साहिँलीको कटेज सहरको प्रख्यात मदिरालय हो । यहाँ दर्जनौँ प्यासी सोमरसप्रेमीको दिनहुँ भीड लाग्छ । साहिँलीको भट्टीमा पुग्नेहरू भन्छन्, “कटेज होस् त साहिँलीको जस्तो ।”

स्वादमा रमाउनेहरू भन्छन्, “हात होस् त साहिँलीको जस्तो ।”

रक्सीको मातमा बर्बराउनेहरू भन्छन्, “जवानी होस् त साहिँलीको जस्तो ।”

कविहरू साहिँलीका नाममा कविता फुराउँछन् । पत्रकारहरू साहिँलीसँग अन्तर्वार्ता लिन्छन् । गायकहरू साहिँलीकै नाममा गीत गाउँछन् । बच्चा, किशोर, युवा, पाकाहरू सबै साहिँलीसँग आकर्षित हुन्छन् । हात मीठो होस्, चाहे बोलीबचन, पानी मीठो हो कि जवानी मीठो— कसैलाई केही थाहा छैन । मात्र थाहा छ, साहिँली र साहिँलीको कटेज ।

मान्छेहरू नानाभाँती कुरा काट्छन् । एकापसमा साउती पनि मार्छन् । अनावश्यक टीकाटिप्पणी गर्छन् । नाक खुम्च्याउँछन् । मुख बिगार्छन् । तर, साहिँलीलाई त्यसको केही परवाह छैन । वरिपरिका भट्टीहरू सुनसान छन् । मान्छेहरू ती भट्टीभित्र पस्न त परै जाओस्, झुक्किएर पनि हेर्दैनन् । तर, साहिँलीको कटेज भरिभराउ छ । दर्जनौँ कार, मोटरसाइकल पार्किङ गरेर कष्टसँग पालो कुरेर खाजा खाने मान्छेहरूको लाइन देखेर डाहा गर्नेहरू थुप्रै छन् । उनीहरूकोे कत्ति पनि व्यापार छैन ।

साहिँलीको कटेज भरिभराउ हुनुमा अलौकिक शक्ति नै पो छ कि ? सोच्नेहरूले यसरीसमेत सोच्छन् । साहिँलीको कटेजमा अरुभन्दा के नै फरक छ र यस्तो भीड लाग्छ ? जोकोही यस्तो प्रश्न गर्न बाध्य हुन्छन् । साहिँलीले देहव्यापार पो गर्छे कि ? नत्र, किन ग्राहकहरूको यस्तो झुत्ती लाग्छ ? छिमेकीहरूले पनि त्यसको रहस्य पत्ता लगाउन सकेका छैनन् । अरु व्यवसायीहरूले पनि यही कारण हो भनेर ठोकुवा गर्ने आधार छैन ।

० ० ०

केही वर्षअघि पनि साहिँलीको एउटा भट्टी थियो । सामान्य टिनको छाप्रो । बाबुआमाले केही दशक छाप्रामै दिन काटे । भट्टीको कमाइले जेनतेन जीविका टथ्र्यो । उतिबेला साहिँली सानै थिई । चुलबुले थिई । मायालाग्दी थिई । भट्टीमा आउनेहरूले पनि मायाले बोलाउँथे, साहिँलीलाई । ऊ बाआमाकी साहिँली छोरी थिई । जेठी मिश्रीमायालाई ड्राइभरले पिरती लगाएर डाँडो कटायो । माहिली चिनीमाया भारतीय पल्टनको लाहुरेसँगै सुइँकुच्चा ठोकी । कान्छी पाँचौं वर्ष पनि पूरा गर्न नपाउँदै मरी । ऊ साहिँली नै कायम भई । खासमा त ऊ कान्छी हो ।

दिदीहरूले आ–आफ्नो घर बसाउँदा साहिँली ८ वर्षकी थिई । छोरीहरूले काम सघाउने बेला ड्राइभर र लाहुरेको मायाजालमा परेपछि साहिँलीका बाआमालाई ठूलो बज्रपात भयो । उनीहरूको भट्टी सडक विभागले भत्काइदियो । सडक विस्तार गर्ने क्रममा सडकछेउका घुम्ती, चियापसल र भट्टी एकाएक हटाइए । केही समय त साहिँलीको परिवारमा हाहाकारै मच्चियो । पछि, चोकैनेरको एउटा सटर भाडामा लिएर उनीहरूले मःमः पसल चलाए । साहिँलीको मःमः पसल ।

मःमः पसल भट्टीजसरी चलेन । भाडा तिर्न पनि धौ–धौ प¥यो । साहिँली पढ्दै थिई । उसको पढाइ खर्च जुटाउन पनि समस्या प¥यो । साहिँलीले ९ कक्षाभन्दा अगाडि पढ्न सकिन । ऊ पनि बाआमासँगै मःमः पसलमा सघाउन थाली । त्यसको केही समयपछि ‘साहिँली रेस्टुरेन्ट’ नामकरण भयो । ग्राहकहरू बढ्न थाले । तर, ठाउँको अभावले ग्राहक फर्किने समस्या भयो । तर, साहिँली ग्राहकको मन राख्न अत्यन्त सिपालु थिई ।

ऊ भन्थी, “दाजु, एकैछिन पर्खिनुस् न है । ठाउँ सानो छ, मन फराकिलो बनाएर बस्नुस् न है ।”

साहिँलीले साँघुरो ठाउँमा पनि, खाँदीखाँदी राखेरै भए पनि ग्राहकहरूलाई फर्काउन चाहन्नथी । उसको नशालु आँखा, लोभलाग्दो बैंस र मीठो बोलीले गर्दा ग्राहकहरू झुत्तिन्थे । यो क्रम निरन्तर बढ्न थालेपछि साहिँलीलाई भ्याइनभ्याइ भयो ।

साहिँली रेस्टुरेन्टको आडैमा एक जमिनदारको खाली जग्गा थियो । जग्गावाला पनि साहिँलीको रेस्टुरेन्टमा नियमित ग्राहक थियो । त्यसको केही समयपछि त्यही खाली जग्गामा साहिँलीले पार्किङसहितको कटेज खोली । र, नाम राखी– ‘साहिँलीको कटेज’ ।

साहिँलीको वास्तविक नाम थियो, पुतली । तर, उसलाई यो नाम त्यति राम्रो लागेन । आफ्नो नामै अपभ्रंश हुनेगरी उच्चारण हुने गरेपछि उसलाई त्यो नाम राम्रो नलागेको हो । पछि उसकी आमाले राममाया राख्न खोजिन् । हरिमाया भनेर बोलाइन् । दालचिनी राखिन् । उसलाई कुनै नाम आकर्षक लागेन । त्योभन्दा त साहिँली नै ठीक लागेर उसले कटेजको नाम ‘साहिँली कटेज’ राखेकी हो ।

कटेजमा आउने सोमरसप्रेमीहरूले उसको नाम के–केसम्म राख्न खोजेनन् ? बसन्ती, काजोल, ललिता, अप्सरा, मधुमाला, महिमा, रागिनी र अरु थुप्रै । उसले जसले जे नामले बोलाए पनि गालामा फूल फुलाउँदै हाँसिदिन्थी । उसको एकमुठी हाँसोसँग एक वर्षभरि लठ्ठिने लठ्ठकहरू बगे्रल्ती थिए । साहिँली चौपट्टै राम्री थिई । उसलाई साथ दिएको थियो, शारीरिक बनावट र मोतीजस्ता दन्तलहरले । कसैसँग नरिसाउने सरल मिजास पनि उसको थप विशेषता थियो । त्यही कारण साहिँलीका लागि ज्यान दिन चाहने दिवानाहरू, दिल जित्न चाहने दिलवालेहरू र प्रेममा हराउन चाहने प्रेमीहरू एकसेएक थिए ।

उसका लागि पागल हुनेहरूबीच कतिपटक हानाहान भयो । कतिका सम्बन्धहरू भत्किए । उसलाई मन पराउने पागलप्रेमीहरूको झगडा हुन थालेपछि साहिँलीले नै छुट्याइदिन्थी । उसका लागि कसले के–केसम्म छोड्न तयार थिएनन् ? कतिले घरकी बूढी छोड्न तयार भए, कति उसकै नाममा बैंक खाता खोलेर रकम हस्तान्तरण गर्न तयार देखिए ।

० ० ०

भर्खर जुँघाको रेखी बस्न थालेका अल्लारेदेखि नातिनातिनीका बाजे भइसकेका झल्लारेसम्मको आकर्षण बनेकी थिई, साहिँली । कमाइ बढ्दै गएपछि कटेज रहेको जग्गासमेत खरिद गरेर उसले सबैलाई दंग बनाइदिई । त्यसकै खुसीयालीमा साहिँलीले भव्य पार्टी आयोजना गरी । सयौँ ग्राहक निम्तालु थिए । बाहिरबाट हेर्दा यस्तो लाग्थ्यो, साहिँलीको धुमधामले बिहे भइरहेको छ । उफरको साउन्डले बजार नै गुञ्जायमान भइरहेको थियो ।

तर, त्यो उसको बिहे उत्सव थिएन, न त थियो जग्गा किनेको खुसीयालीमा भोज । उसले ठूलो केक काट्दै आफ्नो जन्मदिनको खुसी साट्न सबैलाई आमन्त्रण गरेको उद्घोष गरी । निम्तालुहरू सबै छक्क परे । कतिले बर्थडे गिफ्ट ल्याउन नपाएकोमा थकथक पनि माने । पार्टी एकनासले चलिरहेको थियो । नाच्नेहरू नाच्दै थिए, गाउनेहरू गाउँदै थिए र ककटेलमा रमाउनेहरू रमाएकै थिए ।

त्यसैबेला एक दिलवालेले शानका साथ आफ्नो औँठी साहिँलीको हातमा लगाइदियो । साहिँली अक्क न बक्क भई । अर्को दिलवालेलाई सह्य नभएरै होला, उसले पनि गलाको सिक्री खोलेर साहिँलीको गलामा पहिराइदियो । मदिराको मातमा आफ्नो आत्मसम्मान र प्रतिष्ठा खोज्नेहरूले साहिँलीलाई प्रभाव पार्न महँगा उपहार दिनेहरूको होड नै चल्यो । जहाँ ब्रासलेटदेखि ससुरालीले दिएको सिक्री, हीराको औँठीदेखि श्रीमतीको हारसमेत दिन पछि परेनन् ।

भन्नेहरूले त उत्तिखेरै भने, “सुन र हीराका गहना हत्याउन साहिँलीले जन्मदिनको नाटक रचेकी हो ।”

“ग्राहक धुत्न कम्ती चालू छे त्यो साहिँली !”

“साहिली महिलाको नाममा कलंक हो ।”

“त्यो वेश्याले दुनियाँलाई बिगार्ने भई ।”

“यो चनमतीले धेरैका बूढाहरूको मती बिग्रने भो ।”

सबैभन्दा ईष्र्या गर्ने तिनै वरपरका भट्टीवाला नै बढी थिए । साहिँलीलाई माथ गर्न भनेर कतिले भटाभट भट्टीहरूका नाम फेरे । मायाको रेस्टुँरा, साकिरा खाजा घर, पल्पसा रेस्टुरेन्ट, शीला होटल, बलमा मःमः ल्यान्ड, माइलीको भट्टी, न्यू साहिँली रेस्टुरेन्ट एन्ड बार, भर्जिन साहिँलिज् बेम्बो कटेज, साहिँला कटेजजस्ता दर्जनौं नाम राखेर साहिँली कटेजसँग प्रतिस्पर्धा गर्न खोजे । अहँ, कसैको केही सीप लागेन ।

अहिले पनि साहिँली कटेजमा भीडभाड उस्तै छ । साहिँलीको गालामा रातोपन कत्ति पनि घटेको छैन । बरू, साहिँलीको उठबस अलि बेग्लै देखिन थालेको छ । ऊ कारमा हिँड्छे । वानपिसमा सजिन्छे । मध्यरातमा फर्किन्छे । कहिले त एक साता लामो टुरमा निस्कन्छे । मोडलहरू, हिरोहरू, उद्योगपतिहरू, व्यापारीहरू, उच्च ओहोदाका हाकिमहरूसँग पनि उसको उत्तिकै घनिष्ठ सम्बन्ध छ । गोष्ठी, सेमिनार र महत्त्वपूर्ण कार्यक्रमहरूमा साहिँलीको उपस्थिति अनिवार्यजस्तै हुन थालेको छ । उसको पहुँच र प्रभाव सरकारी कार्यालयदेखि गैरसरकारी कार्यालयसम्म छ । कति त जागिरको सोर्सफोर्सका लागि साहिँलीसँग निवेदन गर्छन् ।

यता साहिँलीको ‘पर्सनालिटी’ बढ्दो छ, उता कटेजमा प्रायः साहिँलीकै अभाव भइरहेको हुन्छ । उसका नाममा गजल गाउनेहरू, गीत गुनगुनाउनेहरू, कविता कोर्नेहरू व्याकुल हुन थालेका छन् । उसका बूढा बाआमाले बनाएका परिकारहरू ग्राहकले स्वाद मानेर खान छाडिसके । ‘साहिँली नै नभएपछि केको साहिँली कटेज ?’ भन्दै ग्राहकहरू फर्किएपछि साहिँलीका बालाई कताकता भित्रैदेखि मुटु पोलेर आउँछ । चलचित्रको रिलझैं घुम्न थाल्छन् उनका आँखामा मिश्रीमाया…, चिनीमाया…., पुतली … । उनी सोच्न थाल्छन्– साहिँलीले पखेँटा हालिसकी, कतिखेर फुर्र उडेर जान्छे…।

पुतली अर्थात् साहिँली नायिका बन्ने तयारीमा व्यस्त भएकी छ । उसको रिहर्सल भइरहेको छ । कोरियोग्राफरहरू उसको ‘स्क्रिन टेस्ट’ गर्नमा मस्त छन् । निर्देशकहरू नयाँ फिल्ममा साहिँलीको ‘डेब्यू’ गराउन कम्मर कसेर लागेका छन् । मोडलहरू साहिँलीको अघिपछि गर्दै फिल्ममा काम गर्ने अवसरको खोजीमा छन् । हिरोहरू जीवन्त अभिनय सिकाउन व्यस्त छन् । विभिन्न पोजका ‘ब्लोअप’ तस्बिर पत्रपत्रिका र वेबपेजहरूमा भरिएका छन् । नयाँ हिरोइनको नाम पनि जुरिसकेको छ– शैली । पुतली साहिँली हुँदै शैली भई । पहिलो फिल्ममै ‘हट सिन’ पस्किएर शैली हिट भई । उसको चर्चा चुलियो । अरु अभिनेत्रीहरू छायामा परे ।

पत्रिकाहरूले उसलाई ‘भट्टीवाली साहिँली बनिन् नायिका शैली’ भनेर प्रचार गरे । पहिलो फिल्मबाटै नाम र दाम कमाएपछि उसमा आफैंले फिल्म निर्माण गर्ने विचार पलायो । कटेज बैंकमा धितो राखेर झन्डै ५० लाख रूपैयाँ ऋण झिकेपछि उसले फिल्म पनि बनाई, ‘प्यारी शैली ।’ फिल्ममा कथावस्तुभन्दा पनि हट सिन पस्केर उसले बक्स अफिसमा कीर्तिमान कायम राख्न खोजेकी थिई । तर, फिल्मले एकचौथाइ पनि लगानी उठाउन सकेन । लगानी नउठे पनि उसले उत्कृष्ट नायिकाको अवार्ड हात पारी ।

पत्रपत्रिकाले सर्वाधिक सेक्सी नायिका भनेर प्रचार गरिरहे । केही मल्टीनेसनल कम्पनीका विज्ञापनहरूमा पनि उसको एकछत्र राज भयो । उसको भाउ रूपैयाँबाट डलरमा परिणत भयो । उसले विदेशी फिल्ममा पनि काम गर्न पाउने भई । अमेरिकीहरूले उसको नाम राखिदिए– ‘नेप्लिज् हट लेडी सेइ….ली ।’

सेइलीले एक गजधम्मे बूढोसँग बिहे गरी । त्यो बूढो अमेरिकाको धनाढ्य व्यक्ति हो रे भन्ने चर्चा सुनियो । एक टेलिभिजन कार्यक्रममा उसले अब एउटा रिसोर्ट खोल्ने योजना सार्वजनिक गरी । उसका फ्यानहरूले रिसोर्टको नाम पक्कै पनि ‘सेइली रिसोर्ट’ नै राख्छे वा ‘सेइ एन्ड ली रिसोर्ट’ राख्छे भनेर पूर्वानुमान गरेका थिए । उसकै कटेजका नियमित फ्यानहरू भन्ने गर्छन्, सेइली अमेरिकीसँग बिहे गरेर गएपछि हलिउड पोर्नस्टार सन्नी लियोनलाई माथ गरेकी छ रे !

० ० ०

अहिले साहिँली कटेज बन्द हुने अवस्थामा पुगेको छ । हाँस र बँदेलको छोइला पाउने यो कटेजमा आलु–चना र चियामात्र बिक्री हुन्छ । आक्कलझुक्कल स्वदेशी टनिकहरू पाइन्छन् । बैंकले तारन्तार लपेटेको लपेट्यै छ । सेइलीका बाले बैंकको ब्याजसमेत तिर्न सकेका छैनन् । बैंकले तीनपुस्ते विवरण राखेर ऋण चुक्ता गर्न ३५ दिने र १५ दिने सूचना जारी गरिसकेको छ । लिलाम हुने डरले सेइलीका बाआमाको ज्यान सुकेर लठ्ठीजस्तो भइसकेको छ । तर, अमेरिका उडान भरेदेखि सेइलीले घरमा एक कल फोनसमेत गरेकी छैन ।

एक समय सेइलीको नयाँ पोर्न फिल्म हेर्न १५ डलर क्रेडिट कार्डमार्फत रकम बुझाउनु पर्ने चर्चा चलेको थियो । मोबाइलमा सहजै हेर्न सकिने भए साहिँली कटेजका फ्यानहरूले मुख मिठ्याइमिठ्याई हेर्ने थिए । र, हेर्ने थिए साहिँलीको बर्थडेमा औँठी, ब्रासलेट र हार दिनेहरूले । बिचराहरूले साहिँलीलाई हेरेरै चित्त बुझाए, अब पनि सेइलीको पोर्न फिल्म हेरेरै चित्त बुझाउनेछन् । सेइली नेपाल आएपछि अटोग्राफ लिन यिनै दिवानाहरू लाइनमा बस्छन् होला !

समयको खेल न हो । साहिँली कटेज बैंकले लिलाम गरेपछि साहिँलीका बाआमाले पुनः भट्टी पसल सञ्चालन गर्न बाध्य भए । अभावको जिन्दगी गुजार्दा गुजार्दै एकदिन साहिँलीका बाको रात्रिबसको ठक्करले मृत्यु हुन्छ । उनकी आमा त्यही राजमार्गमा सहाराविहीन जिन्दगी बाँच्न विवश हुन्छिन् । साहिँली आउने प्रतीक्षामा कुर्दाकुर्दै उनको पनि प्राणपखेरू उडेर जान्छ । साहिँलीका बाको जसरी नै उनकी आमाको शव पनि नगरपालिकाले उठाएर लैजान्छ । त्यतिविध्न ग्राहक कमाएर पनि साहिँलीका बाआमा बेवारिसे भएरै मर्छन् ।

० ० ०

साहिँलीको कुनै पत्तो छैन । साहिँली विदेशी मदिरामा लठ्ठिएर आफ्नो जोवनका रंगीन दिनहरू गन्न थाल्छे । उसको जवानी लुटिसकेपछि र पोर्न उद्योगमा उसको माग घटेपछि बल्ल उसका आँखा खुल्छन् । सपनाबाट ब्युँझेजस्ती हुन्छे ऊ । उसको अमेरिकी श्रीमानले नै पोर्न फिल्मका लागि बिक्री गरिदिएपछि सेइलीका दुःखका दिन सुरू हुन्छन् । ‘नेप्लिज् हट लेडी’को पहिचान नरहेपछि अमेरिकाको नारकीय जीवनबाट ‘रिटायर्ड’ भएर ऊ नेपाल फर्किन्छे । तर, कुनै पत्रकारहरू उसका अन्तर्वार्ता लिन तँछाडमछाड गर्दैनन् । कुनै फ्यानहरूले ‘अटोग्राफ’ माग्दैनन् । कुनै पनि धनाड्य व्यापारी ऊप्रति आकर्षित हुँदैनन् । नेपाल फर्किएपछि बल्ल उसले थाहा पाउँछे, उसको कटेज पुरानै साहूले सकारिसकेको हुन्छ । उसका जन्मदाताहरू परमधाम भइसकेका हुन्छन् । ऊ नितान्त एक्लो बन्छे । अब आँसु बगाउनुको कुनै अर्थ रहँदैन । उसले बल्ल महसुस गर्छे, चरम महत्त्वाकांक्षा राख्न नहुने रहेछ । आफ्नो धरातल ख्याल नगर्दा ऊ कसैकी हुन सकिन । र, कोही उसका हुन सकेनन् । उसले पुनः बाध्य भएर खोल्छे– ‘साहिँलीको भट्टी ।’

अचम्म ! साहिँलीको भट्टी पहिलेजस्तै भरिभराउ छ । त्यहीबेलाका ग्राहकहरू, त्यहीबेलाका दिलवालेहरू, कविहरू, गायकहरू, सोमरसप्रेमीहरू…। उसलाई कसैले ईष्र्या गर्दैैनन् । उसका कुरा काटिँदैनन् । वेश्या भनेर आलोचना हुँदैन । उसका गालामा रातोपनको त कुरै छाडौँ, एक अंश चमक छैन– न कुनै आकर्षण, न लालिमा, न बैँस, न जवानी । निचोरिएको कागतीजस्ती साहिँलीको भट्टी भने भरिभराउ हुनुको पछाडि के रहस्य हुन सक्छ ? फरक यत्ति हो कि ऊ पहिले नगदमा कारोबार गर्थी, अहिले उधारोमा गर्छे । उसका पुराना ग्राहकहरू प्लेट र चम्चा बजाएरै मज्जा लुट्छन् ।

स्वदेशी टनिकका पारखीहरू साहिँलीलाई भन्छन्, “मेरो यति रूपैयाँ खातामा चढा है साहिँली ।”

“खातामा धेरै बाँकी भइसक्यो, अब म उधारो दिन सक्दिनँ है,” उसले ग्राहकलाई सचेत गराउँछे । उसको कुरा भुइँमा झर्न नपाउँदै एउटा ग्राहक थप्छ, “हुँदा त मैले दुई लाख रूपैयाँ पर्ने हार नै दिएको थिएँ नि, अहिले छैन त के गर्छेस् !”

साहिँलीको बर्थडेमा औँठी, सिक्री, ब्रासलेट र श्रीमतीको हार नै उपहार दिनेहरू भन्छन्, “बेलामा त तँलाई आफ्नो बनाउन खोजेकै हो नि साहिँली, फुटेको आँखाले हेरिनस् ।”

पुराना ग्राहकले उधारो खाएर भट्टी बन्द हुने अवस्था आएपछि साहिँलीले एउटा जुक्ति निकाल्छे । त्यो जुक्तिले नै साहिँलीको भट्टी चल्न सघाउ पुगेको छ । भट्टीमा आउनेहरूलाई सुनौलो अफर यस्तो छ, “आउनोस्, पिउनुहोस् र रित्तिएको जवानी निःशुल्क लुट्नुहोस् ।”

साहिँलीलाई नै थाहा छैन, त्यो ‘स्किम’ कहिलेसम्म चल्छ ! विधातालाई मान्नैपर्छ, साहिँलीको जवानी ‘रिचार्ज’ गरिदिएकोमा । ‘रिचार्ज’ जिन्दगी न हो, कतिपटक ‘चार्ज’ हुन्छ, त्यो स्वयम् साहिँलीलाई नै थाहा छैन ।