वैशाख ६ गते, बुधबार ।
आजका सबैजसो दैनिकले राष्ट्रपति विद्यादेवी भण्डारीको भारत भ्रमणको समाचारलाई महत्त्वका साथ प्रस्तुत गरेका छन् ।
नयाँ पत्रिकाले राष्ट्रपति भण्डारीको भारत–यात्रा र त्यस क्रममा भएको भेटवार्ताको प्रसङ्गलाई आजको मुख्य खबर बनाएको छ । ‘सबैलाई समेट्न भारतको आग्रह’ शीर्षक उक्त समाचारमा हाइलाइट गरिएको सन्दर्भ छ, ‘‘राष्ट्रपति भण्डारीले संविधानको व्याख्या गरिन्, मोदीले धैर्यपूर्वक सुने, जवाफ दिएनन् ।’’

राष्ट्रपति भण्डारीसँगको शिष्टाचार भेटमा भारतका राष्ट्रपति प्रणव मुखर्जीले सबैलाई समेटेर संविधान कार्यान्वयन र निर्वाचन गर्न सुझाव दिएको उल्लेख छ । राष्ट्रपति भण्डारीसँगको भेटमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भनेका छन्, ‘‘नेपाल र भारत कोही मेहमान वा जजमान छैन, हामी बराबर छौं । नेपालको लोकतान्त्रिक विकासमा भारतको सद्भाव छ । नेपालसँग हाम्रो धार्मिक, सांस्कृतिक र ऐतिहासिक सम्बन्ध छ । छिमेकीको विकास हाम्रो प्राथमिकता हो ।’’

मुखर्जी र मोदीका साथै राष्ट्रपति भण्डारीसँग भारतका उपराष्ट्रपति हमिद अन्सारी, वित्त एवं रक्षामन्त्री अरुण जेट्ली, गृहमन्त्री राजनाथ सिंह र विदेशमन्त्री सुषमा स्वराजले शिष्टाचार भेट गरेको समाचारमा उल्लेख छ ।

समाचारअनुसार, भेटका क्रममा गृहमन्त्रीबाहेक अरू कसैले पनि निर्वाचनको प्रसंग निकालेनन् । गृहमन्त्री सिंहले चाहिँ निर्वाचनबारे जिज्ञासा राख्दै सुपुर्दगी सन्धि तथा आपसी कानुनी सहायता सन्धि गर्नुपर्नेमा जोड दिएको नयाँ पत्रिकाको समाचारमा उल्लेख छ ।

अन्नपूर्ण पोस्टको मुखपृष्ठमा प्रकाशित भारत भ्रमणसम्बन्धी समाचारमा राष्ट्रपति भण्डारी मंगलबारका दिन दोस्रो दिनको औपचारिक कार्यक्रममा व्यस्त रहेको र भेटवार्ताका क्रममा भारतीय राष्ट्रपति मुखर्जीसँग नेपाल–भारतबीच ऊर्जा, पूर्वाधार विकास, सीमापार ‘कनेक्टिभिटी’ र भूकम्पपछिको पुनर्निर्माणलगायतका क्षेत्रमा सहयोग विस्तार गर्नेबारे छलफल भएको उल्लेख छ ।

राजधानी दैनिकले संविधान कार्यान्वयनमा सद्भाव आह्वान भन्ने शीर्षकमा राष्ट्रपतिको भारत भ्रमण सम्बन्धी समाचार प्रकाशित गरेको छ ।

वैशाख ३१ मै चुनाव हुने निर्वाचन आयोगको दृढ धारणा  
प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवले निर्वाचन गन्तव्य (डेस्टिनेसन) मा पुग्ने बेला द्विविधाको कुरै नरहेको बताएका छन् । नागरिक दैनिकले ‘वैशाख ३१ मै निर्वाचन निश्चित’ शीर्षक राखेर बनाएको मुख्य समाचारमा निर्वाचन तयारीबारे मंगलबार साँझ निर्वाचन आयोग र पत्रकारबीचको अन्तक्र्रियाका क्रममा निर्वाचन सम्पन्न गराएरै छाड्न दृढता प्रमुख निर्वाचन आयुक्त यादवले आत्मविश्वाससहित व्यक्त छ । समाचारअनुसार उनले भनेका छन् – ‘‘केका लागि द्विविधा ?’’

यादवले २०६४ सालको निर्वाचनमा मधेसमै ५० वटा मधेसी दलमात्र होइन, भूमिगत दलसमेत विरुद्धमा हुँदा पनि निर्वाचन सम्पन्न भएको र त्यतिखेर सहमतिका लागि समानुपातिकको बन्द सूची मनोनयनको मितिसमेत सारिएको प्रसङ्ग पत्रकारलाई स्मरण गराएका छन् । उनले भनेका छन्, ‘‘त्यति बेला पनि निर्वाचन हुन्छ भनेर कसैलाई विश्वासै थिएन । हामी त्यति बेला भन्थ्यौँ, हेर्दै रहनुहोला, जनता आउँछन् । त्यतिबेला ६३ प्रतिशत मतदान हुँदा सबै छक्क परे ।’’

नागरिकले सोही मुख्य समाचारको पूरकका रूपमा ‘अन्योलमा नपर्नू, सुरक्षा तयारी गर्नू’ शीर्षकअन्तर्गत गृहमन्त्री विमलेन्द्र निधि निर्वाचन सुरक्षाको विपक्षमा उभिएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल आफैँ सुरक्षा अवस्थाबारे जानकारी लिन सक्रिय भएको समाचार लेखेको छ । वैशाख ३१ मै निर्वाचन हुनेबारे निर्वाचन आयोगको स्पष्टोक्तिको समाचारलाई आजका सबैजसो दैनिक पत्रिकाले महत्त्वका साथ छापेका छन् ।

प्रधानमन्त्रीको खुलासा : ‘निर्वाचन रोक्न ठूलो दबाब छ’  
हिमालय टाइम्सको ‘निर्वाचन रोक्न ठूलो दबाब छ : प्रधानमन्त्री’ शीर्षक समाचारअनुसार प्रधानमन्त्री पुष्पकमल दाहालले स्थानीय तहको घोषित निर्वाचन रोक्नका लागि आफूमाथि ठूलो दबाब आइरहेको खुलासा गरेका छन् ।

समाचारमा जतिसुकै ठूलो दबाब आए पनि निर्वाचन गराउन आफू प्रतिबद्ध रहेको प्रधानमन्त्रीले बताएका छन् ।
हिमालय टाइम्समै भक्तपुरको सूर्यविनायक नगरपालिका–१, सिरुटारस्थित पिलागाउँमा खानेपानी निकाल्न गरिएको डिप बोरिङबाट मंगलबार बिहान अचानक निस्केको आगोको मुस्लो चार घन्टापछि मात्र नियन्त्रणमा आउन सकेको आश्चर्यजनक खबर पनि छापिएको छ ।

यो समाचारलाई कान्तिपुरले ‘डिप बोरिङ गर्दा ग्यास निस्केपछि आगलागी’ शीर्षक राखेर चौथो पृष्ठमा प्रस्तुत गरेको छ ।

तस्बिर समीक्षा
नागरिक दैनिकबाहेक आजका सबैजसो दैनिकले भारत भ्रमणमा रहेकी राष्ट्रपति विद्यादेवी भण्डारीलाई भारतका गरिएको स्वागत र शिष्टाचार भेटघाटका भिन्न–भिन्न तस्बिरहरूलाई मुख्य बनाएका छन् ।

नागरिक दैनिकले चाहिँ निर्वाचन तयारीबारे निर्वाचन आयोगले गरेको पत्रकारसँगको अन्तक्र्रिया कार्यक्रमको दृश्यलाई मुख्य तस्बिर बनाएको छ ।

सम्पादकीय
नयाँ पत्रिकाले ‘उम्मेदवारको योग्यता’ शीर्षक सम्पादकीय लेखेको छ । सम्पादकीयमा अहिले हुन लागेको स्थानीय सरकारको निर्वाचनको अर्थ पहिले पहिले गाउँका मुखिया या प्रधानपञ्च छनोट गरेजस्तो पक्कै होइन भन्दै दलहरूका घोषणापत्र जेजस्ता आए पनि त्यस्ता प्रतिबद्धता कार्यान्वयन गर्न सक्ने योग्यताका साथै स्थानीय तहको सरकारका दायित्वका रूपमा संविधानले परिकल्पना गरेको जिम्मेवारी पूरा गर्नसक्ने योग्य उम्मेदवार आउलान् कि नआउलान् भन्ने प्रश्न गरिएको छ ।

नागरिकको सम्पादकीयको शीर्षक छ– ‘निधिको नियत’ । सम्पादकीयमा मुलुक स्थानीय तह निर्वाचनमा होमिएका बेला सरकारका गृहमन्त्रीबाट आएको अभिव्यक्तिले सर्वत्र अन्योल बढ्न पुगेको विश्लेषण छ ।

अन्नपूर्ण पोस्टको ‘फोस्रो चिन्ता’ शीर्षक सम्पादकीयमा राष्ट्रपति विद्यादेवी भण्डारीलाई भारत भ्रमणका क्रममा त्यहाँका राज्यमन्त्रीले विमानस्थलमा स्वागत गरेको कुरालाई नेपालको प्रतिष्ठासँग जोडेर बहसको विषय बनाउनुभन्दा हामीले आफ्नो हैसियत, भूमिका र निर्णय क्षमता बढाएर छिमेकीलाई आफ्नो विचारको प्रभावमा ल्याउनु आवश्यक रहेको सन्दर्भ उल्लेख छ ।

कान्तिपुरले ‘गौरवका आयोजनालाई प्राथमिकता देऊ’ शीर्षक सम्पादकीय लेखेको छ भने गोरखापत्रको सम्पादकीयको शीर्षक छ– ‘स्वास्थ्य क्षेत्रमा सुखद सङ्केत’ ।
हिमालय टाइम्सको ‘विद्युत् ऊर्जामा महत्त्वाकांक्षा’ शीर्षक सम्पादकीयमा ऊर्जा मन्त्रालयले अगाडि सारेको विद्युत् उत्पादनसम्बन्धी महत्त्वाकांक्षी योजनाको समीक्षा र प्रशंसा गरिएको छ ।

राजधानीले ‘स्वाइनफ्लुविरुद्ध सचेतना जरुरी’ शीर्षक सम्पादकीय लेखेको छ । उक्त सम्पादकीयमा नेपालमा स्वाइनफ्लु भेटिएको समाचारको विवेचना गर्दै त्यसबाट बच्न अपनाउनुपर्ने सावधानीका उपायहरू उल्लेख गरिएको छ । बाह्रखरी

तस्बिर रासस