Tuesday , September 22 2020

जनै पूर्णीमा मनाइँदै (फाेटाे फिचर)

पाल्पा, साउन १९

‘येन बद्धो बलिराजा दानवन्धो महाबल तेन त्वां प्रतिबध्नामि रक्षेमा चलमाचल’

श्रावण शुक्ल पूर्णिमाका दिन मनाइने जनैपूर्णीमा अर्थात् रक्षाबन्धन जनै लगाएर र हातमा डोरो बाँधी मनाइँदैछ । आजकै दिन बिहानैदेखि हिन्दू धर्मावलम्बीले नदी, ताल, तलाउ, पोखरीमा गई स्नान गरि शास्त्रीय स्लोक वाचन सहित पुरोहितहरुले रक्षासूत्रको रुपमा रहेको रक्षाबन्धन अथवा डोरो बाँध्ने प्रचलन रहेको छ ।

जनैपूर्णीमाको दिन सरकारले केही वर्षअघिसम्म सार्वजनिक बिदा दिर्ने गरिएकामा हाल कटौतीमा परेको छ । तर जिल्लाका अधिकांश स्थानीय तहले भने सार्वजनिक स्थानीय विदा दिएका छन् । सत्ययुगमा दानवद्वारा लखेटिएका देवगणलाई गुरु वृहस्पतिले रक्षा विधान तयार गरी बलशाली दानवराज बली बाँधिए, त्यसैले म तिमीलाई बाँध्छु, यसले तिमी सुरक्षित बन तथा विचलित नहोऊ भनी डोरो बाँधेर जोगाएका थिए भन्ने पौराणिक मान्यताका आधारमा चलेको रक्षाबन्धनको परम्परा आज पनि प्रचलित छ।

सोही कारण रक्षाबन्धन गर्ने बेलामा गुरु पुरोहितहरूले ‘येन बद्धो बलिराजा दानवेन्द्रो महाबल तेनी त्वां प्रतिबध्नामि रक्षेमा चलमाचल’ भनी रक्षासूत्र, रक्षाबन्धन अथवा डोरो बाँध्ने वैदिक परम्परा रहेको नेपाल पञ्चांग निर्णायक समितिका अध्यक्ष एवं धर्मशास्त्रविद् प्रा डा रामचन्द्र गौतमले जानकारी दिए।

मानव रक्षाका लागि जप, तप र पूजा गरी मन्त्रिएको रक्षाबन्धन अर्थात् डोरो वैदिक मन्त्रोच्चारण गर्दै ब्राह्मण पुरोहितहरूले यजमानको नाडीमा बाँधिदिने गरिन्छ।

जनै फेर्ने दिन

आजकै दिन तागाधारीले आफ्नो जनै (यज्ञोपवित) फेर्छन्। यसका लागि हिजैदेखि कपालमुण्डन गरी एक छाक मात्र खाएर चोखोनितो गरी बसिन्छ। यसरी व्रत बसेका तागाधारीले आज बिहानै पोखरी, ताल, तलाउ, नदी र कुण्डमा गई गाईको गोबर, खरानी, दत्तिउन र सप्तमातृका लगाएर स्नान गर्छन्। यसलाई श्रावणी स्नान पनि भनिन्छ।

स्नानपछि जौ, तिल र कुशद्वारा ऋषिलाई तर्पण गरी वैदिक रुद्राभिषेक पद्धतिबाट मन्त्रिएको नयाँ जनै फेरिन्छ। कश्यप, अत्रि, भारद्वाज, विश्वामित्र, गौतम,जमदग्नि, वशिष्ठ र अगस्त्य गरी आठ ऋषिलाई पूजा एवं तर्पण गर्ने भएकाले आजको दिनलाई ऋषितर्पणी पनि भन्ने गरिएको छ।
यस्तो छ जनैको महत्व

हिन्दु दर्शनअनुसार जनैलाई ब्रह्मासूत्र अर्थात ज्ञानको धागो पनि भनिन्छ। जनैका दुई शिखामध्ये एउटामा रहेका तीन डोरालाई ब्रह्मा, विष्णु र महेश्वर तथा अर्को शिखाको डोरालाई कर्म, उपासना र ज्ञानका तीन योग मानिन्छ। जनै शब्दको अर्थ जनाउनु अथवा जानकारी दिनु हुन जान्छ। अत: जनै धारण गर्ने व्यक्तिका लागि अन्य व्यक्तिलाई जनैले धेरै कुराको जानकारी दिइरहेको हुन्छ।

धार्मिक शास्त्रअनुसार मनमस्तिष्क र चित्त शुद्धिका लागि व्रतबन्ध गरिन्छ। शरीरमा रहेका सूक्ष्म विन्दुहरूमा स्पर्श गर्दै नाभीसम्म जाने कपासको सूत्र धारण गर्न हवन, यज्ञ, मन्त्रपाठ आदि गरी ब्राह्मणले जनै लगाइदिन्छन्। यो डोरीले शरीरमा रहेका रोमकुप, मुटुको बाहिरी विन्दु, फोक्सोको बाहिरी विन्दु र नाभीको बाहिरी भागलाई स्पर्श गर्छ।

Check Also

५ दिन भारी वर्षाकाे सम्भावना, सतर्कता अपनाउन आग्रह

काठमाण्डाै, असाेज ५ सोमबार (आज) बाट देशमा विभिन्न प्रदशेमा चार-पाँच दिन ठूलो वर्षाका साथै हावाहुरीको …

Leave a Reply

error: Content is protected !!