पाल्पा, जेठ ३०

तानसेनको खानेपानी समस्या समाधान गर्न कालिगण्डकीको पानी जिल्ला सदरमुका तानसेन नगरमा ल्याईने भएको छ । लामो समयदेखी खानेपानीको समस्या समाधान गर्न कालीगण्डकी खानेपानी परियोजना सुरु भएको हो ।

कालीगण्डकी खानेपानी योजनाको लागी २५ करोड १९ लाख ९६ हजार ५ सय ८१ रुपैयाँमा रमणजेभी मृतसंञ्जीवनी निर्माण कम्पनीले ठेक्का अगाडी बढाएको हो । तानसेन खानेपानी उपभोक्ता समितिले तानसेनमा पत्रकार सम्मेलन गरेर आगामी दुई वर्ष भित्र तानसेनको खानेपानी समस्या समाधान हुने बताएको छ । समितिका अध्यक्ष चकोरमान शाक्यले २०७६ सालभित्र जिल्लाका सदरमुकामबासीले पानीको समस्या भोग्नु नपर्ने बताए । उनी भन्छन्, ‘काम सुरु भएको छ । दुई वर्षमा समस्या समाधान हुन्छ । कालीगण्डकी खानेपानी योजनाबाट १८ घण्टा पानी पम्पिङ गर्दा २२ लाख देखी २५ लाख लिटरसम्म तानसेनमा पानी आपूर्ती हुने छ ।’ कालीगण्डकी सहित तानसेनका अन्य खानेपानी स्टेशनबाट आगामी दुई वर्षमा दैनिक ४० लाख लिटर पानी आपूर्ती हुने र मागपूर्ती हुने अध्यक्ष शाक्यले बताए ।

तानसेन नगरपालीका–१३ बौघागुम्हाको रानीमहलदेखी नजिकबाट ६ वटा पम्पिङ स्टेशनबाट तानसेनका जनतालाई खानेपानी वितरण गरिने समितिले जनाएको छ । कालीगण्डकी खानेपानी लिफ्टिङको लागी २ करोड ३५ लाख रुपैयाँमा विद्युत लाईन निर्माणको लागी समेत टेण्डर भईसकेको समितीका सचिव केशव पौडेलले बताए । कालीगण्डकीको खानेपानी योजना समयमै सम्पन्न गर्नको लागी सम्भावित उपभोक्ताहरुबाट ४० लाख रुपैया म्याचिङको रुपमा जम्मा गरिसकेको कोषाध्यक्ष भीमसेन काकीले बताए । कालीगण्डकीबाट खानेपानी योजना सम्पन्न गर्न निर्माण कम्पनीसँग खानेपानी तथा सरसफाई डिभिजन कार्यालय र तानसेन खानेपानी उपभोक्ता समिती बिच १८ महिनामा काम सक्ने गरी सम्झौता भएको उपभोक्ता समितीका अध्यक्ष शाक्यले बताए । कम्पनीले आउदो भदौ महिनादेखी द्रुत गतिमा नियमित रुपमा निर्माणको काम गर्ने जनाएको छ । हाल निर्माण कम्पनीले  योजनामा प्रयोग गर्ने सरसमानाहरुको विवरण पेश गर्ने काम गरेको छ । कम्पनीले पेश गरेको सरसमानको गुणस्तर चेकजाचँ गर्ने काम भईरहेको खानेपानी तथा सरसफाई डिभिजनका ईन्जिनियर उत्सव पोखरेलले बताए ।समितिले अहिलेसम्म झण्डै तीन हजार घरमा खानेपानीको धारा वितरण गरेको छ । २ हजार पाँच सय नयाँ धाराको लागी आवेदन परेको तर धारा वितरण हुन सकेको छैन । तानसेनमा दैनिक २५ लाख लिटर खानेपानीको अभाव छ ।

तानसेन उपभोक्ता समितिले अहिले सात लाख लिटरमात्र आपूर्ति गरिरहेको छ । तानसेनमा भुल्के, सिस्ने, होलाङ्दी र तीनधारा पम्पिङ्ग प्रणाली आयोजना मार्फत् खानेपानीको आपूर्ती गरिँदै आएको छ । समितिले मासिक ५० हजार रुपैयाँ मूल्य समायोजन पछि पनि घाटा भईरहेको जनाएको छ । मूल्य समायोजन हुनभन्दा पहिले मासिक ७ लाख रुपैयाँ घाटा व्यहोरर्दै आएको थियो । पानीको समस्याले गर्दा यहाँका धारामा एक हप्तादेखी १५दिनमा एकपटकमात्र पानी आउने गरेको छ ।