सुशीला रेग्मी
रामपुर (पाल्पा), ९ असार
विश्वमा नै शालिग्राम शिला पाइने एकमात्र नदी कालीगण्डकी नदीलाई पर्यटन विकाससंग जोड्न खोजिएको छ । शालग्रामी नदी, कालीनदी र काली आदि जस्ता नामबाट पनि चिनिने यस कालीगण्डकी नदीलाई आयआर्जनसंग जोड्दै यहाँको धार्मिक तथा पर्यटन विकासका गतिविधिका योजना स्थानीय सरकारले अगाडी सारेको छ ।
कालीगण्डकी नदीको ऐतिहासिकता, धार्मिक, सम्भ्यता र महत्वलाई जोगाउँदै पर्यटन विकास गर्ने उद्धेश्यले पाल्पाको रामपुर नगरपालिकाले नदीको किनारमा पैदलमार्ग बनाउने योजना ल्याएको छ । नगरपालिकाभित्र पर्ने नदी किनारै किनार पैदलमार्ग बनाउने काम सुरु गरिदैछ । पैदलमार्गका लागि संघीय समपुरक कोषबाट रु ६० लाख, रामपुर नगरपालिकाबाट रु ६० लाख गरी रु एक करोड २० लाख बराबरको वजेट विनियोजन गरिसकेको र अब जतिसक्दो काम सुरु गर्ने तयारी गरेको नगर प्रमुख रमणबहादुर थापा बताउनुहुन्छ ।
“कालीगण्डकी नदी हाम्रो सभ्यता हो, नदीलाई संरक्षण गरी यसलाई पर्यटनसंग जोडियो भने आयआर्जन पनि हुनेछ” उहाँले भन्नुभयो,–“अब छिट्टै नै काम सुरु गरेर अबको एकवर्षभित्र पैदलमार्गको काम सम्पन्न गर्ने योजना छ” ।
नगर प्रमुख थापाका अनुसार रामपुर नगरपालिकाको वडा नं १ को स्याउली बजारदेखि १० को सिद्धबाबा मन्दिरसम्म नदीको किनारै किनार पैदलमार्ग बन्नेछ । पैदलमार्गका अलवा साइकल मार्ग, ठाउँ–ठाउँमा कोशेलीघर, आवासगृह, शौचालय, नदी किनारमा स्नान गर्ने स्थल तयार गरिने नगर प्रमुख थापाले बताउनुभएको छ ।
राम्दीदेखि देवघाटसम्म कालीगण्डकी नदी किनारमा पैदलमार्ग बनाउने योजना रहेको छ । त्यसअन्तर्गत रामपुर नगरपालिकाले सो योजनाको आफ्नो पालिकाभित्र सुरु गर्दैछ । रामपुर नगरभित्र मात्र नभई यसलाई राम्दी देखि देवघाट क्षेत्रभित्र जोडिएका सबै पालिकाले आ–आफ्नो क्षेत्रमा पैदलमार्गको निर्माणको काम गरियो भने पर्यटन विकासले धेरै फड्को मार्नेछ ।
नेपालमा कालीगण्डकी नदीको सभ्यता निकै नै पुरानो मानिन्छ । पाल्पाको राम्दीदेखि देवघाटसम्म एक ठाउँमा कालीगण्डकी उत्तर दिशातर्फ बगेकोले यसलाई उत्तरवाहिनी नदी पनि भनिन्छ । लुम्बिनी र गण्डकी यी दुई प्रदेश बीचको साझा नदी भएकाले नदीको तटमा पैदलमार्ग निर्माण गरेपछि नदी वारीपारीको पर्यटन विकास, स्थानीयको दैनिक जीवनयापनमा धेरै फाइदा पुग्ने रामपुर नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत लेखनाथ न्यौपाने बताउनुहुन्छ ।
“पैदलमार्ग निर्माणले कालीगण्डकीको संरक्षण हुने, त्यसबाट स्थानीयको आयआर्जनको माध्यम बन्नेछ, कालीनदीको प्राकृतिक पर्यावरणलाई जोगाएर पर्यटन विकासका कामले यससंग जोडिएका स्थानीय तहको पर्यटन विकासमा टेवा पुग्नेछ” उहाँले भन्नुभयो ।
नेपालका ठूला पर्यटकीय शहर पोखरा र लुम्बिनी आएका बाह्य पर्यटक पैदलमार्ग बनेपछि रामपुर भित्रिनेछन् । साथै नेपालमा पारिवारिक जलयात्राका लागि उत्तम मानिएको कालीगण्डकी नदीमा व्यावसायिक जलयात्रा नियमित सुचारु गर्ने नगर सरकारको योजना छ । जलयात्रा सञ्चालनका लागि नगरपालिकाले यसअघि नै परिक्षण समेत गरिसकेको छ । परिक्षणका क्रममा विज्ञले यस नदीलाई व्यावसायीक रुपमा जलयात्रा सञ्चालन गर्न सुझाव समेत दिएका छन् ।
कालीगण्डकी नदी ऐतिहासिक धार्मिक तथा पौराणिक एवम् पर्यटकीय सभ्यता बोकेको नदी हो । कालीगण्डकी स्वयम् राष्ट्रिय गौरवको विषय हो । दामोदर कुण्ड देखी बहेकी कालीगण्डकी नदीको महत्व र पर्यटन विकासका विषयमा बेला बेलामा बहस हुने गरेका छन् । मुक्तिनाथ देखि देवघाटसम्म थुप्रै धार्मिक स्थल जोडिएका छन् । कालीगण्डकी नदीलाई संरक्षण र संबद्र्धन गरिएन भने संस्कार, संस्कृती र यहाँको पर्यावरणमा ठूलो असर पर्नेछ । त्यसकारण नदीको पर्यावरणीय अस्तित्व नखलबलिने गरी पर्यटन विकाससंग जोडेर विकास गरिनु आवश्यक छ ।
कालीगण्डकी मानिसको जीवनसंग जोडिएकाले पनि नदीलाइ विभिन्न पौराणिक ग्रन्थहरुमा कालीगण्डकीको महिमाका बारेमा गरिएका वर्णन, यसको तटीय इलाका तथा प्रसवण क्षेत्रमा रहेका विभिन्न तीर्थस्थल, ऋृषि महर्षिका आश्रमस्थल, धाम, घाट र मानव वस्तीका कारण यसको सभ्यता वैदिक कालसँग जोडिएको मान्न सकिन्छ । कालीगण्डकीको पौराणिक महत्व र यहाँ पाइने शालिग्राम शिलाबाट आकर्षित भई विभिन्न ऋृषिगणहरुले यसको प्रसवण क्षेत्रमा आई योग, तपस्या र साधना गरेका दृष्टान्तहरु भेटिन्छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय