चोर, पुलिस, डाँका, फटाहा, व्यापारी, नेता सबैको भूमिका निर्वाह गरिसकें

0

नरेश फुयाँल

गाईजात्रा कत्तिको लागिरहेको छ ?

हिजोबाट सुरु गाईजात्रा प्रहसन सुरु ग¥यौं । यो भदौ ३ गतेसम्म चल्नेछ । अहिलेलाई यस्तै छ ।

विगतका वर्षहरुको तुलनामा गाईजात्राप्रतिको आकर्षण घट्दै गएको हो ?

हिजोको ओपनिङ शो हाउसफुल भयो । यो प्रश्नको उत्तर सायद भदौ ३ गतेपछि राम्रोसँग दिन सकिन्थ्यो होला ।
हाउसफुल भएको छ पहिलो दिनको शो नै यसलाई मूल्यांकन गर्दा क्रेज घटेको भन्न मिल्दैन जस्तो लाग्छ । आजको शोबाट केही दृश्य थपघट पनि गर्दैछौं दर्शकको मनोविज्ञान बुझेर ।

विसं २०३८ सालबाट गाईजात्रा प्रहसन गर्दै आउनुभएको छ । अझै पनि दर्शकको नाडी छाम्न सक्नुभएको छैन ?

मान्छे भगवान होइन । गर्दै सिक्दै जाने हो । कालो पाइन्ट लगाउँदा राम्रो देखिन्छ कि रातो पाइन्ट लगाउँदा राम्रो देखिन्छ भनेर लगाउँदै हेर्दा कुन राम्रो हुन्छ त्यही लगाउने हो । जुन दर्शकले मन पराउँछन् त्यही गर्ने हो भन्न खोजेको हुँ ।

दर्शकलाई हसाउँन कत्तिको गाह्रो छ ?

सबभन्दा गाह्रो काम नै हसाउँन रहेछ । रुवाउन भन्दा पनि हसाउन गाह्रो रहेछ । निकै मेहनत गर्नुपर्छ ।

के गर्दा सहजै हाँस्छन् दर्शक ? 

दोहोरो अर्थ लगाउँदा दर्शक पेट मिचिमिचि, उफ्रीउफ्री हाँस्नुहुन्छ । महिला र यौनसँग जोडेर व्यङग्य गर्दा दर्शकलाई हँसाउन सजिलो हुन्छ ।

दोहोरो अर्थ लाग्ने शब्द राखेर हँसाउनु त राम्रो होइन नि तपाइँहरु जत्तिको कलाकारले होइन र ?

हो । यसबारे म जानकार छु र यसको म स्वयम पनि विरोधी हुँ ।

त्यसो भए किन त्यसरी हँसाउनुहुन्छ त ?

गाईजात्रा व्यावसायिक भयो । आयोजक प्रायोजक पनि जोडिएर आउन थाले । म मात्रै पनि त्यहाँ हुन्नँ । अर्को कुरा कसरी बुझ्ने भन्ने पनि हो ।

राजनीतिक व्यङग्य धेरै भयो भन्छन् नि !

होइन । खाल्डा किन पुरिएन भनेर पनि हामीले व्यङगय गरेका छौं । अर्थ, होटल, पर्यटन, अस्पताल यी सबै कुरा राजनीतिसँग जोडिएर आउँछन् ।

गाईजात्रा त एक दिन माइन्छ तर तपाईंहरु त १५ दिन मनाउनुहुन्छ । यो अर्को गाईजात्रा भएन र ?

मनाउनुपर्ने त एक दिन नै हो । एक दिन व्यङ्ग्य गर्न छुट पनि छ । राज्यले नै यो सुविधा पनि दिएको छ । तर, काठमाडौंमा ४० लाख जनता बस्छन् । उहाँहरुलाई एक÷दुई शो देखाएर सबैले हेर्न पाउनुभएन । हप्तौं दिन देखाउँदा पनि हाउसफुल दर्शक हुन्छन् । दर्शकको माग हो । त्यसैले यो लम्बिएको हो ।

एक दिन व्यङग्य गर्ने छुट छ तर तपाईंहरु १५ दिन गाली गर्नुहुन्छ । यो छुट् छ त यहाँहरुलाई ?

सडकमा खाल्डा छन् । यो पुर्नुपर्छ भन्न त सँधै सबैले पाउनुपर्छ नि हैन र ? १२ महिना नै जनताको पक्षबाट खबरदारी गर्न पाइन्छ भन्ने लाग्छ र भइरहेको पनि छ ।

तपाइँहरु काठमाडौं केन्द्रित हुनुभयो नि, किन ?

मेरो मनमा उठेको जिज्ञासा राख्नुभयो । सुरुमा हामी पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म यस्ता प्रहसन ग¥थ्यौं । जहाँ प्रहसन गर्ने हल र साउण्ड सिस्टम थिए । त्यहाँ प्रहसन गर्थ्यौं । तर एक दशकदेखी भने हामी काठमाडौंमा सीमित भएका छौं । आयोजक प्रायोजक भएको खण्डमा हामी जान सक्छौं । गतवर्ष हामी मह यात्रा भनेर पूर्वमेचीदेखि पश्चिम महाकालीसम्म गयौं । त्यो कार्यक्रमको संयोजकत्व मैले नै गरेको थिएँ ।

तपाईं र राजाराम पौडेलले मह जोडी भनेर हरिवंश आचार्य र मदन कृष्ण श्रेष्ठको जोडी बनाइदिनुभयो तर तपाईं (किरण केसी) र राजाराम पौडेलको ‘किरा’ जोडी भने ओझेलमा पर्यो नि किन ?

हो हामीले नै हरिवंश आचार्य र मदन कृष्ण श्रेष्ठको जोडीको नामाकरण गरेका हौं । उहाँहरु सफल हुनुभयो । अझै पनि सफल हुनुहुन्छ । यसमा म गौरवान्दित पनि छु । कुरा रह्यो हाम्रो किरा जोडीको र मलाई त हामी सफल छौं भन्ने नै लाग्छ । मह जोडीपछि हाम्रो जोडी नै ड्रामामा सफल भयौं भन्ने लाग्छ । हामी पछि दीपक दिपाको जोडीसफल छ भन्ने लाग्छ । एक्लै हँसाउनेमा त धेरै आउनुभएको छ ।

मह जोडी अझै छ तर किरा जोडी त फुट्यो । फेरि शिवहरी पौडेलसँग जोडी बाध्नुभयो नि तपाईंले ?

यसको पनि कारण छ । राजाराम पारिवारिक बाध्यताले अमेरिका जानुभयो । ११ दिन ११ महिना हैन । ११ वर्षसम्म उहाँ आउनुभएन । ११ महिना भएको भए म पर्खिन सक्थें होला तर ११ वर्ष भनेको लामो समय थियो । त्यसैले हामी अलग भयौं । तर रहरले हैन त्यो वाध्यता थियो ।

शिवहरी पौडेलसँग कसरी जोडी बाँधियो तपाइँको ?

राजाराम बाहिर गएपछि म एक्लै थिएँ । शिवहरीलाई मैलै ल सँगै काम गरौं भनें । उहाँले मेरो प्रस्तावलाई ओके गर्न एक सेकेण्ड पनि मलाइ कुराउनु भएन । दाइ जस्तो मान्छेसँग जोडी बाँधेर काम गर्न पाउनु मेरो लागि भाग्य हो भन्नुभयो । हामी जोडि बनेर काम सुरु ग¥यौं ।

तुलनात्मक हिसावले दुई जनामा को अब्बल लाग्यो तपाईंलाई ?

दुवै उस्तै हो । दुबै जना आआफ्नो ठाउँमा उत्तिकै सवल र सक्षम । दर्शकलाई स्टेजमा उत्रिन बित्तिकै हँसाउन सक्ने राजाराम र दर्शकसँगै लेखनमा पनि उत्तिकै राम्रो शिवहरी । मलाई त दुवै उत्तिकै लाग्छ । दर्शकले पनि दुवैलाई उत्तिकै रुचाए जस्तो लाग्छ ।

राजाराम पौडेल फर्किएर आएपछि उहाँ एक्लै हुनुभयो नि ! 

एक्लै हुनुहुन्न । हामी सँगै छौं । जोडी फेरि उहाँसँग नबाँधेको मात्रै हो । उहाँ आएपछि शिवहरीलाई राजाराम आउनुभयो ल तपाईं छोड्दिनुस् अब उहाँसँग जोडी बाध्छु भन्न भएन । र उहाँले पनि म आएँ उसलाई छोड्देउ भन्ने कुरा भएन । तर पनि हामीले उहाँलाई हाम्रो कार्यक्रममा सँगै काम गर्ने वातावरण बनाइरहेका छौं । काठमाडौं बाहिरका कार्यक्रममा पनि उहाँलाई हामीले सँगै लगेका छौं । महको प्रहसनमा पनि हामी देशभर सँगै कार्यक्रम ग¥यौं ।

हास्य कलाकारहरु प्रायः सबै गीत गाउनुहुन्छ । क्षमता भएरै हो कि रहर मात्रै हो ?

अरुको के कारणले गीत गाउनु भयो मलाई थाहा छैन । तर मैले भने रहर भन्दा पनि धेरै साथीहरुले तपाईंको स्वर राम्रो छ गाउनुपर्छ भनेर गाएको हुँ । मैले ‘तँ त साह्रै व्रिगिस नि बद्री’, जिवन रेखा’ जस्ता धेरै व्यवसायिक चलचित्रमा गीत गाएकोले पनि रहर मात्रै होइन भन्न मिल्छ ।

०३८ सालको गाइजात्रादेखि आजसम्म आएपुग्दा केही गर्न चाहेर पनि नसके जस्तो लाग्छ ?

छैन । १ सय धन्दा धेरै चलचित्रमा काम गरिसकेँ । चोर, पुलिस, डाका, फटाहा, व्यापारी, नेता सबैको भूमीका निर्वा गरिसकें केही गर्न बाँकी छैन ।

तर, तपाईं अब एउटा चलचित्र बनाउने रहर छ भन्दै आउनु भएको छ । तर, त्यो अझै बनेन नि !

यो शुभ खबर चाँडै तपाईंहरुले सुन्न पाउनुहुनेछ ।

यसो भन्नुभएको पनि थुप्रै वर्ष वितिसक्यो त !

मैले पहिला पनि चलचित्र बनाइसकेको छु । चलचित्र बनाउन रहर गरेर मात्रै हुँदैन । यसका लागि रिसर्च गर्नुपर्छ । रिसर्चको काम भइरहेको छ । त्यसैले अब चाँडै घोषणा हुन्छ ।