मुक्तिप्रसाद न्यौपाने
पाल्पा, चैत ३
कालिगण्डकी उत्तरवाहिनी क्षेत्र पाल्पाको असेर्दी र स्याङ्जा जिल्लाको मालुङ्गामा प्राकृतिक चिकित्शालय र आधुनिक गुरुकुल निर्माण गरिने भएको छ । प्राकृतिक अस्पताल र आधुनिक गुरुकुल निर्माण गर्ने उद्देश्यले उत्तरबाहिनी क्षेत्रमा आज (चैत ३ देखी १३ सम्म) श्री रामकथा ज्ञान विज्ञान महायज्ञ सुरु हुन लागेको हो ।
कुल ३ अर्ब ९५ करोडको परियोजनाका लागि कालिगण्डकी ज्ञान विज्ञान प्रतिष्ठानले अभियान थालनि गरेको हो । कालीकगण्डकी ज्ञान विज्ञान प्रतिष्ठानले कालीगण्डकी कालिगण्डकीको पर्यटन प्रवद्र्धन गर्न, हिन्दू धर्मको संरक्षण, कालीगण्डकी नदी, शालिग्रामको महिमा बढाउन, ऊँकार चक्रशिला संरक्षण, योगध्यान निर्माण, आध्यात्मिक केन्द्र निर्माण गर्न महायज्ञ निर्माण गर्न लागिएको आयोजकले जनाएको छ । महायज्ञका सहसंयोजक पदम अर्यालले ३ अर्ब ९५ करोडको गुरुयोजना सहित महायज्ञ गर्न लागिएको बताए । उनी भन्छन्, ‘गत वर्ष गीता कथावाचन सहित महायज्ञ गरेर ट्रस्ट निर्माण गरेका छौं । अब बृहत्तर विकासका लागि कार्यक्रम गर्न लागेका छौं ।’
रम्भा गाउँपालिका अध्यक्ष बिष्णुप्रसाद भण्डारीले शालीग्राम शिलाको प्रचार देश तथा विदेशमा समेत पर्याप्तमात्रामा रहेको बताए । पत्रकार महासंघ पाल्पाका अध्यक्ष राजेशकुमार अर्यालले कालीगण्डकीको महिमा अथाह रहेको बताउँदै जलयातायातको सम्भावना समेत उत्तरवाहिनीमा रहेको बताए ।
विज्ञानलाई ज्ञानका माध्यमबाट कथा प्रवचन गरेर विश्वमा नाम कमाएका चैतन्य कृष्णले महायज्ञ आतङ्क भएको बताएका छन् । उनले स्वार्थबाट अभिप्ररित भएर महायज्ञ लगाउँदा दान गर्नेहरुमा आतङ्क छाएको बताएका हुन् । ‘दान भन्ने कुरा मागेर पाईने होईन । सेवाको भावनाले प्ररित दानमात्र वास्तविक दान हो । महायज्ञ धेरै भएका छन् । हामी कसैसँग केही नमागेर यज्ञ गर्दैछौं,’–चैतन्यले भने ।
आगामी चैत ३ देखी १३ सम्म सञ्चालन गरिने महायज्ञमा पवित्र कालीगण्डकीको एक हजार आठ शालिग्राम प्रदर्शन, देविभागवत पाठपारायण, रुद्राभिषेक, रामकथावाचन, वाल्मीकी कथा, गीता, १ सय ८ श्रीमद्भागवत, वेद, भजन, योगध्यान, तुलादान, ब्रतबन्ध तथा लाखबत्ती बाल्ने कार्यक्रम रहेको छ ।