मुक्तिप्रसाद न्यौपाने
पाल्पा, जेठ २६
जिल्ला प्रहरी कार्यालयले ३५ एम्पुल लागु औषध सहित एक युवालाई पक्राउ गरेको छ । नियमित सवारी चेक जाँचका क्रममा बेलकोटगढी नगरपालिका–७, महादेवफाँटका २४ वर्षीय सुरजप्रसाद नेपाललाई प्रहरीले पक्राउ गरेको हो ।

प्रहरीले सुरजको साथबाट ३५ एम्पुल सेट लागु औषध बराबद गरेको हो । जसमा नुफिन, फेनरगन र डाईजीपाम ३५÷३५ थान र ६ थान सिरिञ्ज रहेको छ । प्रहरी उपरिक्षक हरिराज वाग्लेले सुनौलीबाट पाल्पा ल्याएर साथीहरुलाई भेटघाट गरि काठमाण्डौं लैजान लाग्दा उनलाई पक्राउ गरिएको बताए । उनी भन्छन्, ‘केही युवाहरुले नियमित जस्तै पोखरा, बाग्लुङ्ग, खैरेनी, दमौली तर्फ भारतबाट लागु औषध ओसारपोसार गरिरहेको भन्ने सूचना आयो । सवारी चेकजाँचका क्रममा प्रभाषमा उनलाई पक्राउ गरिएको हो । उनले लागु औषधले युवाशक्तिलाई निष्क्रिय बनाईरहेकोले यसको रोकराथ एवं नियन्त्रणका लागि सर्वपक्षिय चासो आवश्यक रहेको बताए ।
पक्राउ परेका सुरज पब्लिक युथ क्याम्पसमा ट्राभल एण्ड टुरिजममा स्नातक गरेका विद्यार्थी हुन् । उनले आफुले साथीहरुसँग पैसा लिएर सुनौलीबाट १० हजार रुपैयाँमा लागु औषध खरीद गरि ल्याएको बताएका प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालयले यस आर्थिक वर्षमा १३ जनालाई लागु औषध दूव्र्यसनी तथा ओसारपोसारमा पक्राउ गरेको जनाएको छ । जसमा पाँच जनालाई सुधार गृहमा पठाईएको प्रहरी उपरीक्षक वाग्लेले बताए । प्रहरीले पक्राउ परेका युवालाई लागुऔषध ऐन अनुसार कानूनी कारवाही हुने जनाएको छ ।