पाल्पा, साउन २४

नेकपा एमालेका दयाराज बस्याल जिल्ला समन्वय समिति पाल्पाको प्रमुखमा निर्वाचित भएका छन् । उनले १३ मत ल्याएर विजयी बनेका हुन् । उनका प्रतिस्प्रर्धि नेपाली कांग्रेसका हेमप्रसाद अर्यालले ७ मत प्राप्त गरे ।  समितिको उपाध्यक्ष सहित सबै नौ सदस्यमा नेकपा एमालेका उम्मेदवार विजयी भए ।

उपप्रमुखमा मिरा मरासिनी र अन्य सदस्यहरुमा इश्वरीप्रसाद न्यौपाने, तुलबहादुर गाहा र भेषबहादुर वंशी निर्वाचित भए । उपप्रमुखमा प्रतिस्पर्धी रहेकी नेपाली कांग्रेसकी शान्ति झेडी र सदस्य उम्मेदवार लक्ष्मण हिताङ्गले पनि ७ मत प्राप्त गरे । यस्तै सदस्यहरुमा इन्द्रकुमारी गाहा चिदी, कमला थापा, खरगती राना र होमप्रसाद ठट्टराई निर्विरोध निर्वाचित भएको मुख्य निर्वाचन अधिकृत भरतमणी खनालले बताए ।  दश स्थानीय तह रहेको जिल्लाका २० जना प्रमुख र उपप्रमुखले मतदान प्रक्रिया मार्फत् समिति निर्वाचित गरेका हुन् ।

असार १४ गते सम्पन्न भएको स्थानीय तहको निर्वाचनबाट निर्वाचित सदस्य जनप्रतिनिधि जिसस निर्वाचनमा उम्मेदवार भएका हुन् । संविधानको व्यवस्था अनुसार उम्मेदवार स्वयंले भने मतदान गर्न पाएनन् ।