सुशीला रेग्मी
रामपुर (पाल्पा), ११ असारः

पाल्पाको रामपुर नगरपालिकाले आगामी आर्थिक वर्षको लागि ६९ करोड ७२ लाख ५० हजार रुपैयाँ बराबरको वजेट ल्याएको छ । आईतवार भएको १३ औँ नगर सभामा उपप्रमुख बालकुमारी थापाले आर्थिक वर्ष २०८०÷०८१ को बजेट प्रस्तुत गर्नुभएको छ ।

आयतर्फ संघीय समानिकरण अनुदान ११ करोड ७७ लाख, संघीय राजस्व बाँडफाँडबाट १० करोड ४२ लाख २२ हजार, संघीय समपुरक पूँजीगत ६० लाख, संघीय विशेष अनुदान ८० लाख, संघीय ससर्त (चालु) ३२ करोड ८४ लाख, संघीय ससर्त पूंजीगत) एक करोड ७६ लाख, प्रदेश समानिकरण अनुदान ८५ लाख ९६ हजार, प्रदेश राजश्व बाँडफाँड ८७ लाख १६ हजार ३४८, प्रदेश समपुरक एक करोड ५० लाख, प्रदेश ससर्त एक करोड १६ लाख ५० हजार र आन्तरिक स्रोत तर्फ पाँच करोड ५० लाख, अल्या एक करोड ६३ लाख ६५ हजार ६५२ गरी ६९ करोड ७२ लाख ५० अनुमान गरिएको छ ।
नगरपालिकाले आगामी आर्थिक वर्षको लागि प्रत्येक वडालाई ४२ लाख विनियोजन गरेको छ । त्यस्तै आर्थिक विकासतर्फ एक करोड ९५ लाख ५० हजार, सामाजिक विकासतर्फ ३४ करोड २३ लाख, पूर्वाधार विकासतर्फ नौ करोड ७८ लाख, सुशासन तथा अन्तरसम्बन्धित क्षेत्रका लागि दुई करोड ९३ लाख, कार्यालय सञ्चालन तथा प्रशासनिकतर्फ १६ करोड विनियोजन गरेको उपप्रमुख थापाले जानकारी दिनुभयो । उपप्रमुख थापाले नगर सभामा प्रस्तुत गर्नु भएको विनियोजन विधेयक, आर्थिक विधेयक पारित भएको छ ।
नगर सभाका अध्यक्ष तथा रामपुर नगरपालिकाका प्रमुख रमणबहादुर थापाले नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको छ । पर्यटन प्रवद्र्धनका लागि होमस्टे सञ्चालन, पूर्वाधार विकास र पहुँच विस्तार गर्ने, पर्यटन गन्तव्यहरुलाई एकितृत गरी पर्यटन प्याकेज निर्माण गरी पर्यटक आकर्षित गर्ने, कालीगण्डकी किनार संगै रामपुर ४ को बौद्धविहार देखि रेवती पोखरासम्म पदमार्ग निर्माण गर्ने, राम कथा संग सम्बन्धीत क्षेत्रलाई जोडी रामायण सर्किटको रुपमा विकास गर्ने, जिपलाईनको सम्भाव्यता अध्ययन गर्ने, रामपुरको पहिचानका लागि उपयुक्त स्थानमा राम र सीताको मूर्ति निर्माण गर्ने कार्यक्रम रहेको नगर प्रमुख थापाले बताउनुभयो ।
अर्थतन्त्रको प्रमुख आधारको रुपमा रहेको कृषि क्षेत्रको प्रवद्र्धनको लागि खाद्यान्नको विउविजनमा ५० प्रतिशत अनुदान उपलब्ध गराउने, तरकारी, फलफुल तथा पुष्प खेती गर्ने कृषकहरुलाई विउ,विरुवा तथा सामाग्री अनुदान प्रदान गर्ने, भण्डारणको व्यवस्था गर्ने, अण्डा, दुध, मासु र तरकारीमा आत्मनिर्भर बनाउँदै लगिने, विपन्न परिवारका सदस्यलाई कृषि तथा पशुपंक्षी पालनमा पूर्ण अनुदान उपलब्ध गराईने, कृषि तथा पशुपालनमा उत्पादन र क्षेत्रफलको आधारमा अनुदानको व्यवस्था गर्ने, आँप , लिचि लगायतका स्थानीय मुख्य कृषि उत्पादन प्रयोग गरी जुस वा कुनै उत्पादन गर्ने उद्योगलाई प्रोत्सहान अघि बढाईने भएको छ ।
शिक्षाको विकासको लागि कार्यसम्पादनको आधारमा शिक्षक कर्मचारीलाई पुरस्कृत गरिने, झोला रहित शुक्रबार प्रतिभाको पहिचान भन्ने नारा सहित अतिरिक्त क्रियाकलपालाई व्यवस्थित गरिने, सामुदायिक विद्यालयको सुन्दरता बढाउन विद्यार्थीहरुको सहभागिता हुने गरी सुन्दर विद्यालय परियोजना सञ्चालन गर्ने, विद्यालयका बालविकास सहायक र कर्मचारीको तलब थप गर्ने थापाले बताउनुभयो । नगरपालिकाले २०८३ मंसिर ५ भित्र बालमैत्री नगर घोषणा गर्ने नीति लिएको छ । नगरपालिकाले राष्ट्रिय तथा जिल्लास्तरीय प्रतियोगिताका लागि छनौट भएका खेलाडीहरुको दुर्घटना विमा गर्ने र प्रोत्साहनका लागि उत्कृष्ट खेलाडीलाई पुरस्कृत गर्ने नीति लिएको छ ।
नगरको हरेक सडकको दायाँबायाँ वृक्षरोपण गरी हरियाली सडकको रुपमा विकास गर्न प्राथमिकता दिने, एकघर एक विरुवा, एक वडा एक हरियाली पार्क कार्यक्रम सञ्चालन गर्ने, कालीगण्डकी करिडोर अन्तर्गतका सडकमा ट्राफिक प्रहरी पोष्ट, पैदलमार्ग, जेब्रा क्रस, यात्रु प्रतिक्षालय र सार्वजनिक शौचालय निर्माणको योजना बनाई रिफ्रेसमेन्ट केन्द्रका रुपमा विकास गर्ने, चक्रपथ निर्माण कार्य अघि बढाउने, पूर्वाधार एम्बुलेन्स स्थापना गरी सेवा प्रवाह गर्ने, पर्यटकिय नगरपालिका भित्रका सबै वडामा एउटै प्रणलीको विद्युत उपलब्ध गराउने नीति लिएको छ । नगरलाई यसै वर्षभित्र खरको छाना रहित बनाउनको खरको छानो भएका घरहरुलाई जस्तापातामा रुपान्तरण गरिने उल्लेख गर्नुभयो । पिउनेपानीको लागि ग्रेभेटी फ्लोको योजनालाई प्राथमिकता दिने र सम्भव नभएका स्थानमा लिफ्टीङ्गको माध्यमबाट योजना सञ्चालन गरिने नीति लिएको छ । नगरपालिकाले घरनक्सालाई विद्युतिय स्वीकृतितर्फ लैजान तथा वडाबाटै राजश्व तथा मालपोत कर संकलनको व्यवस्था मिलाउने नीति लिएको छ ।
नगरपालिकाले आठ जना वा सो भन्दा बढी रोजगार दिने गरी उद्योग व्यावसाय सञ्चालन गर्ने उद्योगीलाई ३० लाखसम्मको व्याज अनुदान दिने, महिला तथा युवाहरुको आर्थिक समृद्धि संगै गरिबी निवारणका लागि मेयर उपमेयर उद्यम विकास कार्यक्रम सञ्चालनलाई प्राथमिकता दिईएको छ । नगरका सबै स्वास्थ्य संस्थालाई क्रमश पूर्वाधार सम्पन्न बनाउने, बालमैत्री पालिका बनाउन स्वास्थ्यका सूचक पुरा गर्दै लगिने, नवनिर्मित आयुर्वेद अस्पतालमा प्रयोगशाला तथा फार्मेसी सेवा सहित चिकित्सकिय सेवा प्रदान गरिने उल्लेख छ । रामपुर नगरपालिकाका प्रमुख रमणबहादुर थापाको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख प्रशासकिय अधिकृत लेखनाथ न्यौपानेले स्वागत, कार्यक्रमको सञ्चालन सूचना अधिकारी रामहरी पाण्डेयले गर्नु भएको हो ।
पत्रकार, खेलाडी, उत्कृष्ट विद्यालय, कर्मचारी, निवर्तमान जनप्रतिनिधि सम्मानित
पाल्पाको रामपुर नगरपालिकाको १३ औँ नगर सभाका अवसरमा पत्रकार, खेलाडी, उत्कृष्ट विद्यालय, कर्मचारी, निवर्तमान जनप्रतिनिधिलाई सम्मान गरिएको छ । नगरपालिकाको विकास र समृद्धिका लागि सञ्चार तथा पत्रकारिताको माध्यमबाट पु¥याउनु भएको योगदानको कदर गर्दै पत्रकार सुशीला रेग्मी सम्मानित हुनुभएको छ । पत्रकार रेग्मीलाई नगद रु पाँच हजार सहित दोसल्ला ओढाएर सम्मान पत्रले सम्मान गरिएको हो । नगर सभाको अवसरमा नगर प्रमुख रमणबहादुर थापा, उपप्रमुख बालकुमारी थापा, प्रमुख प्रशासकीय अधिकृत लेखनाथ न्यौपानेले सम्मान गर्नुभयो । पत्रकार रेग्मी एक दशक देखि पाल्पाको रामपुरमा रहेर पत्रकारिता क्षेत्रमा क्रियाशिल हुनुहुन्छ । उहाँले हाल राष्ट्रिय समाचार समिति (रासस), सामुदायिक रेडियो रामपुर, सेरोफेरो न्युज डटकममा आबद्ध रहेर काम गर्नुभएको छ । रेग्मीसहित नगरपालिकाभित्रका उत्कृष्ट शैक्षिक संस्था, खेलाडी, कर्मचारी, निवर्तमान जनप्रतिनिधिलाई सम्मान गरिएको छ ।
नगरपालिकामा कार्यरत नगर प्रहरी ताराबहादुर सेन, जिल्लास्तरिय वक्तृत्वकला प्रतियोगितामा प्रथम हुन सफल रामतुलसी माविका छात्रा सुरक्षा घिमिरे, उत्कृष्ट मावि विद्यालयतर्फ रामतुलसी नमुना मावि, आधारभुत विद्यालयतर्फ रामपुर आधारभुत विद्यालय, प्रावितर्फ ज्ञानमञ्जरी प्राथमिक विद्यालयलाई सम्मान गरिएको छ । यस्तै ब्याडमिन्टन विद्यामा रामपुर ६ का मुस्कान कुमाल, क्रिकेट विद्यामा रामपुर ७ बस्ने सुनिल क्षेत्री, पुरुष फुटवल विद्यामा रामपुर ७ बस्ने सन्दिप मल्ल, पुरुष भलिवल विद्यामा रामपुर ४ बस्ने सन्दिप थापा, महिला भलिवलमा रामपुर ६ बस्ने अस्मिता थापा पुरस्कृत हुनुभएको छ । जनही नगद रु पाँच हजार, दोसल्ला ओढाएर सम्मान पत्रले सम्मान गरिएको हो ।
रामपुर नगरपालिकाभित्रका निवर्तमान नगर उपप्रमुख विष्णुदेवी घिमिरे आचार्यसहित वडाध्यक्षहरुलाई सम्मान गरिएको छ । नगरपालिकाको विकास निर्माणको क्षेत्रमा विभिन्न क्षेत्रमा रहेर योगदान गर्ने व्यक्तिलाई नगर सभामा सम्मान गर्ने कार्यक्रम अनुसार सम्मान गरिएको नगर प्रमुख रमणबहादुर थापा बताउनुहुन्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय