सुशीला रेग्मी
रामपुर (पाल्पा), १६ साउन
रामपुर साना शहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाले पत्रकार भेटघाट कार्यक्रम गरेको छ । संस्थाका अध्यक्ष तथा लुम्बिनी प्रदेश सभा सदस्य राजुप्रसाद श्रेष्ठको अध्यक्षतामा कार्यक्रम गरी खानेपानी महशुल दर घटाइएको सम्बन्धमा जानकारी दिइएको छ । संस्थाका उपाध्यक्ष हजिलदिन मियाँले स्वागत गर्नुहुदै सेवा क्षेत्रभित्र २४ सैँ घण्टा सुलभ मुल्यमा पानी वितरण गर्ने, सफा, स्वच्छ र शुद्ध खानेपानी घर–घरमा वितरण गर्ने लक्ष्य अनुसार समितिले काम गरिरहेको बताउनुभएको छ ।
अध्यक्ष श्रेष्ठले आठ युनिटसम्म न्यूनतम दर १७५ रुपैयाँलाई नै यथावत राखिएकोछ भने नौ देखि २० युनिटसम्म पानी उपभोग गर्ने उपभोक्ताले (न्यूनतम रकम १७५ रुपैयाँ सहित) प्रतियुनिट ४० महशुल दर रहेकोमा घटाएर ३० रुपैयाँ, २१ युनिटभन्दा माथि (न्यूनतम रकम १७५ रुपैयाँसहित) प्रतियुनिट ६३ महशुल दर रहेकोमा घटाएर ५३ रुपैयाँ महशुल मूल्य कायम गरिएको बताउनुभएको छ । सो मुल्य यस आर्थिक वर्षको साउन १ गते देखि लागु हुने गरी घटाइएको हो ।

उपभोक्ताको सुबिधालाई मध्यनजर गर्दै महशुल दर घटाएको अध्यक्ष श्रेष्ठले बताउनुभयो । उहाँले गतवर्ष न्युन वर्गका परिवारलाई मध्यनजर गरी महशुल परिवर्तन गरिएकोमा यसवर्ष मध्यम वर्गीय परिवार र धेरै पानी उपभोग गर्ने परिवारलाई लक्षित गरी महशुल परिवर्तन गरिएको जानकारी दिनुभयो । तीन हजार दुई सय धारा जडान गरी घर–घरमा सफा, स्वच्छ र शुद्ध खानेपानी वितरण गर्ने लक्ष्य रहेपनि हाल तीन हजार ९२३ धारा जडानका लागि उपभोक्ताले शुल्क बुझाएका छन् । अहिले तीन हजार ४९३ धारामा नियमित पानी वितरण भइरहेको छ भने ४३० धारा जडान गर्न बाँकी रहेको छ । नयाँ धारा जडानका लागि २२ हजार शुल्क लाग्नेछ । सात हजार धारा जडान गर्न पुग्ने खानेपानी तयार गर्ने, त्यसको लागि आवश्यक वजेट व्यवस्थापन गर्ने अध्यक्ष श्रेष्ठले पत्रकार समक्ष जानकारी गराउनुभयो । सात हजार धारा जडान गरी पानी वितरणका लागि करिव ५० करोड सम्मको रकम लाग्ने अनुमान रहेकाले त्यसको व्यवस्थापन गरेर काम गर्ने पत्रकारमाझ बताइएको छ । खानेपानीको सुबिधा घर–घरमा पु¥याउने उद्धेश्यले विसं २०६७ मा रामपुर साना शहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्था स्थापना भएर योजनाको काम अगाडी बढाइएको हो ।

न्यून वर्गलाई शुन्य महशुलमा पानी वितरण गर्ने योजना रहेतापनि सरकारले विद्युत् महशुल मात्रै छुट दिएमा घटाउन सकिने पत्रकार समक्ष जानकारी गराइएको छ । थप धारा जडानका लागि नयाँ योजनामा कार्यक्रम समावेश गरी छुट दिने, नयाँ योजनाका लागि आउँदो भदौ देखि डिपिआर तयार गर्ने कार्यक्रम छ ।
संस्थाका कोषाध्यक्ष विष्णुमाया ढकालले धन्यवाद दिनुहुदै खानेपानीको सेवा क्षेत्रभित्र विपन्न, समस्यामा परेका परिवारलाई सम्बन्धित वडा कार्यालय तथा रामपुर नगरपालिकाको समन्वयमा धारा जडान गरी पानी वितरण गरिएको बताउनुभएको छ । कार्यक्रमको संचालन संस्थाका सचिव शालिकराम सिग्देलले गर्नुभएको हो । यस आर्थिक वर्षका लागि रामपुर नगरपालिकाले विनियोजन गरेको रु १५ लाख रकमबाट खानेपानी ट्याङ्की निर्माण गरिने जनाइएको छ । वडा नं ४ र ५, वडा नं ६ र ७ मा गरी दुईवटा स्किमबाट पानी वितरण भइरहेको छ । खानेपानी वितरणका लागि १८० किलोमिटर भन्दा बढी पाइप जडान, पाँच किलोमिटर फलामजडित पाइप बिस्तार गरिएको छ ।

वडा नं ४, ५, ६ र ७ को तल्लो क्षेत्रमा आयोजनामार्फत पानीको सुविधा पुगेको छ । यस आयोजनाबाट हाल दैनिक बिहान–साँझ तीन÷तीन घण्टा खानेपानी वितरण भइरहेको छ । पानी उपभोग गरेका आधारमा मिटर जाँच गरेर शुल्क लिने गरिएको छ । नगरपालिकाको वडा नं ५ बेझाड बजारमाथि रहेको राम्चे सामुदायिक वनमा साढे चार लाख लिटरका दुई वटा ट्याङ्कीबाट पानी वितरण भइरहेको छ भने नगरको वडा नं ७ का दुई स्थान डुम्रीगाउँमा एकवटा दुई लाख लिटर र कार्कीडाँडामा एकवटा डेढ लाख लिटरका ट्याङ्की राखेर पानी वितरण गरिएको छ । बेझाड बजार क्षेत्रमा रहेका तीनवटै बोरिङबाट पानी चालु भइरहेको छ । डुम्रीगाउँ क्षेत्रमा रहेका तीन बोरिङमध्ये दुईवटाबाट पानी चालु अवस्थामा छ भने एकवटा रिजर्भमा छ । बोरिङबाट पानी तानेर उपचार विधि गरेर फिल्टर गरिएको पानी घरघरमा पु¥याइएको छ ।

नेपाल सरकार नगर विकास कोषको सहयोगमा विसं २०६७ मा सुरु भएको आयोजना २०७३ भदौमा परीक्षणका रुपमा सफल भएपछि त्यस समयदेखि नै खानेपानी वितरण गर्न थालिएको हो । नगर विकास कोषको रु २४ करोड ५० लाखको बोलपत्र आह्वान भएकामा त्यसमा ५० प्रतिशत नेपाल सरकारको अनुदान, नगर विकास कोषको ४५ प्रतिशत ऋण सहयोग र पाँच प्रतिशत उपभोक्ताको सहयोगमा आयोजना सञ्चालन भएको हो । आयोजनाअन्तर्गत छवटा ब्लकसहित १५ समिति रहेको छ भने १३ जना कर्मचारी कार्यरत छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय