पाल्पा, जिल्ला प्रहरी कार्यालय पाल्पाले रामपुर नगरपालिकामा नागरिक सुनुवाई कार्यक्रम शुक्रबार सम्पन्न गरेको छ । नागरिक र प्रहरी विचको सम्बन्ध थप सुमधुर बनाउनुका साथै कार्यालय बाट प्रवाह भएका सेवा थप प्रभावकारी बनाउन र जिल्लाको अवस्थाको बारेमा जानकारी दिन सुनुवाई गरेको हो ।

जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रमुख प्रहरी उपरीक्षक हेरम्ब शर्माको अध्यक्षतामा भएको कार्यक्रम रामपुर नगरपालिकाका नगर प्रमुख रमण बहादुर थापाको प्रमुख आतिथ्यतामा भएको हो । प्रमुख अतिथी थापाले शहर उन्मुख रामपुरमा बसाई सरी आउने संख्या बढ्दो रहेकाले सुरक्षा चुनौती बढ्दै गएको बताउनुभयो । शान्ति सुरक्षा कायम राख्नका लागि प्रहरी संगै आम नागरिकको उत्तिकै महत्व पूर्ण भुमिका रहने बताउनुभयो । उहाँले इलाका प्रहरी कार्यालयमा डिएसपि सहितको प्रहरी जनशक्ति थप गर्नका लागि पहल भैरहेको बताउनुभयो ।

कार्यक्रममा रामपुर नगरपालिकाका उपप्रमुख बालकुमारी थापाले न्यायिक समितिले प्रहरी संग सहकार्य गरेर कार्यसम्पादन गर्दै आएको बताउनुभयो । जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रमुख प्रहरी उपरीक्षक हेरम्ब शर्माले सिमित जनशक्तिका विच पनि शान्ति सुरक्षा प्रदानका लागि प्रहरी लागि परेको बताउनुभयो । पछिल्लो समय दुर्घटना न्युनिकरणमा उल्लेख्य सुधार भएको बताउँदै पाल्पामा विशेष गरी आत्महत्या र डुबेर ज्यान जानेको संख्या बढिरहेकाले यस तर्फ सरोककारवालाहरुले सोच्नु पर्ने समय आएको बताउनुभयो । शर्माले शान्ति सुरक्षा कायम गर्नुमा नागरिकको महत्वपूर्ण साथ र सहयोगको अवश्यक पर्ने बताउँदै जिल्लामा हाल ५ सय ८५ नागरिक बराबर १ जना प्रहरीले सेवा दिनु पर्ने अवस्था रहेको बताउनुभयो ।

प्रहरी नायव उपरीक्षक सुगन्ध श्रेष्ठले प्रहरीले सम्पादन गरेका कार्य, जिल्लाको सवारी दुर्घटना, अपराधिक घटना, फौजदारी मुद्दा लगाएतका विषयमा तथ्याङ्क सहित प्रस्तुत गर्नु भएको थियो । अन्तरक्रिया कार्यक्रममा सहभागीहरुले प्रहरी दरबन्दी थप गर्नु पर्ने, रातको समयमा गस्ती बढाउनु पर्ने, सुचना प्रदान गर्ने स्रोतलाई गोप्य राख्नु पर्ने, सवारी जाँचमा थप कडाईगर्नु पर्ने लगाएतका सुझाव दिएका थिए । कार्यक्रममा रामपुर नगरपालिकाको सभाहलमा भएको कार्यक्रममा नगरपालिकाका जनप्रतिनिधि, राजनैतिक दल, यातायात व्यवसायी, सञ्चारकर्मी, महिला समूह, संघ संस्थाका प्रतिनिधि लगाएत सरोकारवालाहरुको सहभागीता रहेको थियो । कार्यक्रमको सञ्चालन ईलाका प्रहरी कार्यालय रामपुरका प्रहरी निरीक्षक शालिकराम खनालले गर्नु भएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय