पश्चिम नेपालका शैक्षिक केन्द्रविन्दूका रूपमा रहेका स्व. अयाेध्याप्रसाद प्रधानकाे शालिक अनावरण गरिएकाे छ । पद्म पब्लिक नमूना माध्यमिक विद्यालयका संस्थापक प्रधानकाे शालिक विद्यालयमा अनावरण गरिएकाे हाे ।
वि.सं. २००४ सालमा तत्कालिन राणा श्री ३ महाराज पद्म शमसेरबाट स्वीकृतिमा पपनमाविकाे स्थापना गरिएकाे हाे । शालिक अनावरण गर्दै तानसेन नगरपालिका पाल्पाका नगर प्रमुख सन्ताेषलाल श्रेष्ठले पाल्पा शैक्षिक हबकाे रूपमा रहेकाे भएता पनि नियन्त्रित पछिल्लाे जनसंख्याका कारण विद्यार्थीहरूकाे संख्यामा कमी रहेकाे बताउनुभयाे । उहाँले पाल्पामा १४ विद्यालयहरूकाे समायाेजन, एकिकरण तथा कक्षा कटाैती तथा अनुगमनकाे तिव्रतासँगै शैक्षिक विकासका लागि नगरपालिका लागि परेकाे बताउनुभयाे ।
पाल्पाका शिक्षाका पिता, शिक्षाविद्, समाजसेवी, सिद्धहस्त लेखक साहित्यकार प.प.न.मा.वि. तानसेनका संस्थापक प्रधानाध्यापक एवं सेक्रेटरी अयोध्याप्रसाद प्रधानको अर्धकदको शालिक अनावरण एवं शैक्षिक अन्तक्रिया कार्यक्रम विधालयले अमृत महोत्सव वर्ष मनाइरहेकाे अवसरमा  शालिक निर्माण गरि अनावरण गरेकाे हाे । स्व. अयोध्या प्रसाद प्रधानको सुपुत्र दीपङ्कर प्रसाद प्रधान र पुत्र बधु अन्जना श्रेष्ठ प्रधानबाट पिताजीको स्मृतिमा शालिक विधालयलाई समर्पण गरिएको हाे ।
कार्यक्रममा बाेल्दै पाल्पामा विभिन्न राजनीतिक दलका नेताहरू, शैक्षिक व्यक्तित्व तथा सराेकारवालाहरूले पाल्पा जिल्लाकाेमात्र नभइ नेपालकै नमूना माविका रूपमा रहेकाे पपनमाविलाइ व्यवस्थित गर्दै फरक किसिमकाे व्यावसायिक शिक्षाका माध्यमबाट अगाडी बढाउन सुझाएका थिए ।
कार्यक्रममा विधालयका सहयोगी जापानी नागरिक काजुमासा काकिमी (ओ.के. बाजे) लाई सम्मान गरिएकाे थियाे ।

काे हुन् संस्थापक स्व. अयाेध्या प्रसाद प्रधान

पुष्कर अथक रेग्मी
लुम्बिनी प्रदेश पाल्पा तानसेन असनटोल निवासी माता तिलोत्तमादेवी प्रधान र पिता बद्रीनारायण प्रधानका कनिष्ठ सुपुत्र अयोध्या प्रसाद प्रधानको जन्म वि.सं १९६० बैशाख १८ गते अक्षय तृतीयाका दिन भएको हो। अक्षरारम्भ घर परिवारबाटै शुरुवात गरी पटनाबाट महाकवि लक्ष्मी प्रसाद देवकोटासँगै एस.एल. सी., बिहार विश्वविद्यालयबाट सर्वोकृष्ट स्थान सहित एम.ए. स्वर्ण पदक, युनिभर्सिटी अफ मेरील्याण्ड यु.एस.ए. बाट एम.एड. उत्तीर्ण गरी नेपाल सरकारबाट महेन्द्र विद्याभूषणद्वारा विभूषित व्यक्तित्व अयोध्या प्रसाद प्रधानले जहानियाँ राणा शासनकालमै जनताका छोराछोरीलाई पनि शिक्षा दिनुपर्दछ भन्ने उद्देश्यका साथ काका मथुरा प्रसाद प्रधानलाई साथमा लिई तत्कालीन प्रधानमन्त्री पद्म शमशेरको नाम जोडी पद्म पाल्पा पब्लिक हाइस्कूल स्थापना गरी प्रथम प्रधानाध्यापक र विद्यालय सञ्चालन समितिको प्रथम सेक्रेटरी समेत हुनुभएकाले उहाँ विद्यालयको संस्थापकको रुपमा प्रतिष्ठापित रहनु भएको छ।
नेपालको शैक्षिक विकासको क्रममा पाल्पा जिल्लाले नेपालको पश्चिमी र सुदूर पश्चिम क्षेत्रमा शिक्षा एवं साहित्यको विकास र प्रचार-प्रसार गर्ने काममा सेनकालीन समयदेखिनै महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ। नेपाल एकीकरणको समय र अँग्रेजसँगको युद्धमा समेत गौरवान्वित भूमिका निर्वाह गरेको पाल्पामा भाषा पाठशाला स्थापना भएको र ठाउँ–ठाउँमा समूह एवं निजी रूपमा शिक्षक राखी पढाउने चलन थियोे। यही दौरानमा अम्बिका प्रसाद लाकौलको घर तानसेन ठाडोगल्लीमा वि.सं. १९८३ मा खोलिएको ‘पुस्तक पढ्ने दलान’ २००३ साल माघ १० गते धवल पुस्तकालयमा परिणत भै पाल्पामा शैक्षिक जागरण ल्याउनुका साथै शिक्षाको सर्वव्यापीकरण गर्नमा सघाउ पुर्यायो। यसै परिप्रेक्ष्यमा वि. सं. २००४ बैशाख १ गते हालको पद्म पब्लिक नमूना माध्यमिक विद्यालयको स्थापना भयो ।
अयोध्या प्रसाद प्रधान, मथुरा प्रसाद प्रधान, अम्बिका प्रसाद लाकौल, नरेन्द्र प्रसाद लाकौल, करूणा प्रसाद प्रधान, कविराज दशरथमान सिंह, इन्द्रलाल भारती, गौरी नारायण समेत भई कुनै पनि वेतन सुविधा नलिई स्वयंसेवक-शिक्षासेवी भइ विद्यालयको संस्थागत विकासमा योगदान पुर्याउनु भएको थियो। विद्यालयका प्रधानाध्यापक अयोध्या प्रसाद प्रधानले आफ्नो कार्यकालदेखिनै विद्यालयलाई शैक्षिक, सामाजिक, साँगीतिक एवं साँस्कृतिक संग्राहलयको रूपमा विकास गर्दै लगेकोले यही विद्यालय अहिले शिशु कक्षादेखि कक्षा १२ सम्म शिक्षण हुने पद्म पब्लिक नमूना माध्यमिक विद्यालयको रूपमा रहेको छ। यस विद्यालयले रजत महोत्सव र स्वर्ण महोत्सव मनाइसकेको छ भने यस वर्ष अमृत वर्ष महोत्सव मनाइरहेको छ।
नारीलाई पनि शिक्षा दिनुपर्दछ, नारीलाई शिक्षा दिनु घर परिवार समाजलाई शिक्षा दिनु हो भन्ने विचारले उत्प्रेरित भएर उहाँले आफ्नी बहिनी बेगमती प्रधान र मथुरा प्रसाद प्रधानकी छोरी रत्नलक्ष्मी प्रधानलाई साथमा लिएर करीब ४० जना छोरी–चेलीहरू जम्मा गरी पाठशाला सञ्चालन गरी पढाउन लाग्नुभयो। त्यतिबेला उहाँले मौन व्रत धारण गरेकाले पढाउँदा इतिहास भूगोल नैतिक शिक्षा धर्म दर्शनका विषयवस्तु स्लेटमा लेखिदिनुहुन्थ्यो र मथुरा प्रसाद प्रधानले व्याख्या गरिदिनुहुन्थ्यो। यो पाठशालाले अन्ततः संस्थागत स्वरूप लिन पुग्यो र वि.सं.२००७ साल भाद्र १६ गते शुक्रबारका दिन कन्या स्कूलको रूपमा हालको मोहन कन्या माध्यमिक विद्यालय स्थापना भयो।
पद्म पब्लिक नमूना मा. वि., मोहन कन्या मा.वि. र त्रिभुवन डिग्री कलेज (त्रिभुवन बहुमुखी क्याम्पस) पाल्पाको संस्थागत विकास गर्नुका साथै भाषा, कला, संस्कृति, साहित्य, संगीत, भजन कीर्तन र प्रवचनको संरक्षण सम्वर्ध्दन र प्रवर्ध्दनका लागि जागरण ल्याउँदै सबैलाई सहयोग र समर्थन सहित सामाजिकीकरण गर्नुमा उहाँको अमूल्य योगदान रहेको छ। अयोध्या प्रसाद प्रधान, मथुरा प्रसाद प्रधान, अम्बिका प्रसाद लाकौल, इन्द्र लाल भारती लगायतका व्यक्तित्वहरूले ल्याएको शैक्षिक जागरणस्वरूप पाल्पामा क्रमिक रूपमा विद्यालय र शिक्षालयहरू खुल्दै गए। उहाँको योगदानलाई स्मरण गर्दै त्रिभुवन बहुमुखी क्याम्पस पाल्पा परिसरभित्र अयोध्या प्रसाद प्रधान स्मृति भवन निर्माण गरिएको छ भने पद्म पब्लिक नमूना माध्यमिक विद्यालय परिसरको प्राङ्गणमा विद्यालयका संस्थापक प्रधानको अर्धकदको शालिक स्थापना गरिएको छ। उहाँको जीवन संघर्षै–संघर्षमा बित्यो। प्रिय पत्नी हेमलक्ष्मी प्रधान निसन्तान भएर स्वर्गीय भएपछि उहाँ पारिवारिक जीवनबाट विरक्तिएर योगी समेत बनी पाल्पाको रिमिघा लेकमा बसी तपस्या गरी सन्त जीवन व्यतीत गर्नुका साथै धार्मिक र नैतिक प्रवचनहरू दिदै हिंड्नु भयो। समय बलवान् छ, यसर्थ समयसँगै सम्झौता गरी आफूभन्दा ३० वर्ष कान्छी दुर्गा देवीलाई दोस्रो पत्नीको रूपमा विवाह गरी पुन: गृहस्थ जीवनमा पदार्पण गर्नुभयो। उहाँबाट सुपुत्रद्वय भूषण र दीपड्ढर प्रसाद प्रधान एवं सुपुत्रीद्वय राज्यश्री र शान्ता प्रधानको जन्म भयो।
विद्यालयको भवनमा त्रिभुवन डिग्री कलेज (त्रिभुवन बहुमुखी क्याम्पस) पाल्पाको स्थापना गरी संस्थापक÷क्याम्पस प्रमुख, (वि.सं २०११–२०१४) नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानका विशेषज्ञ, केन्द्रीय तथ्याड्ढ विभागका निर्देशक, नेपाल सरकारको आर्थिक सल्लाहकार समेत रहनु भएका उहाँले भारत, अमेरिका, स्वीजरल्याण्ड, जर्मनी, फ्रान्स, अष्ट्रेलिया लगायतका मुलुकमा नेपालको आर्थिक, प्रशासनिक, शैक्षिक, क्षेत्रको प्रतिनिधित्व गर्दै कुशल कार्यसम्पादन गर्नु भयो।
नेपाली, नेवारी, मगर, संस्कृत, पाली, हिन्दी, फ्रेन्च, अंग्रेजी लगायत भाषाका ज्ञाता प्रधान Encyclopedia of Nepal, Buddha’s System of Meditation, पाल्पा एक परिचय, नेपालको धार्मिक सहिष्णुता, विज्ञान दर्शन, मगर शब्द संग्रह, मगर कुराको शिक्षा अनुवाद साहित्य लगायतका कृतिहरुका लेखक समेत हुनुहुन्थ्यो। पाल्पाका शिक्षाका पिता, शिक्षाविद्, समाजसेवी, दक्ष प्रशासक, अनुसन्धानविद्, सिद्धहस्त लेखक एवं साहित्यकारको रुपमा प्रतिष्ठापित व्यक्तित्व अयोध्या प्रसाद प्रधानको ९५ वर्षको उमेरमा Parkinson’s Disease (नशारोग) बाट ग्रसित भई वि.सं. २०५५ जेष्ठ ११ गतेका दिन काठमाडौं पुतली सडकस्थित आफ्नै निवासमा परलोकगमन भयो।
जीवनको उत्तरार्धसम्म पनि आफै टाइपराइटर चलाएर केही न केही लेखिरहने अयोध्या प्रसाद प्रधानको व्यक्तित्व, कृतित्व र योगदानको चर्चा परिचर्चा हुनु आवश्यक छ। पाल्पा साहित्य समाजद्वारा प्रकाशित अमृताञ्जली र तानसेन गुठीद्वारा प्रकाशित चिनारीभित्र उहाँको जीवनी संगृहित छ। उहाँका लेख, अनुसन्धान र कृतिहरूको खोजीनीति भई पुस्तकका रूपमा सार्वजनिक हुनु जरूरी छ।
उहाँको योगदानलाई चिरस्थायी बनाइ अग्रज अमर पाल्पालीको रूपमा जीवन्त राखिरहनु हामी सबैको कर्तव्य हुन आउँछ।
(लेखक पाल्पा साहित्य समाजका अध्यक्ष, स्रष्टा समीक्षक र प.प.न.मा.वि.का अध्यक्ष समेत हुन्।)

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय