सुशीला रेग्मी
रामपुर (पाल्पा), १० मङ्सीर

हाम्रो आधुनिक कृषि फार्म रामपुर पाल्पाले करिव एक महिनाको अवधीमा मात्रै रु तीन लाख बराबरको आम्दानी गरेको छ । दशैतिहार पर्वमा बिक्रि भएको सयपत्री फूलबाट सो बराबरको आम्दानी भएको हो ।
फार्ममा यसवर्षको तिहार अर्थात् भाईटिकामा करिव रु दुई लाख ७० हजार र दशैमा रु ३० हजार बराबरको कमाई गर्न सफल भएको फार्म सञ्चालक दिलबहादुर थापाले जानकारी दिनुभयो । तिहारमा तीन दिनको अवधीमा फूलमाला बिक्रिबाट रु दुई लाख ७० हजार बराबरको आम्दानी हुदा छोटो समयमा नसोँचेको कमाई भएको थापा बताउनुहुन्छ ।

“दशैतिहार जस्ता चाडपर्व लक्षित लगाइएको फूलबाट राम्रै आम्दानी भएको छ, फार्ममा बिक्रि हुन बाँकी रहेका अझैपनि आधा फूल (करिव रु दुई लाख ५० हजार भन्दा बढीको) बोटमै छन्,” उहाँले भन्नुभयो,– “उत्पादन भएको सबै फूल समयमा नै बिक्रि भएको भए करिव रु छ लाख बराबरको यस पटक आम्दानी हुने रहेछ” ।
गतवर्ष स्थानीयबाट अत्यधिक माग आएको हुदा यसवर्षको तिहारलाई लक्षित गर्दै उत्पादन बृद्धि गरिएको हो । बाहिरबाट ठूलो मात्रामा फूलमालाको माग आएपनि स्थानीय ग्राहकलाई खपत गराउन फार्ममा फूल राख्दा यस पटक आधा फूल बोटमा नै रहेको अर्का सञ्चालक लालबहादुर थापाले बताउनुभयो ।

बाहिरबाट गुणस्तरहीन फूलमाला रामपुर बजारमा भित्रिएकाले फार्ममा उत्पादन भएका सबै फूल बिक्रिमा असर पुगेको उहाँ बताउनुहुन्छ । स्थानीय उत्पादनले बजारीकरणमा झमेला बेहोर्नु परेको व्यावसायीको गुनासो छ । रामपुरमा फूलमाला पु¥याउने प्रतिबद्धता जनाउँदै बाहिरी उत्पादनलाई रामपुर नगरपालिकाले निरुत्साहित गरिदिन सञ्चालकको अनुरोध छ । कहिलेकाँही बाहिर उत्पादित वस्तु भित्रिदा स्थानीय उत्पादनले बजारीकरणमा सास्ती खेप्नु परेको छ ।
हाम्रो आधुनिक कृषिफार्ममा मात्रै दशैतिहारको लागि लगाइएको सयपत्री फूल करिव १२ क्वीण्टल उत्पादन भएको छ । तीन वर्षअघि देखि यस कृषिफार्ममा व्यावसायीक फूलको खेती निरन्तर भइरहेको छ । यसवर्ष चौथो वर्षको रुपमा साढे चार रोपनी क्षेत्रफलमा सयपत्री फूलको खेती गरिएको छ । एक रोपनीबाट सुरु भएको व्यावसाय बृद्धि गर्दै सञ्चालकले उपभोक्तामाझ गुणस्तरिय फूलमाला पु¥याउन हाइब्रिड र नयाँ जातका फूल लगाएकाले उत्पादन लोभलाग्दो छ । ग्राहकले फार्ममा नै पुगेर आफैले खोजेजस्तो रोजेजस्तो फूलमाला खरिद गर्न पाउने सुबिधाले धेरै ग्राहकको आकर्षण छ ।
यस फार्ममा गतवर्षको तिहारमा मात्रै रु दुई लाख ५० हजार बराबरको आम्दानी भएको थियो । चारवर्ष अघि रामपुर नगरपालिकाको सहयोगमा बुटवलमा युवा उद्यमी दिलबहादुर थापाले एक हप्ते पुष्प व्यावसाय सम्बन्धी तालिम लिएर रामपुरमा व्यावसायीक उत्पादन सुरु गर्नुभएको हो ।

फूल उत्पादन, गुणस्तर निकाल्ने तरिका, बजारीकरण, नयाँ प्रजातीका उत्पादन लगायतका सम्बन्धमा ज्ञान सीप पाएपछि नयाँ ढंगबाट थापाले व्यावसायीक रुपमा खेती गर्नुभएको छ । करिव पन्ध्र मुरी धानबाली फल्ने जग्गामा फूल लगाउन थालेपछि तेब्बर बढी आयस्रोत भित्रिएको छ । फूलखेतीबाट आफूमात्र नभई पाल्पा जिल्लालाई नै चिनाउने उहाँको सपना छ ।
एक वर्षमा तीन पटकसम्म सयपत्रीको व्यावसायीक खेती गर्न सकिन्छ । यहाँ उत्पादन भएको सयपत्री फूल प्रतिकिलो रु पाँच सय, प्रतिमाला रु १५० मा धमाधम बिक्रि भइरहेको छ । गुणस्तरिय फूलमाला पाएपछि ग्राहकहरु सन्तुष्ट छन् । फूलमा बसेर फोटो, भिडियो, टिकटक बनाउने हरेक उमेर समुहको चहलपहल पनि उत्तिकै छ । रामपुर नगरपालिकाभित्र हुने विभिन्न सभा, समारोह, कार्यक्रम, विवाह, ब्रतबन्ध लगायतका कार्यमा राम्रै खपत हुने गरेको छ । नेपालगञ्ज, बुटवल, तानसेन, पोखरा लगायत विभिन्न ठाउँबाट माग धेरै आएपनि स्थानीयलाई व्यवसायीले पहिलो प्राथमिकता दिएका छन् ।
सयपत्री फूललाई व्यावसायीकरण र संरक्षण गर्दै रामपुर नगरपालिकाले प्रोत्साहन स्वरुप विभिन्न अनुदानका कार्यक्रम सहयोग गरेको छ । यहाँ जुनसुकै समयमा पनि सयपत्री फूल उपलब्ध हुने गरेको छ । विभिन्न कार्यक्रम, सभा, समारोह, विवाह लगायतका कार्यमा प्रयोग हुने खादालाई निरुत्साहित गरी फूलमालाको प्रयोग बढाउने अभियानमा सञ्चालक लागेका छन् । खादाकै मुल्यमा गुणस्तरिय माला उपलब्ध गराउने सञ्चालकको भनाई छ । गत साउन अन्तिममा लगाइएको विरुवाले माघ महिनासम्म उत्पादन दिइरहने हुदा फूलबाट राम्रो कमाई गर्न सक्ने व्यवसायीले बताएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय