वर्षौं भयो ट्विटरमा ‘दाइ नभन्नू ल’ भनेरै अभियान चलाएको, अहिलेसम्म दाइ भन्न छाडेका छैनन् । बरू भन्न नपर्नेहरूले समेत जिस्काएर दाइ भन्न थालेका छन् ।

बिहान भर्खर फेसबुकमा एउटा पोस्ट गरियो, “दाइ नभन्नू ल !”

“आफूभन्दा ठूलालाई दाइ नभने के भन्ने त ?”

“उमेरमा ठूलो हुँदैमा सबै दाइ हुन्छन् त ?”

“हो त, मेरो घरमा दाजु हुनुहुन्न ।”

“मैया ! घरमा पति पनि त हुनुहुन्न होला नि ।”

यो पोस्ट पूरै पढिसकेपछि एकजना महिला मित्रको टिप्पणी आयो, “भन्ने त दाइ नै हो ।”

“अरे ! दाइ किन भन्नु पऱ्यो ?”

“दाइ नभने के भन्ने त ?”

म बडो द्विविधामा परेँ । दाइ नभने के भन्ने त ? त्यही भएर मैले सोधें, “म कसरी तिम्रो दाइ भएँ ?”

उनले हाँसेरै टारिन्, जवाफ दिन सकिनन् ।

आउनुस्, कोही कसैको दाइ हुन के-के हुनुपर्छ विश्लेषण गरौं  ।

कोही कसैको दाइ हुन उसको बहिनी हुनुपर्छ । एक महिला, एक पुरुष दाजु-बहिनी हुनका लागि एउटै कोखबाट जन्म लिएको हुनुपर्छ । कोही-कोहीको आत्मीय सम्बन्ध यति गहिरो हुन्छ कि उनीहरूका लागि एउटै कोखबाट जन्मिनुपर्छ भन्ने बाध्यता रहन्न । तर, के यो देशमा सबै युवापुस्ता एउटै कोखबाट जन्मिएका हुन् त ? कसरी सबै केटाहरू दाजु, सबै केटीहरू दिदी वा बहिनी हुन सक्छन् ? अनि जैविक रूपमा सम्बन्ध नरहे पनि यो आत्मीय सम्बन्ध कतिको कतिसँग हुन सक्छ ? बाटोमा ठोक्किने, गाडीमा सँगै सिटमा पर्ने, पसलमा बस्ने, अफिसमा सँगै काम गर्ने यी जम्मै दाजु-बहिनी कसरी हुन सक्छन् ?

खासमा कुरा के हो भने- यो समाजमा महिला-पुरूषबीचको सम्बन्धलाई नैतिकताले यतिविघ्न बाँध्न खोजिएको छ कि प्रत्येक युवा-युवती एक-आपसमा दाजु-बहिनी नाता कायम गरेमात्र सम्बन्धको नैतिकता थाम्न सक्छन् । दाजु-बहिनी नभए त त्यो नातालाई सबैले कर्के नजरले हेर्दा रहेछन् ।

मोफसलको बैंकमा काम गर्ने एकजना महिला मित्रले बडो रमाइलो प्रसंग सुनाउनुभएको थियो । उहाँसँगै फ्ल्याटमा एकजोडी बस्दा रहेछन् । त्यो घरभरिमा उनीहरूले दाजु-बहिनी भएको परिचय दिएका रहेछन् । बहिनी सोही शहरमा र दाइचाहिँ अलि परको शहरमा काम गर्दा रहेछन् । बिदाको दिन दुवैको भेटघाट हुने रहेछ । रमाइलो के भने, उनीरूको डेरामा एउटामात्र खाट र ओछ्यान रहेछ । लुकाएर के लुक्थ्यो ! एकदिन ती बहिनी महोदया साथी काम गर्ने बैंकमा खाता खोल्न गइछन् । उनको आधिकारिक कागजपत्र हेर्दा साथी चकित परिछन् । नाम र थर नै फरक ! त्यसपछि हल्का अनुसन्धान गर्दा गुदी कुरो खुल्यो । खासमा ती प्रेमी जोडी रहेछन् र लिभिङ टुगेदरमा बस्दा रहेछन् । समाजको डर भनौं वा उनीहरूको इच्छाका कारण— प्रेमसम्बन्धलाई दाजु-बहिनीको आवरण दिएका रहेछन् । उनीहरू अहिले पनि त्यही घरमा त्यसैगरी बसिरहेका छन् । साथीलाई पनि त्यो कुराले फरक परेको छैन ।

अब भन्नेले भन्लान्, “दाइ–बहिनी हुँदा के खराबी छ ?”

खराबी केही छैन तर के यो चलन ठीक हो ? यदि कसैले ‘म तिम्रो दाइ बन्न चाहन्नँ’ भन्छ भने उसले यौनिक नजरले हेरेको ठहर गर्न पाइन्छ ?

अरे यार ! युवाहरूबीच मित्रता भन्ने पनि चिज हुन्छ । कार्यालयमा शुद्ध व्यावसायिक सम्बन्ध पनि हुन्छ । जहीँतहीँ नाता गाँस्दै सम्बन्ध घुसाउन किन पर्छ ? यो नाता गाँस्ने चलनका कारण कति मित्रता तुहिन्छन्, कति व्यावसायिक सम्बन्ध बन्नै पाउँदैनन् ।

मेरो कार्यालयमा यस्ता उदाहरण धेरै छन् । कति नबन्ने कामहरू गराउन महिला मित्रहरू दाइको नाता गाँस्दै आउँछन् । कथित बहिनीको काम गरिदिने कि नगर्ने ? यस्तो बाध्यतामा म थुप्रै पटक पेलिएको छु ।

देश बनेन भनेर धेरैको गुनासो छ । भनसुन, चाकरी, कृपावाद र नातावाद भएरै देश बन्न नसकेको अधिकांशको निष्कर्ष हुन्छ । यी सबै अवगुण कहाँबाट देशमा सरेका हुन् ? देश भनेको यही समाज होइन ? यही समाजमा अनावश्यक नाता गाँसेर कुरा अगाडि बढाउने चलन छ । कहीँ कतै कोहीसँग काम निकाल्न परे थर, जात, गोत्र, गाउँ, क्षेत्र हुँदै सम्पर्क स्थापना गर्ने प्रयास हुन्छन् । हो, यही कारणले हो दाजु-बहिनीको सम्बन्ध गाँस्ने चलन चलेको । हुँदाहुँदा बाटोमा गल्तीले कुम ठोक्किए पनि ‘सरी दाइ’ भन्दिन्छन् । मानौं त्यहाँ त्यो माफीभन्दा पनि दाइ बढी महत्त्वपूर्ण छ । चाकरीतन्त्रको यो रूपलाई हामी सबै मिलेर निर्मूल पार्नुपर्छ ।

कतिले मलाई सुझाव दिन्छन्, “अरे, दाइ भने के भो र यार ? यहाँ धेरै लभस्टोरी दाइ-बहिनीबाटै शुरू भएका छन् ।”

होलान् हौ, कतिका लभ यसैगरी परेका होलान् । तर, के तिनीहरूले पहिलोपटक आँखा जुधाउँदा सोचेका थिएनन् होला र तिनीहरूबीच प्रेमसम्बन्ध हुनेछ भनेर ? हरे शिव ! जब कोही मान्छेसँग लभ पर्ने सम्भावना छ भने दाइ वा बहिनी किन भन्नु परेको ? प्रेम गर्न समाजसँग त्यति धेरै डराउनुपर्छ र?

दाजु-बहिनीको सम्बन्ध कति पवित्र छ । एउटै कोखबाट जन्मिएका दुई फरक लिंगका मान्छे, एउटै धरतीबाट फूलेका दुई फरक प्रजातिका फूल । कति सजिलै मान्छेहरू यो सम्बन्धलाई हलुका रूपमा लिन्छन् र सतही रूपमा एक-अर्कासँग गहिरो सम्बन्ध गाँसिदिन्छन् । मान्छेले भविष्य देख्न सक्दैन, भविष्यका अनेक सम्भावनाहरूलाई मारेर किन यस्ता सतही सम्भावना गाँस्छन् ?

एउटो साथीलाई आफ्नै साथीको बहिनी मन परेछ । तर, साथीको बहिनी त बहिनी भइहाली । शुरूवातै ‘दाइ नमस्ते’, ‘बहिनी सञ्चै छ ?’ बाट भएको, कसरी प्रेम व्यक्त गर्ने ? तर, समयसँगै साथीको घर जाने क्रममा दुवैको प्रेम झांगिदै गयो । तर, त्यो प्रेम सम्बन्धलाई सुरक्षित अवतरण गर्न शुरूवाती ‘दाइ-बहिनी’को सम्बन्ध घाँडो भयो । धन्न ती दाजु-बहिनीले भाइटीका चाहिँ लगाएनछन् । नत्र कसरी मिलाउनू त्यो सम्बन्धलाई ?

दाइ नभने के भन्ने त ?

मान्छेका नाम हुन्छन् हेर्नुस् । चिनेका मान्छेलाई नामअनुसार बोलाउन सकिन्छ । दाइ बनाउँदैमा कोही ठूलो भइहाल्ने हैन, न बहिनी बनेर सानो भइहाल्ने हुन् । चट्ट नामका पछाडि ‘जी’ जोडेर सम्बोधन गर्दा पनि सम्मान पुगेकै हुन्छ । ‘एकतारेजी’ भनेर कसैले मलाई बोलाउँछ भने पक्कै पनि म बेसी खुशी हुनेछु । यसरी बोलाउँदा उमेर फरक परेर गल्ती हुने सम्भावना पनि हुन्न । अनि परिचय नखुलेका मान्छेका लागि नेपाली संस्कृतिअनुसार विभिन्न सम्बोधन छँदैछन्— महोदय, महाशय, हजुर, सुन्नुस् त भनेर सम्बोधन गर्दा कसले अपमानित महसुस गर्लान् र ?

यो सब भनिरहँदा यो देशका केही दाइ भनाउँदाहरू याद आए, जसले आफ्नो नाममै दाइ झुन्ड्याएर हिँडेका छन् । कसैले दाइ मानोस्, नमानोस्– आफैं दाइ । यस्ता डमी दाइहरूले पनि हो यो बिग्रेको चलन ल्याएको । जसोगरी गाडीको सवारीचालक उसको खलासीका लागि मात्र गुरू हुन्, त्यसैगरी तिनी पनि तिनका भाइबहिनीका मात्र दाइ हुन् । नाममा दाइ राख्दैमा दाइ भइन्छ ? भो भनिन्न दाइ साइ ।

यति भन्दाभन्दै पनि दाइ नै भनिरहनेलाई के गर्ने त ?

अब, दाइ भन्नेलाई भन्नबाट रोक्न त सक्दिनँ तर आफूले बहिनी नभन्न त सकिन्छ नि । जबर्जस्ती नाता गाँस्नेहरूलाई सीधै बहिष्कार गर्नुपर्छ । सम्भावना सबै मारी दाइ भन्नेलाई नाइ भनौं । न दाइ भनिन्छ, न दाइ सुनिन्छ ।