Sunday , September 20 2020

नव वर्षसँगै सेराेफेराे न्यूज डटकमकाे सुरूवात, निष्पक्ष पत्रकारितामा कलम तिखार्ने प्रतिवद्दता

सेराेफेराे सम्पादकीय

धेरै उतारचढावका बीच हाम्रो माझबाट २०७४ साल सकिएको छ। आज २०७४ साल बिदा भएर भोलिबाट २०७५ साल शुरू हुँदै छ। नववर्ष आगमनको यो पूर्वसन्ध्यामा नयाँ वर्ष २०७५ लाई स्वागत छ। हरेक वर्ष नयाँ उत्साहका साथ आउने नयाँ वर्ष यस वर्ष पनि सारा नेपालीलाई थप जिम्मेवार र उत्साह लिएर आउनेछ। नयाँ वर्षकाे प्रारम्भसँगै सेराेफेराे न्यूज डट कम अाैपचारिक रूपमा सुरूवात भएकाे छ । नेपाल सरकार सूचना मन्त्रालय सूचना विभाग, प्रेस काउन्सिल लगायत अन्य कानूनी अाैपचारिकता पुरा गर्दै सेराेफेराे न्यूज डट कमले एक वर्षकाे परिक्षणकाल सम्पन्न गरि अगाडि बढेकाे छ । यस क्रममा हामीलार्इ साथ दिनुहुने सम्पूर्णमा हामि धन्यवाद ज्ञापन गर्दछाैं ।

नेपालको सामाजिक, साँस्कृतिक, राजनीतिक, आर्थिक र अन्य क्षेत्रको सेरोफेरोलाई समेटेर देश, काल र परिस्थितिलाई मध्यनजर गर्दै स्थानीय शासनमा जनताको चासो विवेचनात्मक दृष्टिकोणबाट प्रस्तुत गर्न हामी यो सेरोफेरोन्यूज अनलाइन खबर पत्रिका मार्फत् उपस्थिति भएका छौं । तपार्इ हामीलार्इ फेसबुकमा seroferonew.com मा लार्इक गरि, ट्विटरमा seroferonews.com मा फलाेगरि र युट्युवमा serofero news मा सब्सक्रार्इब गरि सामिप्यतामा रहन सक्नुहुनेछ । अाशा छ तपार्इकाे प्रतिक्रियाहरू पनि प्राप्त हुनेछन् ।

सुशासनका माध्यमबाट जनतालाई असल शासनको प्रत्याभूति दिलाउन, जवाफदेहीता, पारदर्शीता, लोकतन्त्र (गणतन्त्र) र सूचनाको हकको वास्तविक अवस्थामा जनतालाई संविधान प्रदत्त नागरिक अधिकारयुक्त सेवाको सुनिश्चिताकालागि खबरदारी गर्न हामी हाम्रो सशक्त भूमिका निर्वाह गर्न हिचकिचाउँदैनौ । सत्य र तथ्यमा आधारित रहेर निष्पक्ष पत्रकारितामा हामी हाम्रो कलमलाई तिखार्दै अगाडी बढ्ने छौं ।
लोकतान्त्रिक मूल्य र अधिकारमा आधारित विकासमा पहूँचको मान्यतालाई आत्मसात् गर्दै नागरिक केन्द्रित शासन प्रक्रियाको माध्यमबाट नागरिकहरुलाई प्रभावकारी रुपमा सेवा र सुविधा उपलब्ध गराउन सरकारलाई पत्रकारिताको माध्यमबाट जनतामा सकारात्मक दृष्टिकोण पैदा गर्न हामी प्रतिवद्ध छौं ।
देशको विकेन्द्रित शासन प्रक्रियामा समावेश हुने राजनीतिक दल, नागरिक समाज, संघसंस्था तथा अन्य सम्बद्ध व्यक्तिका पक्षहरुलाई सबलीकरण, शसक्तिकरण र महशुसीकरण गराउनु सेरोफेरोन्यूजको प्रमुख भूमिका रहनेछ ।
विश्वव्यापीकरणमा रुमलिएको समाजमा आधुनिक सञ्चार माध्यम अनलाइन पत्रकारिता मार्फत् यहाँहरुलाई सूसुचित गर्न हामी उपस्थित भएका छौं ।

वि.सं.२०७४ नेपालको संविधान २०७२ को सफल कार्यान्वयनको वर्षको रूपमा चिनिएको छ। जसको कारण संघीयता र संविधान लागू गर्ने सवालमा ऐतिहासिक बनेको छ भन्न सकिन्छ। संविधानले परिकल्पना गरेको नयाँ संरचनाअनुसार स्थानीय तह, प्रदेशसभा र संघीय संसद्को निर्वाचन सम्पन्न भएर जनप्रतिनिधिमूलक राज्यव्यवस्थाको थालनी पनि भएको छ। यो वर्ष संविधानको कार्यान्वयनको हिसाबले निकै महत्वपूर्ण वर्षको रूपमा रह्यो।
२०७४ को शुरूवाती अर्थात् वैशाख महिनाबाट नै शुरू भएको निर्वाचनका कार्यक्रमहरूले क्रमशः तल्लो तहदेखि उपल्लो तहसम्म सफलता हासिल गरेको छ। वैशाखदेखि असोजसम्म विभिन्न चरणमा भएका स्थानीय तहको निर्वाचन होस् या प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचन होस्, सफलतापूर्वक सम्पन्न भएर देशको लामो राजनीतिक गतिरोध अन्त्य भएको छ।
त्यति मात्र होइन, विभिन्न आरोह–अवरोह र केही राजनीतिक दलहरूको असहमति तथा चुनाव खारेजीको मागका बाबजुद पनि झन्डै ७० प्रतिशत नागरिक सामेल हुने गरी भएका निर्वाचनले अब नयाँ विकासको ढोका पनि खोलेको छ। यतिखेर मुलुकले बहुमतको नयाँ सरकार पाएको छ। नेपालको इतिहासमा लामो समयपछि झन्डै दुई तिहाइ बहुमतसहितको सरकार बनेको छ। यो सरकार स्थायी हुने र यसले देशलाई आर्थिक समृद्धिको बाटोमा लैजानेमा आमनागरिक ढुक्क छन्। देशव्यापीरूपमा भएको निर्वाचनको कार्यक्रमका कारण एथेष्ट विकासे काम हुन नसके पनि कर्मकाण्डी कामलाई भने २०७४ मा पनि कायम राखियो।
वर्षको अन्त्यतिर देशकै एकमात्र अन्तर्राष्ट्रिय विमानस्थलमा भएको विमान दुर्घटना र वर्षको शुरूवातीमा देशका विभिन्न स्थानमा भएका केही बाढीपहिरोका घटनाले केही निराशा भने छाएको थियो। केही अप्रिय घटनाका बाबुजुद राजनीतिक इतिहास रचना गर्नेमा भने यो वर्ष उपयोगी देखियो। बदलिएको समयसँगै आमनागरिकका आवश्यकता, इच्छा, चाहनाहरू पनि बदलिँदै जानु स्वाभाविक हो। देशले २०७४ सम्म आइपुग्दा निकै ठूला राजनीतिक परिवर्तनहरू गरेको छ। राजनीतिक परिवर्तनको परिणाम र उपलब्धिलाई संस्थागत गर्ने वातावरणसँगै संविधानको सफल कार्यान्वयन अबको आवश्यकता हो। नयाँ वर्ष २०७५ नेपाल र नेपालीका लागि आर्थिक समृद्धिको मार्गचित्र कोर्ने वर्षको रूपमा चिनियोस्। हामी सबैले आ–आफ्नो तहबाट देशको आर्थिक विकास र जनताको समृद्धिको सपनालाई पूरा गर्ने दिशामा अगाडि बढ्नका लागि आवश्यक सबै खाले सहयोग गर्दै नयाँ वर्ष २०७५ लाई अर्को सफल वर्षको रूपमा इतिहासमा लेखाउन आजैबाट काममा लागौं। नयाँ वर्षहरू आउँछन्, जान्छन्, तर हरेक नयाँ वर्षहरू विशेष र फलदायक बनून्। मेरोे तर्फबाट नववर्षको स्वागतसहित यस खुशीयालीमा सम्पूर्ण नेपालीमा शुभकामना।

Check Also

माथागढीमा ५ वेडको आइसोलेसन अस्पताल निर्माण हुँदै …

गजेन्द्र पन्थी माथागढी, असाेज १ माथागढी गाउँपालिकामा आइसोलेसन अस्पताल निर्माण हुने भएको छ । संघीय …

error: Content is protected !!