सुशीला रेग्मी
रामपुर (पाल्पा), माघ ९
रामपुर नगरपालिका पाल्पाको सार्वजनिक सुनुवाई तथा प्रगती समिक्षा कार्यक्रम भएको छ । सीताकुण्ड मिडिया प्रालीको सहजिकरणमा नगर प्रमुख रमणबहादुर थापाको अध्यक्षतामा कार्यक्रम भएको हो । नगरपालिकाका प्रमुख प्रशासकीय लेखनाथ न्यौपानेले यस आर्थिक वर्षको साउन देखि हालसम्म भएका प्रगति विवरण सार्वजनिक सुनुवाईमा जानकारी गराउनुभएको छ । प्रमुख प्रशासकिय अधिकृत न्यौपानेले संघीय सरकारमार्फत अनुमानित ४९ करोड ८१ लाख रकम रहेकोमा हालसम्म २२ करोड ४६ लाख ७३ हजार ६३२ रुपैयाँ प्राप्त भएको, प्रदेश सरकारमार्फत अनुमानित चार करोड ६४ लाख ४६ हजार रहेकोमा एक करोड १६ लाख ११ हजार पाँच सय रुपैयाँ, राजश्व बाँडफाँटबाट अनुमानित १२ करोड दुई लाख ४९ हजार रहेकोमा दुई करोड ५१ लाख ३२ हजार २९२ रुपैयाँ र आन्तरिक स्रोतबाट अनुमानित १६ करोड ९१ लख रहेकोमा एक करोड ५१ लख ३२ हजार २९२ रुपैयाँ गरी जम्मा आयतर्फ ८६ करोड ३८ लाख ९५ हजार रकम रहेकोमा २७ करोड ४७ लाख ९५ हजार रहेको जानकारी दिनुभएको छ ।
यस आर्थिक वर्षमा नगरभित्र ५५४ वटा योजना रहेको बताउनुहुदै अहिलेसम्म दशवटै वडामा गरी जम्मा ६२ वटा योजना सम्झौता भएको र बाँकी योजना सम्झौता गर्ने क्रममा रहेको प्रमुख प्रशासकिय न्यौपानेले बताउनुभयो ।
नगरपालिकाको सेवा प्रवाह सम्बन्धि नागरिकको गुनासो तयार पारिएको प्रतीवेदन सीताकुण्ड मिडिया प्रालीका संचालक ईमान सिं रानाले प्रस्तुत गर्नुभएको छ । कार्यक्रममा रामपुर नगरपालिकाका सल्लाहकार देवराज ढकाल, नेपाली कांग्रेस रामपुर नगर सचिव चिरञ्जीवी सिग्देल, नेकपा एमाले नगर कमिटी अध्यक्ष विष्णुप्रसाद रेग्मी, नेपाल कम्युनिस्ट पार्टि समाजवादी रामपुर नगर अध्यक्ष फणेश्वर गौतमले रामपुर नगरपालिकाले दिने सेवा प्रवाहलाई छिटो छरितो दिनुपर्ने र नगरको विकासमा सबैको चासो र चिन्ता रहेको हुदा एक भएर काम गर्नुपर्नेमा जोड दिनुभएको छ ।
सार्वजनिक सुनुवाई कार्यक्रममा राजेन्द्र ढकाल, शंकरप्रसाद अर्याल, सुशील पंगेनी, शंकरप्रसाद श्रेष्ठ, गंगा अधिकारी, सीता सिग्देल, भविनारायण मरासिनी, गोविन्दप्रसाद भट्टराई, अर्जुनप्रसाद श्रेष्ठ लगायतले नगरपालिकाका सेवा सम्बन्धी विभिन्न सुझाव दिनुभएको छ । सहभागीले उठाएका जिज्ञासालाई सम्बन्धित शाखाका प्रमुखले जानकारी गराउनुभएको छ ।
कार्यक्रममा सहभागी नागरिकले नगरपालिका भित्रको फोहोर व्यवस्थापनको अवस्था, अवैध रुपमा नदीजन्य पदार्थको उत्खनन्, शित भण्डारको व्यवस्थापन, घर सम्पन्न प्रमाण पत्रको काम, शिक्षण क्षेत्रका सुधार, रामपुर भित्र संचालित मेडिकलको सेवा प्रवाह, बेझाड बजार क्षेत्रको नाली व्यवस्थापन तथा मर्मत, उपभोक्ता समितिमार्फत संचालन हुने विभिन्न योजना संचालनका समस्या र चुनौती, नगरपालिका भित्र हुने गरेका गतिबिधिलाई नगरको वेवसाइटबाट नागरिकलाई सुचना लिने वातावरण गराउनुपर्ने लगायतका सुझावहरु राखेका छन् । नगर उपप्रमुख बालकुमारी थापाको स्वागतबाट सुरु भएको कार्यक्रमको संचालन सीताकुण्ड मिडिया प्रालीका अध्यक्ष दुर्गेश मल्लले गर्नुभएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय