यातायात मन्त्रीको दाबी : अब खाल्डाखुल्डीको सास्ती भोग्नु पर्दैन

0

काठमाडौं। भौतिक योजना तथा यातायातमन्त्री वीरबहादुर बलायरले अबदेखि सडकमा खाल्डाखुल्डीको सास्ती सर्वसाधारणहरुले भोग्न नपर्नेे दाबी गरेका छन्।

सडकका खाल्डाखुल्डीरु पुर्नको लागि प्रधानमन्त्री शेरबहादुर देउवाले निर्देशन दिएपछि अहिले धमाधम काम भैरहेको उल्लेख गर्दै मन्त्री बलायरले आफू मन्त्रालयमा आउने वित्तिकै सम्बन्धित निकायलाई सो विषयमा निर्देशन दिइसकेको जनाए।

शुक्रबार रिपोर्टर्स क्लबले आयोजना गरेको कार्यक्रममा बोल्दै  मन्त्री बलायरले सडकका देखिएका खाल्डाखुल्डीको बारेमा प्रधानमन्त्रीजस्तो व्यक्तिले बोल्नु नै बिडम्बना भएको बताए। उनले भने, ‘खाल्डाखुल्डी पुर्न भनेर प्रधानमन्त्रीले बोल्नु भनेको विडम्बना हो, तर प्रधानमन्त्रीले जनताले भोगेको सास्ती र समस्या देखेर यस्तो निर्देशन दिनुभएको हो। उहाँको निर्देशन अनुसार अहिले धमाधम काम भैरहेको छ।’

उनले मेलम्ची खानेपानी आयोजनाका कारणले काठमाडौंका सडकहरुमा खाल्डाखुल्डीहरु भएका र धुलाम्य भएको उल्लेख गरे। उनले भने, ‘अब यसको लागि हामीले विकल्प सोचिसकेका छौं, सेगमेन्टवाइज अनुसार काम भैरहेको छ, अहिले नै खाल्डाखुल्डीहरु पुर्ने र यी समस्याहरु कसरी समाधान गर्ने भन्नेबारे गृहमन्त्रीसँगपनि छलफल भैरहेको छ।’

उनले आफूले दैनिक १५ घण्टा काम गर्ने भनेर सार्वजनिक प्रतिबद्धता जनाएअनुसार पछिल्ला दुई दिनमै आफूले गरेको प्रतिबद्धता अनुसार त्यो भन्दापनि बढी नै १६ घण्टासम्म काम गरिसकेको दाबी गरे। बलायरले भने, ‘अब मेरो स्पिरिटमा कर्मचारीले पनि काम गर्नुपर्छ।’

‘म त मन्त्रीको सपथग्रहण गर्न जाँदापनि सार्वजनिक यातायात चढेर गएको थिएँ, त्यसैले मलाई यस्तो विलासिताको बारेमा कुनै सोख छैन, जीवनको अधिकांश समय संघर्षमा विताएको र हत्केलामा मृत्युलाई राखेर हिँडेको मान्छे हुँ, त्यसैले मेरो पूरा ध्यान भनेको नै विकास हो, र जनतालाई कसरी सम्पन्न गर्न सकिन्छ भन्ने नै हो’, उनले भने।

मन्त्री बलायरले काठमाडौंमा देखिएका धुलो र टा«फिक जामको समस्या छिट्टै हल गर्ने दाबी गर। उनले भने, ‘अहिले काठमाडौंमा धेरै धुलोको समस्या छ, यसलाई हल गर्नको लागि हामी सम्बन्धित निकायका सबै अधिकारी बसे छलफल गरेका छौं।’