काठमाडौं, ८ माघ- निर्वाचन सम्पन्न भएको भण्डै २ महिनापछि प्रदेशसभा सदस्यहरुले आइतबार पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । सातवटै प्रदेशमा जेष्ठ सदस्यहरुले प्रदेश प्रमुखबाट शपथ लिई अन्य सदस्यहरुलाई शपथ ग्रहण गराएका हुन् ।

हेर्नुहोस् ७ प्रदेशको शपथका ७ रोचक दृष्य :

शपथमा भाषा विवाद (प्रदेश २)

प्रदेश नम्बर २ मा सांसदहरुले शपथ लिने भाषाको लिपीलाई लिएर विवाद भयो । शपथग्रहणपछि हस्ताक्षर गर्ने क्रममा उनीहरुले विवाद झिकेका हुन् । मातृभाषामा शपथ गर्न पाउने व्यवस्था भए पनि शपथ गरेको हस्ताक्षर बुझाउने लिपी नेपाली भाषामा हुनुपर्ने भनेपछि विवाद शुरु भएको थियो । धनुषाका प्रमुख जिल्ला अधिकारी दिलीप चापागाईँले उद्घोषणका क्रममा मातृभाषामा शपथ गर्न सकिने तर, देवनागरी लिपीको काजगमा हस्ताक्षर गर्नुपर्ने बताएपछि मधेशकेन्द्रित दलका सांसदहरु उत्तेजित बनेका थिए ।

मनाङे आएनन् शपथ लिन (प्रदेश ४)

प्रदेश नम्बर ४ का ११ जिल्लाका ६० मध्ये ५८ प्रदेशसभा सदस्यले मात्र शपथ लिए । तनहुँबाट प्रदेशसभामा निर्वाचित रामबहादुर गुरुङ र मनाङका राजिव गुरुङ उर्फ दीपक मनाङे शपथमा सहभागी भएनन् । रामबहादुर विदेशमा रहेकाले सहभागी हुन नभ्याए पनि मनाङे पक्राउ पर्ने डरले शपथमा सहभागी नभएका हुन् ।

शपथका क्रममा प्रहरीदेखि सांसदहरुसम्मको चासो मनाङे आउँछन् कि आउँदैनन् भन्नेमा थियो । धेरैले उनलाई खोज्न आँखा डुलाए पनि, तर उनी सहभागी भएनन् ।

२०६९ साल साउन २८ गते तत्कालीन पुनरावेदन अदालत पाटनले ‘ज्यान मार्ने उद्योग’ मुद्दामा मनाङेलाई ५ वर्ष कैद सजाय तोकेको थियो । लामो समय गुपचुप रहेको फैसला पाँच वर्षपछि माघ २ गते सार्वजनिक भएसँगै मनाङे फरार छन् । उनलाई पक्राउ गर्न प्रहरीले खोजी कार्यका लागि टोली परिचालन गरेको छ ।

शपथका लागि हेलिकप्टर चार्टर (प्रदेश ६)

प्रदेश नम्बर ६ प्रमुख दुर्गाकेशर खनाल तथा २७ जना प्रदेशसभा सदस्य शपथ ग्रहणका लागि हेलिकप्टर चार्टर गरेर सुर्खेत पुगे । प्रदेशको अस्थायी राजधानी वीरेन्द्रनगर पुग्नका लागि उनीहरुले नेपाली सेनाको हेलिकप्टर प्रयोग गरेका हुन् ।

सो प्रदेशका ४० मध्ये समानुपातिकतर्फका सांसद प्रमाणपत्र बुझ्नका लागि काठमाडौं आएका थिए । प्रत्यक्षतर्फ निर्वाचित केही पनि काठमाडौंमै थिए । शनिबार विमानको टिकट लिएकोमा काठमाडौं-नेपालगञ्ज उडान अवरुद्ध हुँदा उनीहरु काठमाडौंमै रोकिएका थिए ।

आन्दोलन रोकेर शपथमा (प्रदेश ५)

प्रदेश नम्बर ५ को राजधानी दाङ बनाउनुपर्ने माग गर्दै आन्दोलनमा उत्रिएका दाङका प्रदेश सांसदहरु शपथका लागि आन्दोलन रोकेर बुटवलआए । सरकारले बुटवललाई अस्थायी राजधानी तोकेपछि दाङमा आमहडताल भएको थियो । ५ नम्बर प्रदेशको मुख्यमन्त्रीका दावेदार एमाले सांसद शंकर पोखरेलसहितका सांसदहरु शपथका लागि बुटबल आएका हुन् ।

प्रदेश सांसदको शपथ ग्रहण कार्यक्रममा नेकपा एमालेका उपमहासचिव विष्णु पौडेल पनि सहभागी थिए ।

विद्यादेखि बीपी र केपीसम्मको तस्वीरअगाडि शपथ (प्रदेश १)

प्रदेश नम्बर १ मा शपथ ग्रहणका लागि तयार पारिएको मञ्चमा प्रदेशका विशिष्ट व्यक्तिको तस्वीरराखिएको थियो । सबैभन्दा माथि राष्ट्रपति विद्यादेवी भण्डारीको तस्वीर राखिएको थियो । त्यसपछि एक लहरमा पूर्वप्रधानमन्त्री मातृकाप्रसाद कोइराला, विश्वेश्वरप्रसाद कोइराला, सूर्यबहादुर थापा, कीर्तिनिधि विष्ट, नगेन्द्रप्रसाद रिजाल, गिरिजाप्रसाद कोइराला, मनमोहन अधिकारी, झलनाथ खनाल र केपी शर्मा ओलीको तस्वीर राखिएको थियो ।

शपथका लागि उपस्थित अधिकांश सभासद् दौरासुरुवाल र गुन्युचोलीमा थिए । कुनै आदिवासी जनजातिका महिला सदस्य आआफ्ना लिम्बू र धिमालको संस्कृति झल्किने पोशाकमा थिए । एक पुरुष सदस्यले टाउकामा फेटा बाँधेका थिए । संघीय समाजवादी फोरम नेपालका प्रदेश सदस्य भने कुर्ता, पाइजामा र गम्छामा थिए ।

केन्द्रको राजधानीलाई सुनसान पारेर गर्मायो प्रदेश राजधानी (प्रदेश ३)

सधैँ चहल पहल र राजनीतिको केन्द्रमा रहने काठमाडौं आज छायामा पर्‍यो । सरकारले प्रदेश नम्बर ३ को राजधानी हेटौँडालाई तोकेपछि काठमाडौंकै प्रदेश सांसदहरुले पनि उपत्यका बाहिर जानुपर्‍यो । उता हेटौँडामा भने आजै खुबै चहलपहल देखियो । सबैभन्दा धेरै प्रदेश सांसद भएको प्रदेश समेत हो यो । यस प्रदेशमा १०८ प्रदेशसभा सदस्य छन् ।

शपथका लागि सांसदहरु मात्र होइन, काठमाडौंकै बासिन्दा प्रदेश प्रमुख अनुराधा कोइराला पनि हेटौँडा पुग्नुपर्‍यो । कोइरालासँग शपथ लिएपछि जेष्ठ सदस्यडोरमणि पाैडेलले अन्य सदस्यलार्इ शपथ गराएका थिए

एउटा मात्र प्रदेश जहाँ महिला जेष्ठ सदस्यले गराइन् शपथ (प्रदेश ७)

प्रदेश नम्बर ७ मा जेष्ठ सदस्य महिला रहिन् । जेष्ठ सदस्यको रुपमा शपथ गराउने एकमात्र महिला बन्ने सौभाग्य दिव्येश्वरी शाहले प्राप्त गरेकी हुन् । प्रदेश प्रमुख मोहनराज मल्लबाट पद तथा गोपनीयताको शपथ लिएपछि उनले अन्य सदस्यहरुलाई शपथ गराएकी थिइन् ।