पाल्पा, वैशाख २
स्थानीय निर्वाचनको मिति नजिकीदै जादाँ जिल्लामा निर्वाचनको माहोल तात्दै गएको छ । जिल्लाका विभिन्न गाउँमा स्थानीय तह चुनावका लागि नेताकार्यकर्ताको भीड दिनानुदिन बढिरहेको छ । चुनावको मिति नजिकिएसँगै युवामा उत्साह देखिएको छ । पार्टीका कार्यक्रमहरु मार्फत् कार्यकर्ता प्रवेश गराउने होड नै चल्न थालेको छ ।
आउँदो वैशाख ३१ मा हुने स्थानीय तह चुनावका लागि तयारी तीव्र हुँदा महिला उम्मेदवारको चर्चा कम र युवाको चर्चा बढी हुन थालेको छ । औपचारिक कार्यक्रम र सामाजिक सञ्जाल मार्फत् उम्मेदवारको घोषणा सुरु भएको छ ।
अहिलेसम्म वगनाशकाली गाउँपालिकाको लागि कांग्रेसका कृष्णप्रसाद बस्याल, थानेश्वर तिमिल्सेना र सुनिता अधिकारीको नाम चर्चामा छ । एमालेबाट देवीप्रसाद बस्यालले टीकट पाउने सम्भावना प्राय निश्चित भएता पनि उनले प्रदेशमा आफुलाई पार्टीले स्थान दिनुपर्ने र आफु गाउँपालिकामा अध्यक्षमा नभिड्ने बताएको स्रोतको भनाई छ । यसकारण एमालेका कमल पाण्डेय, भगवान भण्डारी, मोहन थापा, टीकाबहादुर थापा र हरि पाठक सम्भावित उम्मेदवार हुन् । यता माओवादी केन्द्रबाट मथुरा ढकाल, कृष्ण भुसाल, खुमबहादुर विक, शान्ता न्यौपाने र गीता रेग्मीको नाम चर्चामा रहँदा राप्रपाका बिष्णु पाण्डे, कपिल ढुंगाना र लक्ष्मण सिं राना पनि सम्भावित उम्मेदवार हुन् ।
वगनाशकाली गाउँपालिका सबैभन्दा ठूलो गाउँपालिका भएकोले यहाँ उम्मेदवारहरुको सूची पनि लामै छ । तै पनि यो क्षेत्रमा काँग्रेसले आफ्नो बलियो पकट भएको क्षेत्र जनाएको छ । काँग्रेसका क्षेत्रीय समितिका सभापति समेत रहेका प्रमुख उम्मेदवारका रुपमा चर्चामा रहेका क्षेत्र नं. २ का सभापति कृष्णप्रसाद बस्यालले काँग्रेसको यो गाउँपालिकामा जीत सूनिश्चित भएको बताए । उनी भन्छन्, ‘साविकको चापपानी, चिर्तुङ्गधारा, खानीगाउँ बराङ्दी, पोखराथोक, नायरनमतलेसमा कांग्रेस धेरै अगाडी छ । २०७० को निर्वाचनमा यहाँका नौ वटा गाविसमा चुनाव जितेकै कारण यस पटकको चुनाव जित्ने पक्का छ ।’ यस क्षेत्रको विकासमा कांग्रेस धेरै अगाडी छ । शिक्षादेखी पर्यटकीय विकासमा कांग्रेसले नेतृत्व लिएकै कारण चुनावमा अगाडी रहेको उनले बताए ।