रामपुरका खाँणको हत्या अभियोगमा घरबेटीसहित ४ पक्राउ

0

भदौ १९, पाल्पा

रामपुर नगरपालिका-१ चिहानडाँडाका २९ वर्षीय ओमबहादुर खाँणको हत्या अभियोगमा घरबेटीसहित  ४ जनालाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेमा घरबेटी रामपुर–४ देविस्थानकी गंगी थापा, उनकी बहिनी निस्दी गाउँपालिका-२ की बुद्धी दर्लामी, कपिलवस्तु घर भई विगत ६ वर्षदेखि रामपुर बस्दै आएका २९ वर्षीय कृष्णकमल चौधरी र उनकी श्रीमती विमला चौधरी रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायव उपरीक्षक रमेश पण्डितले जानकारी दिए।

पेन्टर काम गर्दै आएका कृष्णकमल चौधरीलाई रामपुर नगरपालिकाको हुँगीबाट पक्राउ गरिएको हो भने अन्य ३ जनालाई रामपुर बजारबाटै नियन्त्रणमा लिएको उनले बताए। घट्नामा उनीहरु चारै जनाको संलग्नता रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ उनले भने यद्यपि, घटनाको थप अनुसन्धान भइरहेको छ। मेरै नेतृत्वमा घट्नाको अनुसन्धान गरिरहेका छौं घट्नास्थल रामपुर पुगेका प्रनाउ पण्डितले भने चारै जनालाई जिल्ला प्रहरी कार्यालयमा ल्याएर थप अनुसन्धान गर्नेछौं । उनले घट्नाको सत्यतथ्यनजिक पुगेको र सोमबारसम्म पत्रकार सम्मेलन गरी जानकारी दिने थाहा खबरलाई बताए।

रामपुर नगरपालिकामा रहेको ग्रामीण विकास बचत तथा ऋण सहकारी संस्थामा कार्यरत खाँणको शनिबार राती ९ बजेतिर हत्या भएको थियो। उनलाई माटो खन्ने गैंती प्रहार गरेर हत्या गरिएको छ। खाँण रामपुर–४ देविस्थानमा अर्काको घरमा भाडामा बस्दै आएका थिए।