मुक्तिप्रसाद न्यौपाने

पाल्पा, पुस ३०

वार्षिक सात करोड बढीको तेजपात र दालचिनी जिल्लाबाट भारत निर्यात भएको छ । जिल्लाको गत पाँच वर्षको तथ्याङ्क अनुसार बार्षिक औसत सात करोड २५ लाख ६३ हजार ५८० रुपैयाँको निकासी देखिएको हो ।

जिल्लाबाट गत पाँच वर्षको अवधिमा कुल २४ करोड ३३ लाख ९ हजार १ सयको तेजपात र ११ करोड ९५ लाख ८ हजार ८ सयको दालचिनी किसानले बिक्रि गरेका हुन् । जिल्लाबाट आर्थिक वर्ष २०६९÷७० देखी गत आवसम्म ४ हजार ८ सय ६६ टन तेजपात र १ हजार १ सय ९५ टन दालचिनी निर्यात भएको हो । किसानको नीजि वनबाट गत पाँच वर्षमा जिल्लाबाट झण्डै ३७ करोड बढीको तेजपात बिक्रि भएको जिल्ला वन अधिकृत दधिलाल कंडेलले बताए । उनी भन्छन्, ‘जिल्लाको कोलडाँडा, बल्ढेङगढी, सत्यवती, तिनाउ, झडेवा, जल्पा लगायतका स्थानबाट दालचिनी भारत निर्यात भएको छ । तर जिल्लामा भएको एक तिहाई पनि दालचिनी किसानले बिक्रि गरेका छैनन् ।’ जिल्लाका किसानहरुले औषत ५० रुपैयाँमा तेजपात र एक सय रुपैयाँमा दालचिनी बिक्रि गर्ने गरेका छन् । ‘नेपालमा तेजपातको आन्तरिक बजार विकास गर्न सकिएको छैन । सबै भारत निकासी हुने गरेको छ । त्यो पनि २÷३ जना व्यापारीको एकाधिकारमा बजार छ । जिल्लामा गत वर्ष पनि १७ हेक्टर जमिनमा तेजपात रोपण गरिएको छ । किसानहरुले आफ्नो वनको तेजपात अझै टिपेर बजारसम्म पु¥याउन सकेका छैनन्,–वन अधिकृत कंडेलले भने ।  किसानले सीमित व्यापारीसँग कारोबार गर्नुपर्ने बाध्यता छ । भारतले वस्तु सेवा कर लगाउँदा भारतीय व्यापारी कम आउने गरेका छन् । भारतको बजारको २० प्रतिशत बढी माग नेपालबाट पुरा हुने गरेको जानकारहरु बताउँछन् ।

किसानहरुको आयआर्जनको भरपर्दो नगदेबालीका रुपमा तेजपातलाई लिने गरिन्छ । यसलाई प्रशोधन गरि उद्यम सञ्चालन गर्न सकिने कंडेल बताउँछन् । उनी भन्छन्–औषधीय तथा मसलाजन्य गुणहरु यसमा छ । यसको खेती बिस्तार गरि पर्यापर्यटनको विकास पनि गर्न सकिन्छ । जिल्लाको कुल ३८ हजार हेक्टर क्षेत्रफलमा सामुदायिक वन छ । यी वनका अधिकांश स्थानमा पनि तेजपात रोपण गरिएको छ । जिल्लामा ६ सय ७२ सामुदायिक ८८ कबुलियति वन छन् ।

 तेजपातले परिवर्तन गरिदियो गाउँ

तिनाउँ गाउँपालिका–४, कोलडाँडाका दानबहादुर गाहाले यहाँको सत्यवति क्षेत्रलाई तेजपातको राजधानी (पकेट क्षेत्र) घोषणा गरिएसँगै व्यवसायीक रुपमा गरिएको खेतीले गाउँको मुहारनै परिवर्तन गराएको बताए । दानबहादुरमात्र होईन यहाँका अधिकांश गाउँलेको दैनिकिनै तेजपातको स्याहारसुहारमा केन्द्रित छ ।

दिनहुँ जसो पात टिप्यो, बोक्रा तास्यो, सुकायो, संकलन केन्द्रमा पु¥यायो यस्तैमा बित्ने गर्दछ । गाहा भन्छन् यस क्षेत्रका एक परिवारले बार्षिक रुपमा दुई लाख रुपैँया भन्दा बढीको तेजपातको कारोबार गर्दछन् । ‘तेजपातको आम्दानीबाट खर्चिएको रकमले गाउँमा पुग्ने मोटर बाटो निर्माण भएको छ । विद्युतीकरणका लागि समेत ठूलो धन राशी खर्चियो तेजपातका कारण गाउँ बस्तीको मुहार फेरिएको छ’– स्थानीय पार्वती चिदी बताउँछिन् । जिल्ला वन कार्यालयकै समन्वयनका कारण धेरै ठाउँबाट यहाँको विषयमा अध्ययन अवलोकन गर्न आउनेहरुबाट हामीले धेरै कुरा सिक्ने अवसर समेत पाएका छौ । उनीहरुबाट सिकेको हो, अतिथी सत्कार गर्न, यहाँ आउनेहरुलाई कस्तो व्यवहार गर्नु पर्दछ भन्ने जानकारीले महिलाहरु पनि धेरै चेतनशील भएकाछन् चिदीले बताईन् । अनावश्यक गर्फ गर्ने, झगडा गर्ने जस्ता बानी हटेको छ ।

बिहिबार कास्की र तनहुँका सामुदायिक वनका पदाधिकारी तथा किसानहरुको समूह यस क्षेत्रमा आएर तेजपातको खेती सम्बन्धि जानकारी लिएको झुम्सा इलाका वन कार्यालयका सहायक वन अधिकृत चन्द्रबहादुर भाटले बताए । उनी भन्छन्, कोलडाँडा गाविसमा मात्र बार्षिक दुइ करोड रुपैँया भित्रन्छ । तेजपातलाई आफ्नो जिवनसँग जोडेका छन् । त्ययो क्षेत्र विउ उत्पादनका लागि राम्रो पकेट क्षेत्र समेत बनेको छ ।’ कास्कीबाट आएकी सुनिता घलेले भनिन्, जताततै दालचिनीमात्र देख्यौं । केही नहुने जस्तो पाखो जमीनबाट पनि राम्रो आम्दानी लिन सकिने रहेछ । तेजपातलाई बहुवर्षे बालीको रुपमा लिन थालिएको छ ।