिफ्ट गरेर तानसेनमा आगामी एक वर्ष भित्र खानेपानी भित्रने भएको छ । नेपाल सरकारको ४० करोडको योजना मार्फत् तानसेनमा पानी ल्याउने प्रक्रिया अगाडी बढेको हो । उपभोक्ता समितिका सचिव भीमसेन कार्कीले १५ महिनाभित्रमा अहिलेकै गतिमा काम भए तानसेनमा पानी वितरण हुन सक्ने बताए । उनी भन्छन्, ‘कालीगण्डकीको पानी नआई तानसेनको माग पूरा हुन सक्दैन । अहिले झण्डै ३० प्रतिशत काम सकिएको छ । कार्यसम्पादनमा आधारित ठेक्का भएकोले छिटो काम हुने विश्वास छ ।’ कालिगण्डकीबाट ४० लिटर प्रति सेकेण्डको दरले दैनिक २४ लाख लिटर पानी ल्याउने कार्यले तिव्रता पाएको बताईएको छ ।