पाल्पा, नेपाली सेनाले निकालेको दोस्रो ऐतिहासिक गोरखा–जितगढी पदयात्रामा सहभागी टोली आइतबार पाल्पा आईपुगेको छ । गत चैत्र २७ गते गोरखा बाट पदयात्रामा निस्किएको टोली नेपाल एकीकरणको समयमा प्रयोग भएका गोरखा बाट पश्चिम तर्फको मार्ग पछ्याउँदै पाल्पा आईपुगेको हो ।

राष्ट्रिय झण्डाको साथमा एकीकरणको दौरान स्थापना भएका ५ प्रथम कम्पनी (श्रीनाथ, कालिबक्स, बर्दवाणी, सबुज, पुरानो गोरख) र जितगढी लडाईमा सहभागी गुरुबक्स गुल्मको झण्डा बोकेर बाजागाजा सहित स्याङ्जाको चापाकोट ६ साँखर हुँदै केलादी घाट बाट पाल्पा प्रवेश गरेको हो । टोलीलाई केलादीमा पञ्चेबाजा सहित फुलमालाले भव्यताका स्वागत गरिएको थियो । नेपाली सेनाको टोलीलाई जिल्ला समन्वय समिति पाल्पाका प्रमुख टंकनाथ खनाल, रामपुर नगरपालिका प्रमुख रमण बहादुर थापा, रामपुर नगरपालिका उपप्रमुख बालकुमारी थापा, प्रमुख जिल्ला अधिकारी आनन्द काफ्ले, २२ नम्बर बाहिनी बुटवलका सहायक रथी ललितबहादुर कुँवर, दि फेमस महिन्द्र दल गणका गणपति भुपेन्द्र गुरुङ, लगायत रामपुर नगरपालिकाका कर्मचारी, विद्यार्थी, सहित स्थानीयले स्वागत गरेका थिए ।

पाल्पा प्रवेश गर्नु अघि श्री नं. ३ राजदल गणका प्रमुख सेनानी रवि खड्काको टोलीले दी फेमस महिन्द्र दल गणलाई झण्डा र विजय दिप हस्तान्तरण गरेको थियो । पञ्चे बजार सहित आएको टोलीलाई लखन पार्क, खोप्टार पाटी र देविस्थानमा सांस्कृतिक झाँकी सहित विभिन्न समुहले स्वागत गरेको थियो । पदयात्रामा रामपुर स्काउट ट्रुप, राष्ट्रिय सेवा दलमा आवद्ध विद्यार्थी सहित जनप्रतिनिधिहरुले साथ दिएका थिए । रामपुर नगरपालिका–४ देविस्थानमा रामपुर नगरपालिकाको आयोजनामा स्वागत समारोह भएको थियो ।

कार्यक्रममा बोल्दै जिल्ला समन्यव समिति पाल्पाका प्रमुख टंकनाथ खनालले सेनाले चालेको कदमले ऐतिहासिक गढी र किल्लाहरुको पहिचानमा सहयोग गरेको बताउनुभयो । गढी तथा किल्ला संरक्षणमा समेत स्थानीय, प्रदेश र संघिय सरकारको ध्यान पुग्ने उहाँको भनाई थियो  । रामपुर नगरपालिकाका प्रमुख रमण बहादुर थापाले ऐतिहासिक स्थलको पहिचान र प्रचार प्रसारका लागि भएको पदयात्राले भावि पुस्तालाई जानकारी दिन मात्र नभै पर्यटन प्रवद्र्धनमा समेत महत्वपूर्ण योगदान दिने बताउनुभयो । प्रमुख जिल्ला अधिकारी आनन्द काफ्लेले पदयात्राले सेना र जनता विचको सम्बन्ध थप सुमधुर बनाउन सहयोग गरेको बताउनुभयो ।

श्री नं. २२ बाहिनीका सहायक रथी ललित बहादुर कुँवरले इतिहासको सम्वद्र्धन तथा प्रवद्र्धन गरी भावी पुस्ताहरुको लागि हस्तान्तरण गर्ने, राष्ट्रिय एकताको भवना थप प्रगाढ बनाउने उद्देश्यले गत वर्ष देखि पदयात्रा सुरु गरिएको जानकारी दिनुभयो । जिल्लाको बाकुमगढी एकिकरणको समयमा गोरखाली फौज र पाल्पाली फौज विच रणसंग्राम भएको माथागढी र नुवाकोट गढी नेपाल अंग्रेज युद्धको समयमा प्रयोग भएको महत्वपूर्ण स्थान रहेकमो बताउनुभयो । उहाँले इतिहासको सम्वद्र्धन र प्रवद्र्धन गरी भावी पुस्ताहरुको लागि समेत इतिहासको जगेर्ना गरिएमा राष्ट्रिय एकिकरण अभियानमा हाम्रा पुर्खाहरुले प्रस्तुत गर्नु भएको अदम्य साहस र वीरतालाई उजागर गर्न एवं राष्ट्रिय भावनाको अभिवृद्धि गर्न सहयोग  गर्ने बताउनुभयो ।

पदयात्रा टोली केलादी देखि खोप्टार पाटी, सदावर्त, देवीस्थान, सीताकुण्ड, बेलडाँडा, सिलुवा, जब्गादी, वीरकोट हुँदै बाकुमगढीमा पुग्नेछ । बाकुमगढीबाट ताहुँ, हुमिन, देवीनगर, मुन्टुङ, केरौली, झडेवा, जगात, गोठादी हुँदै माथागढी जानेछ । माथागढीबाट हर्नेटार, मरमरा, सिकारकोट, दमार, एक्लेबर सराई, दमकडा भएर प्रवास (तानसेन) मा बस्नेछ । प्रवासदेखि बर्तुङ तानसेन, रणउजिरेश्वरी भगवती मन्दिरबाट पुनः काजीपौवा बाट डुम्रे, मस्याम, सिस्ने, मरेक झुम्सा, दोभान भएर नुवाकोट गढीमा पुग्ने नेपाली सेनाले जनाएको छ । अन्तिम दिन दोभान नुवाकोट देखि जितगढीसम्मको यात्रा गरेर वैशाख ७ गते समापन हुनेछ । रामपुर नगरपालिकाका नगर प्रमुख रमण बहादुर थापाको अध्यक्षतामा भएको कार्यक्रम उपप्रमुख बालकुमारी थापाको स्वागत र दि फेमस महिन्द्र दल गणका उपसेनानी जिविता राईको सञ्चालनमा भएको थियो ।

पदयात्राले सैनिक र नागरिकको सम्बन्ध सुमधुर हुने, नेपालीको गौरवपूर्ण इतिहासप्रति आम नागरिकको अभिरुचि बढ्ने, भावी पुस्तालाई इतिहासबारे जानकारी हुने लक्ष्य लिईएको छ । जिल्लाका पालिकाहरुले पदयात्रामा रहेको टोलीलाई आआफ्नो पालिकामा स्वागत गरी विदाई गर्नेछ । केलादीमा स्वागत गरेको रामपुर नगरपालिकाले टुनीभञ्ज्याङ्ग पुगेर विदाई गरेको छ । रामपुर नगरपालिकाका नगर प्रमुख रमण बहादुर थापाले निस्दी गाउँपालिकाका उपप्रमुख तीरन कुमारी श्रेष्ठलाई झण्डा हस्तान्तरण गर्नु भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय