कार्तिक २४, २०७४-नारायणगढ–मुग्लिन सडक खण्ड शनिबार बन्द हुने भएको छ । सेती दोभान नजिकको ठूलो चट्टानसहितको ढिस्को झार्न सडक बन्द गर्न लागिएको हो । सडक आयोजना कार्यालयले सूचना जारी गर्दै बिहान १० देखि साँझ ५ बजेसम्म बन्द रहने जनाएको छ ।

 आयोजना इन्जिनियर शिव खनालले सवारीसाधन रोकेर निर्माणको काम गरिने बताए । उनले आइतबार (कात्तिक २६ गते) देखि भने सवारी चाप हेरेर एकपटकमा एकदेखि डेढ घण्टासम्म सवारीसाधनलाई रोकेर काम हुने जानकारी दिए । ‘बिहान ७ देखि दिउँसो ४ बजेसम्म सवारी चाप हेरेर रोक्दै काम गरिनेछ,’ उनले भने । जिल्ला प्रशासन कार्यालयमा भएको छलफलपछि उक्त निर्णय गरिएको हो ।

‘नजिकिँदै गरेको निर्वाचनलाई मध्यनजर गर्दै सहज आवागमन गराउने उद्देश्यले यस्तो निर्णय गरिएको हो,’ खनालले भने, ‘काम छिटो सक्नु छ, सोह्र किलो, घुमाउने र चेपाङ डाँडाको पहाड काट्न बाँकी छ ।’ पहाड कटिङ गर्ने समयमा सवारीसाधन खुला गर्दा दुर्घटनाको जोखिम बढी हुन्छ । प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टले पनि २६ गतेदेखि पहाड कटिङ गर्ने ठाउँमा एक/डेढ घण्टा सवारीसाधन रोक्ने निर्णय भए पनि अवस्था हेरेर एकतर्फी गाडी चल्ने बताए । अहिले सडक निर्माणको काम ५९ दशमलव ३ प्रतिशत भएको छ । आयोजनाका अनुसार करिब १० किमि सडक कालोपत्रे गरिएको छ । इन्जिनियर खनालका अनुसार रामनगर, गाईघाट र भालुढुंगामा कालोपत्रेको काम जारी छ ।

३६ किमि सडकमध्ये स्तरोन्नति सुरु गरिएको ३३ दशमलव २ किमि हो । सडकको तीन खण्डमै कालोपत्रेको काम जारी छ । पहिलो चरणको काम सकिएपछि यात्रा सहज हुनेछ । खनालका अनुसार कालोपत्रे ३ तहमा गरिनेछ । जुन १६ सेमि मोटो हुनेछ । पहिलो तहमा ६, दोस्रोमा ६ र अन्तिममा उच्च गुणस्तरको ४ सेमिको कालोपत्रे भएपछि ३ तह पूरा हुनेछ । राजधानी मात्र नभई पूर्व–पश्चिम जान यही सडकको प्रयोग हुन्छ ।

जिल्ला ट्राफिक प्रमुख प्रहरी निरीक्षक सन्तोष पन्तका अनुसार दैनिक ८ हजार सवारीसाधन उक्त सडकमा गुड्ने गरेका छन् । यात्रामा सहजता प्रदान गर्न मुलुकका विभिन्न ६ ठाउँमा ‘डिजिटल रोड इन्फरमेसन बोर्ड’ राख्ने निर्णयअनुसार ४ ठाउँमा राखी सकिएको छ । यो सडकको स्तरोन्नतिको काम सन् २०१५ अप्रिलबाट भएको हो ।