मानवअधिकारका प्राथमिक क्षेत्र निर्धारण सम्वन्धी अन्तरसंवाद सम्पन्न

0

यज्ञमूर्ति तिमिल्सिना

पाल्पा, जेठ ३१

गते राष्ट्रिय मानवअधिकार आयोग उपक्षेत्रीय कार्यालय बुटवलको आयोजना र अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)पाल्पाको स्थानीय समन्वयमा पाल्पामा मानवअधिकारका प्राथमिक क्षेत्र निर्धारण सम्वन्धी अन्तरसंवाद कार्यक्रम तानसेनमा सम्पन्न भएको छ ।

कार्यक्रमका प्रमुख अतिथि प्रमुख जिल्ला अधिकारी बावुराम गौतमले पाल्पाको मानवअधिकारको अवस्था राम्रो रहेको र सरकारी निकायसमेत  मानवअधिकार प्रवर्धनका लागि प्रतिबद्ध रहेको बताए । स्थानीय बिकास अधिकारी रामप्रसाद पाण्डेले मानवअधिकार प्रवर्धनका लागि सरकारी तथा गैरसरकारी निकायको बरावर भूमिका हुने बताए । प्रहरी उपरीक्षक हरिराज वाग्लेले प्रहरी प्रशासन मानवअधिकार संरक्षणका लागि दृढ रहेको बताए । सो अवसरमा मानवअधिकार आयोग उपक्षेत्रीय कार्यालय बुटवलका मानवअधिकार अधिकृत चन्द्रकान्त चापागाईले आयोगले मानवअधिकारका प्राथमिकता निर्धारण गर्न लागेको र प्राथमिकतामा परेका बिषयमाथि थप अध्ययन अनुसन्धान गरिने भएकोले कार्यक्रमको आयोजना गरिएको बताए ।

जिल्ला शिक्षा कार्यालय पाल्पाका शाखा अधिकृत महेन्द्र सुवेदीले पाल्पाका बिकट ग्रामीण क्षेत्रमा अझैपनि बालबिवाह कायमै रहेको र यसको समस्या समाधानका लागि बिद्यालय स्तरमा बालअधिकार शिक्षा सुरु गरिएको बताए । कार्यक्रमका सहभागीहरु पाल्पा जिल्लामा रहेको लैंगिक हिंसा, बालअधिकार, शिक्षाको अधिकार, खाद्यको अधिकार र जातिय बिभेद लगायतका बिषयमा आ–आफ्ना धारणा राखेका थिए ।कार्यक्रममा सरकारी तथा गैरसरकारी निकायका प्रमुख प्रतिनिधि, पत्रकार, नागरिक समाजका प्रतिनिधि, मानवअधिकारकर्मीहरुको सहभागिता रहेको थियो । कार्यक्रम आयोगकी मानवअधिकार अधिकृत कल्पना नेपालको संचानल र चन्द्रकान्त चापागाईको अध्यक्षतामा सम्पन्न भएको थियो ।