पाल्पा । पाल्पा जिल्लाको सदरमुकाम तानसेनको खानेपानी समस्या समाधानका लागि कालीगण्डकी लिफ्टिङ खानेपानी आयोजनाको काम तीव्ररुपमा अघि बढेको छ ।

तानसेन १३ बौघा गुम्हाको कालीगण्डकी नदीबाट बोरिङ गरी १ हजार ४४ मिटर उचाईमा ६ वटा स्टेसनमार्फत पानी तानेर नगरको खानेपानी समस्या समाधान गर्ने लक्ष्य आयोजनाको रहेको छ ।

यस आयोजनाका लागि सरकारले ३९ करोड ८६ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ भने, १० प्रतिशत जनसहभागिताबाट जुटाइँदै छ । सम्झौताअनुसार १८ महिनाभित्र आयोजना सम्पन्न गर्ने गरी काम थालिएको खानेपानी तथा सरसफाई डिभिजन कार्यालय पाल्पाका डिभिजन इन्जिनियर केशवलाल शाक्यले बताए । शाक्यका अनुसार आयोजनाको हालसम्म १० प्रतिशत भौतिक प्रगति र ३२ प्रतिशत बित्तीय प्रगति भएको छ ।

आयोजनाका लागि विद्युत बिस्तारका लागि १ करोड ३७ लाखमा निर्माणको जिम्मा दिइएको छ । त्यस्तै, पाइप बिस्तार र खरिद तथा टंकी निर्माणका लागि २५ करोड ८६ लाखमा कामको ठेक्का दिइएको छ ।

तानसेनको खानेपानी समस्या समाधानका लागि १ लाख ४४ हजार लिटर प्रतिघन्टा पानी आपूर्ति गर्ने गरी काम थालिएको खानेपानी उपभोक्ता समितिका उपाध्यक्ष डा पुरनमान बज्राचार्यले बताए । उनले थपे, ‘समयमै काम सम्पन्न गरेर नगरवासीमाझ व्याप्त खानेपानी समस्या समाधान गरिने छ ।’ समाचार श्रोत: समाचार दैनिक