पाल्पा, जेठ २४
जिल्लाका दश उत्कृष्ठ महिला उद्यमीहरुलाई तीन महिने (सय दिन) को कार्ययोजना दिईएको छ । दायित्व र इनोभेषन एक्सनले उद्यमशीलताको प्रवद्र्धन गर्न उद्यमी स्वयंले बनाएको कार्ययोजना दिएको हो ।
मंगलबार तानसेनमा महिला उद्यमीहरुले आफुले गर्दै आएको उद्यमको एक सय दिनको कार्ययोजना प्रस्तुत गरेका हुन् । कार्ययोजना प्रस्तुत गर्दै उद्यमीहरुले आफुले गरेका कामको समीक्षा समेत गरे । दायित्वकी कार्यक्रम संयोजक मिनु महर्जनले जिल्लाका महिलाहरुको दैनिकीका परिवर्तन गर्न उद्यमशीलता आवश्यक रहेको बताईन् । उनी भन्छिन्, ‘कार्ययोजना विनाका कामको परिणाम नदेखिने भएकाले कार्ययोजनाका साथ काम गर्न उत्प्रेरणा गर्न कार्यक्रम आयोजना गरिएको हो । उनीहरुलाई यसका लागि दायित्वले दश हजारका दरले रकम समेत सहयोग गरेको छ ।’
रिब्दीकोट गाउँपालिका खस्यौलीकी लक्ष्मी ज्ञवालीले आफुले तीन रोपनी जग्गामा लगाई आएको अर्गानिक तरकारी पाँच रोपनीमा गर्न लागेको योजना सुनाईन् । उनले वार्षिक ३ देखी पाँच लाखसम्म तरकारीबाट आम्दानी हुने बताईन् । तिनाउँ गाउँपालिकाकी गोमा भण्डारीले दुई सय ५० बोट लगाउँदै आएको कागती तीन सय ४० बोटमा लगाउने तयारीमा आफु रहेको बताईन् । तानसेन नगरपालिका ४ मा ढाकाको व्यवसाय गर्दै आएकी पोविसरा रजालीले आफुले १३ जना महिलालाई प्रत्यक्ष रोजगारी प्रदान गरेको सुनाईन् । जिल्लाका अन्य उत्कृष्ठ महिलाहरुले आफुहरुले उद्यमशीलता मार्फत् विभिन्न कार्यक्रम गर्दै आईरहेको तर सरकारी निकायबाट सहयोग नपाएको गुनासो गरे ।
कार्यक्रममा पर्यटन व्यवसायी प्रदीप उदयले जिल्लामा पर्यटन व्यवसायको प्रशस्त सम्भावना रहेको तर व्यवसायी प्रवद्र्धन गर्न नसकिएको बताए । पाल्पा उद्योग वाणिज्य संघका वाणिज्य उपाध्यक्ष शैलेन्द्र भट्टराईले कृषि, पशुपालन, कुटिर उद्योग लगायतका व्यवसायले महिलालाई आत्मनिर्भर बनाउने बताए । जिल्लाका दुई सय ५२ उद्यमीहरुबाट उत्कृष्ठ दश महिलाहरुको छनौट गरि उद्यमलाई व्यवसायीकरण गर्न सहयोग गरिरहेको दायित्वले जनाएको छ ।